Second Menu

मन लोभ्याउने मेमे पोखरी

नेपालका गाउँमा यति धेरै रमणीय स्थान छन्, जसको चर्चा विरलै मात्र हुन्छ । लमजुङको मेमेपोखरी एउटा उत्कृष्ट गन्तव्य हो जहाँ पुगेपछि नौलो अनुभूति सँगाल्न सकिन्छ । गाउँले परिवेश, स्वच्छ हावापानी एवं प्राकृतिक सुन्दरताका कारण मेमे पोखरीको प्रशंसा मात्र गरेर पुग्दैन, एकपटक घुम्न जानैपर्छ ।

लेकाली भेगमा पर्ने भएकाले मेमे पोखरी पुग्न ट्रेकिङ रुट पक्रिनुपर्छ । ट्रेकिङ यात्रा साँच्चै रोमाञ्चक हुन्छ । ४ हजार ८ सय मिटरको उचाइमा रहेको यो पोखरी धार्मिक पर्यटकीय स्थलका रूपमा प्रख्यात छ । यहाँ जनै पूर्णिमाका दिन भव्य मेला लाग्छ ।

तामाङ भाषामा मेमेको अर्थ सबैभन्दा ठूलो हो । लमजुङ जिल्लाकै सबैभन्दा ठूलो पोखरी मानिन्छ मेमे पोखरीलाई । मेमेलाई गुरुङहरूले आफ्नो इष्टदेवता पनि मान्छन् । यो पोखरीलाई हिमचुली र बौद्ध हिमालको काखमा भगवान शंकर र पार्वतीको तपोभूमि पनि मानिन्छ । एक पटक यो पोखरीमा स्नान गर्नाले सारा पाप पखालिने र मनले चाहेका मनोकामनाहरू पूर्ण हुने विश्वास गरिन्छ । यो लमजुङको सबैभन्दा विशाल हिमताल पनि हो । यो पोखरीसम्म पुग्ने बाटो कठिन छ । जुका र चिप्लो बाटोबाट जोगिनुपर्ने भएकाले थोरैमात्र पर्यटक त्यहाँ पुग्छन् । बाटोमा रहेका गोठहरूमा बास बस्नुपर्ने भएकाले पर्यटकहरूले यो स्थानलाई गन्तव्य बनाउन चासो दिँदैनन । कहिले धुम्म परेर बादलले ढाक्ने र कहिले त्यो बादल पानीको सतहबाट माथि आकासिँदै जाँदा यात्रुको मनै फुरुङ बनाउने भएकाले मेमेले धेरैको मन तान्छ । यसलाई बृहत् प्रचार–प्रसार गरेर राम्रो ट्रेकिङ रुट विकास गर्न सके नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बनाउन सकिने सम्भावना छ ।

मेमेबाट बौद्ध हिमाल प्रस्ट देखिन्छ । पोखरीको पानीले छिनछिनमा रंग बदल्छ । पश्चिम उत्तरमा चौडा ठूलो पोखरी दक्षिण–पूर्वमा बिस्तारै ठूलो खोलाको आकार लिँदै जान्छ । सदरमुकाम बेसीसहरबाट हिलेभट्टी, फलेनी गाविसको लप्सिबोट, हिउँचुली गाउँ, भेडीखर्क, बराहपोखरी हुँदै मेमे पोखरी पुग्न सकिन्छ । मेमे पुग्न बेसीसहरबाट पाँच दिनको समय छुट्टयाए पुग्छ । यात्राका क्रममा गाउँले घरहरूमा पुगेर स्थानीय परिकार खान सकिन्छ ।

No comments:

Post a Comment