आफ्नै दिदीबहिनी तथा दाजुभाइ नभएको स्थितिमा भाइटीकाको दिन के गर्नुहुन्छ ?


आफ्नै दिदी-बहिनी नहुने थुप्रै नेपाली दाजुभाइमध्ये म पनि एक हुँ। अरू
बेला त त्यस्तै हो तर तिहारको भाइटीकाको दिन उनीहरू नभएको पीडा
खड्किन्छ। धन्य छ मेरी फूपू दिदीलाई। मैले वाल्यावस्थादेखि नै उहाँसँग
भाइटीका लगाएँ। पछिल्ला केही वर्षयताचाहिँ म तिनै फुपू दिदीकी
छोरी भुश्री प्रधानसँग भाइटिका लगाइरहेको छु।
योगेश्वर अमात्य, गायक
तिहार मलाई सबैभन्दा मनपर्ने चाड हो तर दुःखको कुरा भाइटीकाको
दिन मैले टीका लगाइदिने आफ्नै दाजुभाइ छैनन्। म हरेक वर्ष आफ्नी सानी
आमाको छोरालाई टीका लगाइदिएर भाइटीका सेलिब्रेट गर्छु।
सानीआमाको छोरालाई भाइटीका लगाइदिँदा म आफ्नै दाजुभाइलाई
टीका लगाइदिएको महसुस गर्छु।
आस्था राउत, गायिका
म शेर्पा समुदायमा जन्मिए पनि सानैदेखि दसैं तथा तिहार जस्ता पर्व
हर्षोउल्लासका साथ मनाउँछु। तिहारको भाइटीका मलाई विशेष दिन झैं
लाग्छ। आफ्नै दिदीबहिनी नभए पनि म भाइटिकाको दिन खिन्न हुन्न।
मैले भाइटीका लगाउने बहिनी बनाएकी छु। म ललितपुरकी सविना
महर्जनसँग विगत १७ वर्षदेखि भाइटीका लगाइरहेको छु। उनीसँग
भाइटीका लगाउन पाउँदा म आफ्नै दिदीबहिनी नभएको पीडा पनि
बिर्सन्छु।
तेन्जिङ शेर्पा, नायक/गायक
तिहार खुसियाली र झिलिमिलीको पर्व हो भन्दा-भन्दै पनि यो
पर्वमा आफ्ना दिदीबहिनी नहुँदा कता-कता खल्लो महसुस हुँदो रहेछ।
हामी चार जना दाजुभाइ छौं तर दिदीबहिनी एक जना पनि छैनन्।
आमाले भन्नु भएअनुसार मेरा दुईजना दिदी हुनुहुन्थ्यो रे, तर उहाँहरू सानैमा
भगवानको प्यारो हुनुभयो। तिहारका बेला म उहाहरूँलाई सम्झन्छु। म
पहिले-पहिले फुपू दिदीसँग भाइटीका लगाउँथे। पछिल्ला केही वर्षदेखि
भने कान्छो बुवाकी छोरी (बहिनी) सँग टीका लगाउँदै आएको छु।
नरेश भट्टराई, टेलिभिजन/रेडियोकर्मी
आफ्ना दिदी-बहिनी नहुनुको पीडा भाइटीकाको दिन मात्र हुन्छ
जस्तो लाग्छ। म परिवारको एक्लो सन्तान हुँ। विगत लामो समयदेखि म
आफ्नी ठूली आमाकी छोरी डाक्टर इन्दिरा राईसँग भाइटीका
लगाइरहेको छु। बिडम्बना इन्दिरा दिदी पनि अमेरिका गएपछि यही
वर्षदेखि मेरो भाइटीका खल्लो हुने भएको छ। भाइटीकाको दिन के गरेर
बिताउने भन्ने कुराले मलाई एक प्रकारको तनाब नै दिइरहेको छ।
धीरज राई, गायक
बुवा-आमाका जम्मा दुई सन्तान हामी दाजूभाइ मात्र हौं। आफ्नै दिदी-
बहिनी नहुँदा भाइटीका खल्लो होला भन्ने लाग्थ्यो तर धन्य छ हाम्री
ठूली आमाका दुई छोरीलाई जोसँग हामी बाल्यकालदेखि नै भाइटीका
लगाइरहेका छौं। मिनु बज्राचार्य र अनिता राउतसँग हामी भाइटीकाको
दिन खुसियालीपूर्वक भाइटीका लगाएर रमाइलो गर्छौं।
सत्यराज/स्वरुपराज आचार्य, गायक
चारैतिर झिलिमिली बत्ति, देउसी र भैलो अनि निधारमा टीकाको
लर्को। दिदीबहिनीको हातले सजिएको सप्तरङी टिका नै तिहार को
प्रमुख पक्ष मानिन्छ भने भाइटिकाको सन्दर्भमा दिदी र बहिनी नहुँदा
पनि तिहारमा कहिल्लै निधार खाली राख्नु परेको छैन। तिहारमा आफ्नै
गाउँघरमा भएका दिदीबहिनीहरूको हातबाट टिका लगाउने गरेको छु।
आफ्नै दिदीबहिनी नहुँदा पनि दिदीबहिनी बनाएर लगाइएको
भाइटीकामा म यथेस्ट खुसी छु।
राजु दंगाल, गायक/आईटी स्पेशलिस्ट
दाजुभाइ नहुँदा तिहार केही खल्लो भए पनि भाइटीकाको दिन म
आफ्ना मामाका छोराहरू ईश्वर र इशान तथा सानीआमाको छोरा
दर्शनलाई टीका लगाइ दिएर उनीहरूसँग रमाइलो गर्छु।
इशाा गौतम, नायिका
नेवारी संस्कृतिमा एकपटक भाइ वा दाइ मानेर पूजा गरेपछि त्यसलाई
निरन्तरता दिनुपर्छ। त्यसैले मेरा दाजुभाइ नभए पनि रगतको नाताभन्दा
मनको नाता ठूलो मानेर तीन जनालाई दाइ मानेकी छु, तर टीका
लगाइदिएकी छैन। तीमध्ये दुईजना दाइ विदेशमा हुनुहुन्छ, एक जना यतै
हुनुहुन्छ। यसपटक भाइटीकाको दिन म उहाँकै घरमा जान्छु र समय बिताउँछु।
अशिष्मा नकर्मी, नायिका
आमाबुवाका सन्तानका रूपमा हामी तीन जना दाजुभाइ मात्र छौं, तर
हामीलाई कहिल्यै पनि आफ्ना दिदीबहिनी नभएको अनुभव भएन। मेरी
सानीमाका छोरीहरूका कारण मैले कहिल्यै दिदी-बहिनी नभएको
अनुभूति गरेको छैन। भाइटीकाका दिन हामी उनीहरूसँग टीका लगाउँछौं र
रमाइलो गर्दै दिन बिताउँछौ।
गौरव पहारी, नायक
आफू परियो एक्लो सन्तान, दिदी-बहिनी वा दाजुभाइ छैनन्।
भाइटीकाको दिन प्रायः साथीभाइहरूसँग समय बिताउँछु। यसपटक भने
हङ्कङ जाने भएको छु। तिहार नै उतै मनाउँछु।
अनुराग कुँवर, कलाकार/व्यवसायी
मलगायत मेरा दुई जना भाइले दिदीबहिनी नभएको कुरामा खासै ध्यान
दिएका छैनौं। दसैं होस् वा तिहार, हामी परिवारका सदस्यहरूका साथ
खानपिन एवं रमाइलो गर्दै पर्व मनाउँछौ। सानोमा फुपुका छोरीहरूले
भाइटीका लगाइदिन्थे। त्यसले निरन्तरता नपाएपछि अहिले भने कसैसँग
टीका लगाएका छैनौं। त्यो दिन घरमै गेम खेलेर खानपिन गरेर बस्छौं।
अभिनव कसजू, बेव डिजाइनर, साइबरसंसार डटकम
मेरा दिदीबहिनी छैनन्, तर तिहारमा मेरो निधारमा सप्तरंगी टीका
कोरिदिने दिदी छिन्। म आफ्नो बुवाकी भाञ्जीकी छोरी र मेरी
फुपुकी छोरीसँग टीका लगाउँछु। त्यसैले भाइटीकामा बोरचाहिँ हुँदैन।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects