केही दिनअघि सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सले सामसुङ ग्यालेक्सी एस–७ तथा एस–७ एज नेपाली बजारमा ल्याएको घोषणा गर्यो ।
केही दिनपहिले मात्र स्पेनको बार्सिलोनामा सम्पन्न मोबाइल वल्र्ड कांग्रेसमा पहिलो पटक सार्वजनिक गरिएका ती स्मार्टफोन छोटो समयमै नेपाली बजारमा आएका हुन्। यी दुई मोबाइल अन्य सुविधाका साथै धुलो र पानीले पनि कुनै असर नपुर्याउने खालका भएको बताइएको छ । सार्वजनिक समारोहमा आफ्ना अनुभव सुनाउने क्रममा नेपाली फुटबल टिमका कोच बालगोपाल महर्जनले भनेका थिए, ‘फुटबल अभ्यासका क्रममा फोनलाई मैदानमा राखेर हिँडेको थिए, पानी पर्यो र त्यो २० मिनेटसम्म लगातार पानीमा भिजेछ, तर त्यसरी भिज्दा पनि पानीले कुनै असर गरेन ।’
सामसुङ ग्यालेक्सी सिरिजका यी फोन अन्य विशेषताका साथमा यो महत्वपूर्ण विशेषता पनि लिएर आएका छन् । पछिल्लो समयमा स्मार्टफोन किन्नेहरूको चाहनामा एउटा कुरा थप भएको छ । अन्य विभिन्न विशेषताका साथमा स्मार्टफोन वाटरप्रुफ हुनुपर्छ भन्ने मान्यताको समेत विकास भएको छ । व्यस्त दैनिकीमा घर बाहिर हिंडिरहनुपर्ने भएकाले कुन समयमा पानी पर्छ निश्चित हुँदैन । त्यसैगरी कहिलेकाहीँ घरमै पनि नुहाउँदा वा अन्य विभिन्न अवस्थामा आफ्नो स्मार्टफोन पानीले भिज्यो भने ? स्मार्टफोन किन्न प्रयोग गरेको मूल्य त डुब्छ नै, त्यसमा भएका विभिन्न डाटा समेत नष्ट भएर जान्छन् ।
अहिले त झन् होलीको मौसम छ । खल्तीमा स्मार्टफोन राखेर होली खेलियो भने त्यो भिज्न सक्छ । यस्तो अवस्थामा आफ्नो स्मार्टफोनलाई कसरी जोगाउने भन्ने समस्या हुन सक्छ । वर्ष लगायत यिनै विविध कुरालाई मध्यनजर गरी कम्पनीहरूले नै वाटरप्रुफ अर्थात् पानी नछिर्ने स्मार्टफोन निर्माण गर्न थालेका छन् । बजारमा यस्ता विभिन्न वाटरप्रुफ स्मार्टफोन प्रचलित छन् ।
सामसुङको ग्यालेक्सी एस ५ पनि वाटरप्रुफ छ । यसको सर्वाधिक राम्रो पक्ष भनेकै यो वाटरप्रुफ हुनु हो । यसलाई एक मिटर पानीमा आधा घण्टासम्म डुबाउँदा पनि केही फरक पर्दैन । कम्पनीले त्यसको ग्यारेन्टी नै दिएको छ ।
सोनीले आफ्नो एक्सपेरिया जेडका विभिन्न स्मार्टफोनलाई वाटरप्रुफ बनाएको छ । सोनीका एक्सपेरिया जेड, जेड वान, जेड वान कम्प्याक्ट र जेड आर सबै सिरिज वाटरप्रुफ छन् । एक्सपेरिया जेड वाटरप्रुफ सिरिजको पहिलो स्मार्टफोन हो । यो फोन दुई पुस्ता पुरानो मानिन्छ, तैपनि यसमा किटक्याट ओएस अपडेट गर्न सकिन्छ । यो सिरिजमा जेड वान पनि राम्रो स्मार्टफोन मानिन्छ ।
यसमा क्वाडकमको स्न्यापड्रागन ८०० प्रोसेसर छ । त्यसैगरी जेड वानको अलि सानो भर्सनका रूपमा जेड वान कम्प्याक्ट छ । त्यसैगरी जेडआरमा पनि किटक्याट अपडेट उपलब्ध छ । यी सबै स्मार्टफोन वाटरप्रुफ भएकाले यिनले सोनीको ब्रान्डलाई एक कदम माथि उठाउन सहयोग पुर्याएका छन् ।
मोटोरोलाको मोटो जी पनि वाटरप्रुफ स्मार्टफोनका रूपमा चर्चित छ । यद्यपि यो पूर्ण रूपमा वाटरप्रुफ भने होइन, तर यसको भित्रतिर न्यानो कोटिङ लगाइएको छ, जसले यसलाई वाटरप्रुफ बनाएको छ । यसलाई लिएर पौडी खेल्दा भने प्रयोग गर्न मिल्दैन, तर सामान्य अवस्थामा भिज्दा केही फरक पर्दैन ।
त्यसैगरी मोटोरोलाले डेफीका विभिन्न सिरिजका वाटरप्रुफ स्मार्टफोन निर्माण गरेको छ । डेफी मिनी, डेफी प्लस तथा डेफी एक्सटी सिरिजका यी सबै स्मार्टफोन वाटरप्रुफ छन् ।
एचटिसी वानलाई कम्पनीले आधिकारिक रूपमा वाटरप्रुफ भनेर प्रमाणित गरेको छैन, तैपनि धेरै अनलाइन रिपोर्टमा यसलाई वाटरप्रुफ भनिएको छ । थोरै मात्र भिज्दा यसमा खासै असर पर्दैन, तर बढी भिजाउनु भने हुँदैन ।
यसैगरी एचटिसी बटरफ्लाईको बट र माथिल्लो भागमा रहेको पोर्टमा प्लास्टिक कभर लगाइएको छ, जसले गर्दा यो वाटरप्रुफ छ ।
क्योसेराले हाइड्रो सिरिजमा विभिन्न वाटरप्रुफ स्मार्टफोन उपलब्ध गराएको छ । यी स्मार्टफोनलाई ३ फिट गहिरो पानीमा आधा घण्टासम्म राख्दा पनि केही फरक पर्दैन । क्योसेराले हाइड्रो एक्सटिआरएमएच, हाइड्रो लाइफ, हाइड्रो एलिट आदि सिरिजमा विभिन्न प्रकारका स्मार्टफोन निर्माण गरेको छ । वाटरप्रुफ भएकैले यसले नाम पनि हाइड्रोबाट प्रारम्भ गरिएको छ ।
लेनोभोले सबैभन्दा पहिले सन् २०१२ मा यो स्मार्टफोनलाई बजारमा ल्याएको थियो । वाटरप्रुफका साथै डस्ट फ्रीसमेत भएकाले यसले आइपी ६७ प्रमाणपत्र समेत पाएको थियो । यो स्मार्टफोनलाई १ मिटर गहिरो पानीमा डुबाउँदा पनि केही फरक पर्दैन ।
पानासोनिक एलुगा पनि वाटरप्रुफ स्मार्टफोन हो । यसलाई डेढ घण्टासम्म पानीमा राख्दा पनि केही हुँदैन । हुवावेको अनर थ्री स्मार्टफोन पनि वाटरप्रुफ छ । हुवावेले आफ्नो सुरक्षा संवेदनशीलताका कारण यसलाई वाटरप्रुफका रूपमा प्रचार गरेको छैन, तर व्यवहारमा हेर्दा यो फोन वाटरप्रुफ प्रमाणित हुन्छ ।
No comments:
Post a Comment