भद्रगोलले मलाई चिनायो


स्याङ्जा, चिन्नेवासमा जन्मिएका सागर लम्साल ‘बले’ नेपाल
टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला भद्रगोलका एक मुख्य
कलाकार हुन् । शंकरदेवमा बीबीएस अध्ययनरत रहँदा एकदिन सागरले
पुतलीसडकमा मोडलिङ एजेन्सीको कार्यालय देखे । अचानक उनलाई
मोडलिङ सिक्ने हुटहुटी चल्यो । मोडलिङको ज्ञान लिने क्रममै उनी
अभिनयको कक्षा लिन नाट्यकर्मी वीरेन्द्र हमालकहाँ पुगेका थिए ।
रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्साललाई निर्देशक आदित्य
विक्रम लम्सालले चलचित्र ‘लोफर’ का निम्ति अवसर दिए । लोफरमा ‘बले’
कै चरित्रमा गरेको उत्कृष्ट अभिनय देखेपश्चात् उनलाई कुमार कट्टेल जिग्रि
र अर्जुन घिमिरे पाँडेले भद्रगोलका निम्ति प्रस्ताव राखे । दयाहाङ राई,
आर्यन सिग्देल आदिद्वारा अभिनीत लोफरमा सबैभन्दा बढी प्रशंसा
सागरले नै बटुलेका थिए । त्यसपछि उनले चलचित्र लज्जामा पनि काम गरे ।
चलचित्रका प्रस्ताव पनि थुप्रै आए तर चित्त नबुझेर काम नगरेको सागरले
बताए । करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका सागर
कुनै समय अध्ययनकै निम्ति क्यानाडा जाने तयारीमा थिए तर
भद्रगोलको ‘बले’ चरित्र लोकप्रिय भएपछि उनले त्यो अवसर छोडिदिए ।
हाल हरि निरौला ‘कक्रोच’ सँग जोडी बनाएर स्टेज प्रहसनका निम्ती देश
विदेशका कार्यक्रमहरूमा सहभागी भैरहेका सागर विज्ञापन, सर्ट मुभी
तथा मोडलिङमा पनि सक्रिय छन् ।
हास्यकलाकारका रूपमा आफूलाई कत्तिको सफल मान्नुहुन्छ ?
‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ, आज नबाँचिने भैयो’
जस्ता सुस्त गतिमा बलेले बोल्ने संवाद धेरै दर्शकले रुचाउनुभएको छ ।
जिग्री बोरो र साङ्लो बोरोको टिममा बले थपिनेबित्तिकै रौनक बढ्छ
भन्ने प्रतिक्रिया पाएको छु । यद्यपि म अहिले संघर्षकै क्रममा छु, सफल
भैसकेको छैन । मैले अझै धेरै मेहनत गर्नु छ । मेरो सिर्जनात्मक क्षमता दर्शकले
रुचाइदिनुभयो भने एक दिन अवश्य सफल हुनेछु ।
ठूलो पर्दाबाट सानो पर्दामा आउनुभयो, अब फेरि चलचित्रमा काम गर्ने
योजना छ कि ?
म चलचित्रबाटै अभिनय क्षेत्रमा प्रवेश गरेको कलाकार हुँ, त्यसैले
चलचित्रमा निरन्तर काम गर्ने मन छ । अहिले एउटा चलचित्रको स्क्रिप्ट
अध्ययन गरिरहेको छु, सम्भवत: त्यो चरित्रमा अभिनय गर्छु तर चलचित्रमा
काम गरे पनि टेलिभिजन भने छोड्दिनँ । मलाई लोकप्रिय बनाउन
भद्रगोलले ठूलो भूमिका खेलेको छ ।
भद्रगोलको ‘बले’ को चरित्रलाई अझ सशक्त बनाउन केही सोच
बनाउनुभएको छ ?
बलेको चरित्रलाई दर्शकहरूले रुचाउनुभएको छ । अब मैले बलेले सुस्त
क्यारेक्टरमा मात्र होइन, एक्टिभ क्यारेक्टरमा पनि उत्तिकै ससक्त
अभिनय गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्नु छ । त्यो भूमिका यथावत्
राख्दै अबका अन्य प्रोजेक्टमा नयाँ क्यारेक्टरमा आफूलाई प्रस्तुत गर्ने
योजना छ । अहिले नै पनि मसँग लोकप्रिय हुने फरक क्यारेक्टरको कन्सेप्ट छ
। दर्शकले त्यो क्यारेक्टरमा मलाई चाँडै देख्न पाउनुहुनेछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects