Second Menu

ललितपुर मोबाइल एक्स्पो सुरू

ललितपुरस्थित ललितपुर मोबाइल कम्प्लेक्समा आज शुक्रवार देखि मोबाइल एक्स्पो प्रारम्भ भएको छ । मोबाइल एक्स्पोमा अत्याधुनिक मोबाइलका पारखीहरूलाई लक्षित गर्दै विभिन्न स्किम तथा सुविधा सार्वजनिक गरिएको छ । सामसुङ, हुवावे, एप्पल, विन्डोज–नोकिया, मोटोरोला, एलजी, कार्बन, पानासोनिक, डिटिसी, केनजिन्डा, कलर्स, माइक्रोम्याक्स, जियोनी आदि ब्रान्डका नवीनतम मोडल एक्स्पोमा राखिएका छन् । एक्स्पोलाई लक्षित गरेर यी ब्रान्डले आफ्ना नयाँ मोडलका मोबाइल लन्च गर्नेछन् ।

आयोजक ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार एक्स्पो अवलोकन गर्न आउने दर्शकले १ सय रुपैयाँ बराबरको ‘फ्री’ टिकेट प्राप्त गर्नेछन्, जसलाई इन्ट्री गरेर उनीहरू लक्की ड्रमा सहभागी हुन सक्छन् । लक्की ड्रमा हरेक दिन ३ जनालाई महँगो स्मार्टफोन उपहार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर उपहारमा १ लाख रुपैयाँ बराबरको पुरस्कार छ । एप्पल बेस्ड नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम आजै समुद्घाटन हुनेछ, जसले उपभोक्तालाई आकर्षित गर्न विभिन्न प्याकेज स्किम सञ्चालन गर्ने भएको छ ।

उपभोक्तालाई ‘टच एन्ड फिल’ गराएर मात्र सेट बिक्री गर्ने, विश्व बजारमा उपलब्ध सेटहरूका बारेमा इन्फरमेसन डेस्कबाट जानकारी दिने, मोबाइल फोन सेटमा भएका फिचर, एप्लिकेसन्सका बारेमा उपभोक्तालाई ज्ञान प्रदान गर्ने जस्ता काम यो एक्स्पोले गर्नेछ । कुन एप्स जीवन उपयोगी छन्, त्यसलाई कसरी उपयोग गर्न सकिन्छ जस्ता कुरा उपभोक्तालाई सिकाइने बस्नेतले बताए । यसपटकको मेलामा मोबाइल फोन प्रयोगकर्ताहरूले बोक्दै आएका मोबाइल सेटको ‘भ्यालुएसन’ गर्ने स्पेसल टास्क टिम राखिएको बताउँदै बस्नेतले उपभोक्तालाई फाइदा पुग्ने गरी एक्सचेन्ज अफर सञ्चालन गरिने उल्लेख गरे ।

मेलामा बिग्रिएर थन्किएका मोबाइल सेट मर्मत गर्न क्षमतावान् जनशक्तिमार्फत सहयोग गरिनेछ । मोबाइल एक्स्पोको अर्को आकर्षण स्मार्टफोनहरूको फोटो बुथमा फोटोसेसन कार्यक्रम रहनेछ । अवलोकनकर्ताले उक्त बुथमा खिचाएको तस्बिर फेसबुकमा पोस्ट गरी धेरै लाइक पाए स्मार्टफोन उपहार प्राप्त गर्न सक्नेछन् । एक्स्पोमा पहिलो पटक मोबाइल फोन सेट एसेसरिजलाई महत्त्व दिइएको छ ।
एक्स्पोको रौनक बढाउन विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने सेलिब्रेटिजलाई मेलामा सहभागी गराइनेछ । ब्रान्डमुखी एक्स्पो भएकाले ब्रान्डको प्रवद्र्धन गर्दै त्यसका बारेमा आमनागरिकमा सचेतना फैलाउन छलफल तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिनेछ । मेलाको एक दिन भव्य म्युजिकल कार्यक्रम पनि हुनेछ, जसमा ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिनेछन् ।

छिटो चार्ज गर्ने डाटा केबल
ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइलसँग सम्बन्धित सबै किसिमका एसेसरिज उपलब्ध छन् । कम्प्लेक्सले मेलाका लागि उच्च क्षमताका ब्रान्डेड एसेसरिज भित्र्याएको छ । कम्पनीले विश्व प्रख्यात मोबाइल एसेसरिज ब्रान्ड अरुणका विभिन्न मोबाइलसँग सम्बन्धित एसेसरिजलाई मेलामा सार्वजनिक गर्दैछ । अरुणको विशेष किसिमको हाईस्पिड डाटा केबलबाट कुनै पनि ब्रान्डको स्मार्टफोन छिटोमा आधा घन्टा र ढिलोमा १ घण्टामा फूल चार्ज हुन्छ । उच्च क्षमताको यो केबललाई उपभोक्ताहरूले रुचाउने विश्वास लिइएको छ । केबललाई कम्पनीले हाई स्पिड डाटा केबल भनेर नामाकरण गरेको छ ।

यसैगरी यही ब्रान्डको पावर ब्यांकको उच्च क्षमताले छिटो चार्ज गरी लामो समयसम्म मोबाइलको ब्याट्री टिकाउने काम गर्छ भने मोबाइलको ब्याट्री लामो समयसम्म सुरक्षित रहन्छ । त्यस्तै डबल कनेक्सन गरेर दुईवटा सेटलाई एकैपटक उपयोग एवं चार्ज गर्न मिल्ने एउटै केबल पनि एक्स्पोमा उपलब्ध हुनेछ । जसलाई टू इन वान एन्ड्रोइड केबल भनिन्छ ।

गीत संगीत सुन्न र हेर्न स्मार्टफोनका लागि चाहिने अरुण ब्रान्डको हेडफोन पनि कम्प्लेक्समा उपलब्ध छ । यो हेडफोनको साउन्ड क्वालिटी अन्य ब्रान्डका हेडफोनभन्दा निकै गुणस्तरीय भएको दाबी गरिन्छ भने यो हेडफोनलाई रिमोटबाट समेत प्रयोग गर्न सकिन्छ । यो हेडफोन आईफोन, आईप्याडका लागि पनि निकै उपयोगी छ ।

एक्स्पोको विशेषता भनेकै उपभोक्तालाई मोबाइलका बारेमा जानकारी दिने हो

पुरुषोत्तम बस्नेत
अध्यक्ष,ललितपुर मोबाइल कम्प्लेक्स, ललितपुर मल

ललितपुर मोबाइल एक्स्पोको उद्देश्य के हो ?
पछिल्लो संस्करणका रूपमा बजारमा आएका स्मार्ट मोबाइल फोनसेटका सम्बन्धमा मोबाइल पारखीहरूलाई अवगत गराउनु । अहिले नेपालमा ३६ भन्दा बढी ब्रान्डका मोबाइल सेट उपलब्ध छन् ।
यो एक्स्पोका विशेषता के हुन् ?
नेपाली मोबाइलको बजारलाई स्थायित्व दिन, उपभोक्तालाई मलमा गएर भरपर्दो मोबाइल किन्ने ट्ेरन्ड विकास गर्न, अन्य स्थानभन्दा सस्तोमा मोबाइल सेट बिक्री गर्न तथा एउटै हबमा मोबाइल फोन सेटको व्यवसाय सञ्चालन गर्न यो एक्स्पोको आयोजना गरिएको हो ।
यो एक्स्पोको मुख्य विशेषता भनेकै उपभोक्तालाई मोबाइल फोनका बारेमा सर्वाधिक जानकारी दिने हो । ६ पटक सफल रूपमा मोबाइल एक्स्पो गरेपश्चात् सातौं पटक मोबाइल एक्स्पो गर्न लागेका हौं ।

नेपालमा मोबाइल फोनको बजार कस्तो छ ?
तीव्र प्रतिस्पर्धा छ, बजार चुनौतीपूर्ण पनि छ । हामीले न्यून मार्जिनमा काम गरिरहेका छौं । धेरैवटा ब्रान्ड र धेरै पसल खुलेकाले त्यसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाएका छन् । व्यवसायीहरूमा भने अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ, जसका कारण धेरै व्यवसायी धराशायी भएका छन् ।

यस प्रकारको एक्स्पो आयोजना गर्दा कसलाई बढी फाइदा हुन्छ ?
मेलामा प्रशस्त छुट र स्किम दिइने भएकाले सबैभन्दा बढी फाइदा उपभोक्तालाई हुन्छ । सरकार, मोबाइल फोनसेट विकासकर्ता, आयातकर्ता तथा विक्रेतालाई पनि फाइदा हुन्छ । मेलामा आएर मोबाइल खरिद नगरे पनि रिफ्रेसमेन्टका निम्ति अवलोकन गर्न आउने दर्शकलाई पनि मनोरन्जन प्राप्त हुन्छ । सही मोबाइल फोनसेट कुन हो भन्ने जिज्ञासा हुनेहरूका लागि पनि यो उपयुक्त प्लेटफेर्म हो ।

मोबाइल प्रयोगकर्ताहरू स्मार्ट फोनमा हुने विशेष फिचरहरूका बारेमा कत्तिको जानकार छन् ?
अहिलेका टिनएजर्सहरू घरमै बसीबसी मोबाइल फोन सेटका बारेमा इन्टरनेट सर्फिङ गर्छन् । त्यसैले मोबाइल सेटका सबै फिचर, एप्लिकेसन र टेक्नोलोजीका बारेमा उनीहरू जानकार हुन्छन् । अलिकति उमेर बढि भएका, टेक्नोलोजी भर्खर–भर्खर बुझेका, कि–प्याड सेटबाट स्मार्ट फोनमा परिणत हुँदै गरेकाहरूलाई फिचर र एप्लिकेसन बुझाउनुपर्ने हुन्छ । यो काम १० मिनेटमै गर्न सकिन्छ । अहिले त मिडियाका कारण उपभोक्ता नै व्यवसायीभन्दा बढी जानकार हुन्छन् ।

मोबाइल एक्स्पोका विशेषता
यो मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैयाँसम्मको ब्रान्डेड मोबाइल फोनहरू उपलब्ध हुनेछन् । यो मेला अवधिभर कुनै पनि मोबाइल खरिदमा ४० प्रतिशतसम्म नगद छुट प्राप्त गर्न सकिनेछ भने एसेसरिजमा ५५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । त्यसैगरी कुनै पनि मोबाइल तथा ग्याजेट्स सर्भिस गरेबापत २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

यो मेला करिब ३ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । यो मोबाइल मेलामा सामसुङ, हुवावे, जियोनी, आइफोन, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्डा आदि ब्रान्डका फोन सेट उपलब्ध हुनेछन् ।

नेपालको सबैभन्दा ठूलो यो मल्टीब्रान्ड मोबाइल शोरुमले ग्राहकहरूलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा–सुविधा एकै स्थानबाट प्रदान गर्दै आएको छ । ललितपुर  मलको दोस्रो तलाको कम्प्लेक्समा ४० भन्दा बढी मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्रान्ड मोबाइल शोरुम सञ्चालनमा छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्छन् ।

No comments:

Post a Comment