Second Menu

पढ्ने, पढाउने दुवै कैदी

महिला कारागारभित्र छिर्दा कैदी, बन्दी सबै व्यस्त थिए । कोही बिहानैदेखि सुइरोको सहायताले स्विटर बुनिरहेका थिए । कोही घाम तापिरहेका थिए भने कोही खुला ठाउँमा तरकारी किन्दै थिए । एउटा कोठामा चाहिँ अधबैँसे महिलाहरू साँवा अक्षर चिन्दै थिए ।

त्यसमध्येकी एक थिइन्, प्यूठानकी चुमा पुन, २८ । उनी डेढ महिनाअघि सुन्धारास्थित महिला कारागारको विद्यालयमा कक्षा १ मा भर्ना भएकी हुन् । लागूऔषध मुद्दामा दुई वर्षदेखि जेलमा रहेकी चुमाले पढ्नुको एउटै कारण छ, आफू जेलमा छँदा मनमा लागेका कुरा दुई छोरा र एक छोरीलाई चिट्ठीमार्फत पोख्ने । किनभने, उनले जेल पर्नुको कारण र आफ्नो मनको पीडा छोराछोरीलाई सुनाउन पाएकी छैनन् । न त जेल परेपछि छोराछोरीलाई देखेकी नै छन् । उनलाई भेट्न पनि कोही आएको छैन । भन्छिन्, “मनमा लागेका कुरा छोराछोरीलाई सुनाउन पाएकी छैन । अब पढेर चिट्ठी लेख्न सक्ने हुन चाहन्छु ।”

जीउ मास्ने/बेच्ने मुद्दामा आठ वर्षअघि जेल परेकी रसुवा, धुन्चेकी चिनी विकले आफूविरुद्धको उजुरीमा के लेखिएको छ, भेउ पाउनै सकिनन् । प्रहरीले तयार गरेको मिसिल पढ्दै नपढी ल्याप्चे लगाइन् । अक्षर नचिन्दाको पीडा सुनाउँछिन्, “प्रहरीले खरर... पढेर सुनाए, जहाँ ल्याप्चे थिचाउँछ, त्यहीँ थिचेँ । त्यसपछि पढाइको महत्त्व बुझेँ ।”

हेटाँैडाकी पूजा लामा पनि ५ कक्षामा पढ्दै छन् । आफ्नो मिसिलमा के लेखेको छ, कानुनमा के छ भन्ने थाहा नभएकै कारण जेलमा पढ्न थालेको उनको भनाइ छ । महिला जेलमा ५ कक्षासम्म पढाइ हुन्छ । त्यसभन्दा माथिल्लो कक्षा नभएकाले उनीहरूले बारम्बार ५ कक्षा दोहोर्‍याएर परीक्षा दिने गरेका छन् । त्यसमध्येकी एक हुन्, चिनी विक । उनले दुईपटक ५ कक्षाको परीक्षा दिइसकिन् ।

विद्यालयकी प्रधानाध्यापक सपना केसी, २८, आफैँ लागूऔषध मुद्दामा सजाय भोगिरहेकी छन् । उनी सरकारी दरबन्दीको अस्थायी प्रावि शिक्षिका हुन् । विद्यालयमा निजी स्रोतका अन्य चार शिक्षक पनि छन् । उनीहरूले पनि केसीकै तलब बाँडेर लिन्छन् । १ देखि ५ कक्षासम्म ५९ जना विद्यार्थी छन् । भन्छिन्, “पढ्ने इच्छा गर्ने धेरै छन् तर कोठा अभावले सबैलाई पढाउन सकिएको छैन ।”
राजधानीमा रहेकामध्ये महिला कारागारमा प्राथमिक विद्यालय, नख्खुस्थित भद्रगोल जेलमा निम्न मावि र केन्द्रीय कारागारमा उच्च माध्यमिक विद्यालय सञ्चालनमा छन् ।

जेलभित्र विद्यालय तहसम्म अध्ययन गर्न कुनै शुल्क लाग्दैन । प्लस टूमा पनि रजिस्ट्रेसन र परीक्षा शुल्क मात्रै लाग्छ । विद्यालयमा १ देखि ११ सम्म २ सय ४२ जना छन् । त्यसमा १ कक्षामा ६४, २ कक्षामा १८, ३ कक्षामा ३६, ४ कक्षामा १८, ५ कक्षामा १३, ६ कक्षामा ११, ७ कक्षामा आठ, ८ कक्षामा १३, ९ कक्षामा १७, १० कक्षामा १७ र ११ मा २७ जना अध्ययनरत छन् । महिला कारागारसँगै जोडिएको केन्द्रीय कारागारका १ हजार ५ सयमध्ये साढे दुई सयजति जेलभित्रै पढाइमा छन् ।

केन्द्रीय कारागारभित्रको यो जगन्नाथ उच्च माध्यमिक विद्यालयमा पनि पढ्ने र पढाउने दुवै कैदी छन् । विद्यार्थी प्राय: उमेर ढल्केका छन् । १२ कक्षा पढाइ हुने यो विद्यालय तीन सत्रमा चल्छ । बिहान साढे ६ देखि साढे ९ बजेसम्म २ देखि ७ कक्षासम्म पढाइ हुन्छ । दिउँसो ‘प्लस टू’को पढाइ हुन्छ भने साँझ ५ देखि सवा ९ बजेसम्म कक्षा १, ८, ९ र १० को पढाइ हुन्छ ।

साँझको कक्षामा दुई पिरियडपछि खाना खान आधा घन्टाको ‘ब्रेक’ हुन्छ । सबै कक्षा सकाउँदा सवा ९ बज्छ । कक्षा सकाउँदा भान्सा बन्द हुने भएकाले विद्यार्थीले साँझ साढे ६ देखि ७ बजेसम्म खाना खाने फुर्सद पाउँछन् । यो समयमा पढ्ने र पढाउने दुवै खाना खान जान्छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेलर छन् । अन्य सदस्यमा जेलका लेखापाल, प्रधानाध्यापक र चौकीदार हुन्छन् । अरू विद्यालयमा प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको संयुक्त खाता हुन्छ भने यो विद्यालयमा जेलर र लेखापालका नाममा बैंक खाता हुन्छ ।
सामुदायिक र अधिकांश निजी विद्यालयमा वर्षभरि पढाउँदा शिक्षकले १३ महिनाको तलब पाउँछन् । १२ महिनाको तलब, एक महिना चाडपर्व खर्च पाउँछन् । तर, जेलमा पढाउने कैदी शिक्षकले तलब पाउँदैनन् । उनीहरूले वर्षभरि पढाएबापत दुई महिना कैद सजाय भने घट्दै जान्छ ।

जिल्ला शिक्षा कार्यालयले यो विद्यालयमा नौ शिक्षकको दरबन्दी दिएको छ । त्यसमा प्राथमिक विद्यालयमा चार, निम्न माविमा चार र माविमा एक दरबन्दी छ । यहाँ अरू सामुदायिक विद्यालयका जस्ता तालिम र अध्यापन अनुमतिप्राप्त शिक्षक छैनन् । कैद भुक्तान गरिरहेका शैक्षिक योग्यता पुगेका कैदी नै यहाँका शिक्षक हुन् । तीमध्ये कर्तव्य ज्यानका तीन, लागूऔषधका ६ र बलात्कारका एक जना छन् ।

शिक्षकमध्येका एक हुन्, योगराज पाण्डे । उनले यहाँ ६ वर्षसम्म पढाए । एक वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । उनकै नेतृत्वमा यसै वर्षदेखि कक्षा ११ र १२ सुरु भएको छ । उच्च माध्यामिक शिक्षा परिषदबाट प्लस टुको सम्बन्धन लिन पाण्डेकै शैक्षिक प्रमाणपत्र पेस गरेका छन् ।
पाण्डेचाहिँ बलात्कार मुद्दामा साउन ०६६ मा जेल परेका थिए । उनी जेलमा भाइ नाइके हुँदै विद्यालयका प्रधानाध्यापकसम्म भए । विद्यालयको पहिलो प्राचार्य पनि भए । उनी विद्यालयमा मावि तृतीय दरबन्दीका अस्थायी शिक्षक थिए ।

उनले सामुदायिक विद्यालयका अरू शिक्षकले सरह तलब पाउँथे । सरकारी तलब लिएबापत उनी राज्यलाई तिर्नुपर्ने कर जेलभित्रैबाट तिर्थे । जेल पर्दा पाण्डेले लेखा शास्त्रमा स्नातकोत्तर गरेका थिए । जेलभित्रैबाट अर्थशास्त्रमा र अंग्रेजीमा पनि स्नातकोत्तर सिध्याए । उनी फागुन दोस्रो साता कैद भुक्तान गरी रिहा भएका छन् । शैक्षिक योग्यता भएको र जेलमा बस्दा चालचलन राम्रो भएको ठहरिएर आफू शिक्षक भएको पाण्डेको दाबी छ । भन्छन्, “जेलभित्रको मिहेनतले विद्यालयको नेतृत्व तहमा पुगेँ । अँध्यारोभित्र उज्यालो खोज्ने प्रयास गरेँ ।”

जेलभित्रका विश्वासिला व्यक्ति मात्रै शिक्षक हुन पाउँछन् । पाण्डेले सुरुमा ८ देखि १० कक्षासम्म अनिवार्य अंग्रेजी पढाउँथे । अघिल्ला प्रधानाध्यापक इन्द्रमान गोपाली सजाय भुक्तान गरेर जेलमुक्त भएपछि यिनी प्रधानाध्यापक भएका हुन् । उनी जेलमुक्त भएपछि प्रधानाध्यापक को हुने भन्ने विवाद छैन । किनभने, स्नातकोत्तर सकाएका वरिष्ठ शिक्षक अनुप श्रेष्ठ (जोशी)ले त्यो जिम्मेवारी पाउँदै छन् । लागूऔषध मुद्दामा आठ वर्ष जेल सजाय पाएका धरानका श्रेष्ठ निमावि दरबन्दीका विज्ञान शिक्षक हुन् । ०६७ मंसिरमा जेल पर्दा उनले बीएस्सी सकाएका थिए । जेलभित्रैबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी प्लस टूमा अनिवार्य अंग्रेजी विषय पनि पढाउँछन् । भन्छन्, “जानेर वा नजानेर जेल परेकाहरू पढ्न थालेपछि सुध्रिएका छन् । हामी शिक्षकमा पनि सुधार आएको छ ।” जस्तो : कर्तव्य ज्यान मुद्दामा जेल बसेका सिन्धुपाल्चोक, ठोकर्पाका किशोर केसीलाई नै लिउँ । उनी कक्षा ११ मा लेखा पढाउँछन् । विद्यालयमा निजी स्रोतका शिक्षक हुन् । जेल पर्नुअघि स्नातक पहिलो वर्षमा पढ्दै थिए, अहिले एमबीएस दोस्रो वर्ष अध्ययनरत छन् । भन्छन्, “अब जेलबाट फर्केर समाजमा पुन:स्थापना हुन पनि पढाइले सहयोग गर्नेछ ।”

अनेकथरी विद्यार्थी

सिन्धुपाल्चोक, तौथलीका गम्भीरमान श्रेष्ठ, ६६, विद्यालयकै जेठा विद्यार्थी हुन् । लागूऔषध ओसारपसार मुद्दामा साढे दुई वर्षअघि जेल परेका उनी ३ कक्षामा पढ्दैछन् । कैद भुक्तान सकाए पनि चार लाख रुपियाँ जरिवाना तिर्न नसकेर उनी जेलमै छन् ।

दुई श्रीमतीबाट उनका १० छोरी र सात छोरा छन् । परिवारका अरू सदस्य पनि लागूऔषध मुद्दामा जेलमै छन्, कोही भद्रगोलमा त कोही महिलातिर । भन्छन्, “जेल सजाय कटाउने भन्दा पनि पढाइको टेन्सनले राती निद्रा लाग्दैन । सबैले यो बुढेसकालमा के जोस आयो भन्दै जिस्क्याउँछन् ।”
***

सर्लाही, परवानीपुरका सुमन केसी, २८, कारागारमा झोक्राएर बसेका छैनन् । बरू, १० वर्षअघि बीचैमा छाडेको पढाइलाई निरन्तरता दिइरहेका छन् । एक दशकअघि ६ कक्षा पढ्दापढ्दै भाइबहिनी हुर्काउने जिम्मेवारी उनकै काँधमा थपियो । त्यस बेला पूरा गर्न नसकेको पढाइ अहिले केन्द्रीय कारागारको जगन्नाथ उच्च माविबाट पूरा गर्दैछन् ।

अंग्रेजीमा कमजोर भएकाले उनी एक महिनाअघि ३ कक्षामा भर्ना भएका हुन् । अब उनको उद्देश्य एउटै छ, अंग्रेजी सुधार्ने । सात महिनाअघि जबर्जस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी आफ्ना बारेमा अंग्रेजीमै लेख्न सक्ने भइसके । भन्छन्, “पढ्न थालेपछि मुद्दाको तनाव पनि कम हुन थाल्यो ।”
***

लागूऔषध मुद्दामा ५ वर्ष ३ महिना कैद भोगिसकेका वीरगन्जका विजय अर्याल, ३१, पनि आफूलाई अंग्रेजी र गणितमा कमजोर ठानेर ६ कक्षामा भर्ना भए । विगतमा ७ कक्षा पढेका उनी एक तह घटाएर भर्ना भएका हुन् । कक्षामा नियमित आउँछन् । उनलाई कम्प्युटर कक्षाले तानेको छ ।

१२ वर्ष सजाय पाएका उनी सजाय घटाउन कारखानामा कपडा बुन्न पनि जान्छन् । साढे ९ बजे कक्षाबाट बाहिरिन्छन् । १० बजे कारखाना पुगिसकेका हुन्छन् ।

केन्द्रीय कारागारबाट ९० जनाभन्दा बढी कारखाना जान्छन् । एक वर्ष कारखानामा काम गरेबापत दुई महिना सजाय कम हुन्छ । अर्याल चार वर्षदेखि कारखानामा कपडा बुन्ने काम गरिरहेका छन् । भन्छन्, “पढाइ र कामले सजाय काटेजस्तो अनुभव हुँदैन ।”
***

काठमाडौँ, पुरानो गुह्येश्वरीका मनोज पुतुवार, ३१, कर्तव्य ज्यानमा कैद भोगिरहेका छन् । उनलाई लाग्छ, पढ्न थालेपछि समाज बुझ्न सकिन्छ । उनले १० वर्षअघि ४ कक्षा पढेर छाडेका थिए । जेलभित्रै पढ्न थालेपछि परिवारका सदस्य पनि खुसी भएका छन् ।
मनोज बिहान पढ्छन् । दिउँसो पोते बुन्ने काम गर्छन् । जेलमा रहँदा शिक्षासँगै काम गरेर आफू सुध्रिएको महसुस गर्छन् । भन्छन्, “विगतमा भएको गल्ती अशिक्षाले नै भएको रहेछ ।”
***

नुवाकोटका कृष्ण परियार, ५१, कतै हस्ताक्षर गर्नुपर्‍यो भने ल्याप्चे लगाउँथे । मानव बेचबिखन मुद्दामा जेल परेका उनले आफूलाई सुधार मात्रै गरेनन्, अब चैतमा ५ कक्षा पनि पूरा गर्दैछन् । भन्छन्, “जेल परेर मेरो आँखा खुल्यो ।”
***

काठमाडौँ, कुमारीगालका अनिल मिश्र, २५, ले गत वर्ष जेलबाटै एसएलसीमा ७१ प्रतिशत अंक ल्याए । उनी कर्तव्य ज्यान मुद्दामा थुनिएको पाँच वर्ष भयो । राजधानीको एक निजी विद्यालयमा १० कक्षा पढ्दा पढ्दै बीचैमा छाडेका उनी कारागारभित्रै प्लस टू पढिरहेका छन् । प्लस टूमा व्यवस्थापन संकाय पढाइ हुन्छ । यस वर्ष ११ कक्षामा २७ जना भर्ना भएका छन् ।
***

कर्तव्य ज्यान मुद्दामा जेल परेका सोलुखुम्बु, देउसाका निरकुमार कार्की, ३०, तीन वर्षदेखि जेलमा छन् । पाँच कक्षामा भर्ना भएकै वर्ष विद्यालय टप भएपछि एकैपटक ८ कक्षामा फड्को मार्न पाए । उनले दुई सयभन्दा बढी विद्यार्थीलाई उछिने । ८ कक्षामा तेस्रो भएका उनी नौ कक्षामा पढ्दैछन् ।

०६१ वैशाखमा सशस्त्र प्रहरीमा छनोट भएका उनले डेढ वर्ष जागिर खाए । उनको सुरुको पोस्टिङ वीरगन्ज कारागारमा थियो । माओवादीको धम्की आएपछि जागिर छाडेर लडाकू बने । लडाकूबाट स्वैच्छिक अवकाश लिँदा पाएको पाँच लाख रुपियाँले काठमाडौँमा तरकारी व्यापार गरेका उनी साथीका कारण जेल परेको बताउँछन् । भन्छन्, “जेलबाहिर रहँदा नपढ्दा धेरै हन्डर खाएँ, अब राम्ररी पढ्छु ।”
उनले विद्यालयमा कार्यालय सहयोगीको हैसियतमा मासिक तलब पनि पाउँछन् । पढ्नुअघि उनी जेलभित्रकै अस्पतालमा बिरामीको हेरचाह गर्थे । भन्छन्, “अब शिक्षित भएर समाजमा केही योगदान गर्न चाहन्छु ।”
---

‘पढ्न चाहनेलाई जेल सरुवा’
— हिमनाथ दवाडी, महानिर्देशक, कारागार विभाग

जेल बन्दीगृह नभई सुधारगृह बनाउने प्रक्रियाको सुरुआत अन्तर्गत पढाइलाई जोड दिइएको हो । त्यसैले प्लस टूको पढाइ सुरु गरेको हो । प्लस टू पढ्न चाहनेलाई जेल सरुवा गर्ने व्यवस्था छ । ताकि जेलबाट निस्कँदा बेरोजगार हुनु नपरोस् । सरुवा हुन चाहने कैदीले जेलरलाई निवेदन दिनुपर्ने हुन्छ । र, त्यही जेलरको सिफारिसका आधारमा हामी कैदीलाई सरुवा गर्छौं ।

जगन्नाथ उमाविको इतिहास

केन्द्रीय कारागारमा २०१९ देखि पढाइको सुरुआत भएको हो । तत्कालीन राजबन्दी मोहनविक्रम सिंह, पदमशंकर अधिकारी, सीपी मैनाली र ओमकार श्रेष्ठलगायतको विशेष पहलमा शिक्षालयको स्थापना भएको अभिलेख छ ।

बन्दी जीवन बिताउने क्रममा सजाय पाएर कारागारमा परेका व्यक्तिलाई बन्दी विकास शिक्षालयका रूपमा ०१९ मा औपचारिक शिक्षा सुरुआत भएको थियो । सुरुदेखि एसएलसी परीक्षामा सहभागिता प्राइभेटका रूपमा हुन्थ्यो । नियमित विद्यार्थीका रूपमा भने ०५० देखि मात्रै एसएलसीमा सहभागी हुन थालेका हुन् । ०२० देखि प्रावि औपचारिक रूपमा सुरुआत भयो भने ०३८ देखि मात्रै बन्दी विकास प्राविका रूपमा ४ कक्षासम्म सञ्चालन भयो ।

०४० देखि निमाविको पढाइ सुरु भए पनि ०५० मा मात्रै ९ कक्षाको अनुमति पायो । ०५३ मा बन्दी विकास माविको नाम जगन्नाथ मावि बनाएर १० कक्षासम्म सञ्चालनको अनुमति दिइयो । उच्च माध्यमिक शिक्षा परिषद्ले गत १४ असोजमा ११ र १२ कक्षा सञ्चालनको अनुमति दिएपछि यहाँ प्लस टू पनि पढाइ हुन्छ । विद्यालयको सुरुआतदेखि अहिलेसम्म २१ जना प्रधानाध्यापक भइसकेका छन् । यसका पहिला प्रधानाध्यापक बद्रीराम भण्डारी हुन् । विद्यालयमा सबैभन्दा धेरै ५ वर्ष ९ महिना १३ दिन सिलाल तामाङ प्रधानाध्यापक भए । र, योगराज पाण्डे यस विद्यालयका पहिलो प्राचार्य हुन् ।

No comments:

Post a Comment