किन असुरक्षित छन् रेफ्री ?


मोरङको लक्ष्मीमार्गमा ७ असोजमा भएको राष्ट्रिय लिगको खेलपछि रेफ्री सुदीश पाण्डेले
पिटाइ खाए । खेल मोरङविरुद्ध थ्रीस्टारको थियो । त्यसमा गरिएको निर्णयलाई लिएर रेफ्री
पाण्डे, लाइन्सम्यान माधव केसी तथा विक्रम चौधरीमाथि आक्रमण एवं दुव्र्यवहार भएको थियो
जसमा संलग्न भएको आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले कडा
कारबाहीको निर्णय गर्दै मोरङका तीन खेलाडीसहित ६ जनालाई निलम्बन गर्यो ।
उक्त खेलमा मोरङले सुरुआती अग्रता लिएको थियो । त्यसपछि सन्तोष साहुखलले ह्याट्रिक गर्दै
थ्रीस्टारको पक्षमा ४–१ को गोल अन्तरले खेल फर्काए । थ्री स्टारले खेलको अन्त्यतिर पाएको
पेनाल्टीलाई लिएर विवाद सिर्जना भएको थियो र त्यही वहानामा दर्शकहरू रेफ्री पाण्डेमाथि
खनिए । यसमा संलग्न रहेको भन्दै अनुशासन समितिले मोरङका खेलाडीहरू टेकबहादुर लिम्बू, सुरेन्द्र
थापा र सुनिल खड्कालाई तत्काल लागू हुने गरी १८ महिनाका लागि निलम्बन गर्यो । प्रशिक्षक
पारस चौधरी, टिम म्यानेजर चुमन बस्नेत एक वर्ष तथा सहायक प्रशिक्षक मनीष तिमिल्सिना दुई
वर्षको निलम्बनमा परे । मोरङलाई ५० हजार रुपैयाँ जरिवाना पनि गरियो । नेपाली फुुटबलमा यो
अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाही हो ।
खेलाडी तथा अफिसियललाई कारबाही त तोकियो तर यो नै विवादको समाधान भने होइन । दुई
खेलअघिसम्म मोरङको घरेलु मैदान विराटनगर थियो । त्यहाँ दर्शकको उपस्थिति थोरै भयो भनेर
लक्ष्मीमार्गलाई घरेलु मैदान बनाइयो । त्यसमा एन्फाले पनि स्वीकृति दियो । दर्शक मैदानमा
प्रवेश गरेर रेफ्रीसम्म पुग्दा उनीहरूलाई रोक्न सक्ने अवस्था हुन सक्दैन भने त्यहाँ एन्फाले किन
स्वीकृति दियो ? यो राजमार्ग क्षेत्रको गाउँमा पहिले पनि स्थानीय प्रतियोगिता हुँदा झगडा
भएका थुप्रै उदाहरण छन् । ती घटनाको किन ख्याल गरिएन ? यो प्रश्न अहिले पनि अनुत्तरित नै छ ।
रेफ्री पाण्डे आफ्नो निर्णयलाई लिएर बारम्बार विवादमा आउँछन् । धेरै पिटाइ खाने र रातो
कार्ड दिनेमा उनी नै अगाडि छन् । यद्यपि उनलाई एक निर्णायकको हैसियतमा सुरक्षा दिन
सक्नुपर्छ, यसैमा चुके राष्ट्रिय लिगका आयोजकहरू । आफ्नो ज्यान नै सुरक्षित छैन भने रेफ्रीले
खेलमा कसरी राम्रो निर्णय दिन सक्छ ? तर जहाँ संभव छ, त्यहाँ रेफ्रीले पनि आफूलाई सुधार गर्नु
आवश्यक भैसकेको छ । रेफ्रीकै निर्णयका कारण खेलमा विवादको बीउ रोपिने गरेको छ, जसले
खेलको रोमाञ्चकतालाई ओझेलमा पार्दै लगेको छ ।
केही क्लबका पदाधिकारी एवं प्रशिक्षकले त रेफ्रीलाई सधैं ठूला क्लबको पक्षमा निर्णय दिने
गरेको आरोप लगाएका छन् । मोरङ फुटबल क्लबका अध्यक्ष रविन दाहालले भने, ‘एन्फा र रेफ्री सधैं
राजधानीका ठूला क्लबका पक्षमा हुन्छन् । एन्फाले आयोजना गरेका प्रतियोगितामा
मोफसलका क्लबले सहभागिता जनाउनु भनेको उनीहरूलाई शुद्धीकरण गरिदिनु मात्र हो,’ अध्यक्ष
दाहालले भने, ‘यस्तो वातावरणमा एन्फाले आयोजना गर्ने लिगमा राजधानी बाहिरका क्लबले
सहभागिता जनाउनु आत्महत्या गर्नु सरह हो ।’
थ्रीस्टारविरुद्धको खेलमा रेफ्री पाण्डेकै ‘गलत’ निर्णयले समस्या सिर्जना गरेको अध्यक्ष
दाहालले दाबी गरे । ‘मोरङका खेलाडीले थ्री–स्टारविरुद्ध सामान्य ट्याकल गरेकै आधारमा
दुईपल्ट पेनाल्टी दिइयो तर थ्री–स्टारका खेलाडीविरुद्ध मोरङका खेलाडीलाई पटक–पटक
नराम्रो फल हाने पनि वास्ता नगरेपछि म्याच सकिएलगत्तै दर्शकले उनीमाथि हातपात गरे । यसैमा
एन्फाले खेलाडी तथा अफिसियलहरू विरुद्ध पूर्वाग्रही ढंगले कारबाही गर्यो,’ दाहालले भने,
‘एन्फा र रेफ्री सधैं काठमाडौंका ठूला क्लबसँग साँठगाँठमा हुन्छन् । एन्फाले खेलको पूरा भिडियो
रेकर्ड हेर्यो भने उसलाई आफ्नो निर्णयप्रति पछुतो लाग्नेछ ।’
फुटबलमा निर्णायकको भूमिकालाई अपजस आइपर्ने जिम्मेवारी भनिन्छ । हुन पनि घरेलु फुटबलमा
रेफ्रीको सधैं आलोचना हुन्छ । त्यसैले हुन सक्छ, थ्रीस्टारका प्रशिक्षक राजेन्द्र तामाङले भने,
‘रेफ्रीले दिनुपर्ने निर्णय दिइरहेका हुँदैनन्, नदिनुपर्ने स्थितिमा दिन्छन् । जति प्रतिक्रिया दिए
पनि रेफ्रीमा परिवर्तन आएको छैन । त्यसैले म रेफ्रीको मूल्यांकन नै गर्दिनँ ।’ रेफ्रीको निर्णयले
लगातार विवाद सिर्जना गर्दा उनको भनाइ सत्यजस्तो पनि लाग्छ तर केहीले भने खेल हारेको
निराशा रेफ्रीप्रति पोख्छन् । यद्यपि उनले यो प्रतिक्रिया हारेपछि दिएको प्रतिक्रिया थिएन,
पुलिससँग २–२ को नतिजापछि तामाङले उक्त कुरा बोलेका थिए ।
‘रेफ्रीले खेलाडीलाई नियन्त्रण गरेर खेलाउनु राम्रो हुन्छ, हेपेर होइन,’ सातदोबाटोस्थित एन्फा
कम्प्लेक्समा भएको खेलपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले सुझाव दिए । दुवै
प्रशिक्षकको प्रतिक्रिया रेफ्री विकास महतको विवादास्पद निर्णयप्रति थियो, जसले खेललाई
तनावपूर्ण बनाएको थियो ।
पेनाल्टी क्षेत्रमा पुलिसका गोलकिपर रितेश थापासँगको वान भर्सेस वानको स्थितिमा
थ्रीस्टारका सब्स्टिच्युट फरवार्ड सन्तोष साहुखल लडेका थिए । त्यसमा रेफ्री महतले थ्रीस्टारको
पक्षमा पेनाल्टी दिए । यता रितेशले साहुखललाई नछोएको दाबी गरे । त्यसमा रितेशले फल गरेको
भए नियमअनुसार उनलाई रातो कार्ड र थ्रीस्टारलाई पेनाल्टी दिनुपर्ने हुन्छ । त्यसैले पुलिसको
‘प्लेयर बक्स’मा तनाव बढेको थियो । यद्यपि केही समयको तनावपछि रेफ्री महतले रितेशलाई कार्ड
दिएनन् र पेनाल्टीमा साहुखलले गोल गर्दै थ्रीस्टारलाई २–१ को अग्रता दिलाए ।
थ्रीस्टारका डिफेन्डर विष्णु सुनार र पुलिसका जुमानु राईबीच ७२ औं मिनेटमा झडप भएको थियो
र त्यसमा दुवैले पहेंलो कार्ड पाए । यसैलाई लिएर थ्रीस्टार कप्तान सागर थापाले रेफ्री महतलाई
धकेलेका थिए, तर महतले केही गरेनन् । उनले पुलिसले दोस्रो गोल गरेपछि थ्रीस्टारका विंगर विजय
गुरुङले जर्सी खोल्दा पनि ‘लज अफ दि गेम’ अनुसारको पहेंलो कार्ड दिएनन् ।
मनाङ–मस्र्याङ्दीसँग २–० ले हारेपछि लुम्बिनीका प्रशिक्षक यम गुरुङले भने, ‘सुरुको ३० मिनेटभित्रै
आफ्नै सामुन्ने फल हान्दा पनि रेफ्री विकास महतले पेनाल्टी दिएनन् । त्यसमा सही निर्णय गरेको
भए नतिजा अर्कै हुन सक्थ्यो । रेफ्रीले जहिले पनि ठूला क्लबलाई समर्थन गर्छन् ।’ यम गुरुङले
लगाएको रेफ्रीले ठूला क्लबलाई समर्थन गर्ने आरोप सही हो त ? यदि सही हो भने पनि रेफ्रीमाथि
हातपात नै गर्नुचाहिँ मूर्खता मात्र हो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects