Second Menu

फरक

दुई जना बूढा मर्निङवाकका क्रममा एकाबिहानै वनकालीतिर भेटिए । तिनीहरू बार्‍ह वर्षपछि भेटिएका थिए । उनीहरू एउटा चियापसल खोजेर बसे । दुई जनाले यो बार्‍ह वर्षमा एक–अर्कामा आएको परिवर्तन औँल्याउन थाले । एक जनाको नाम हरिप्रसाद शर्मा थियो, अर्काको कृष्णबहादुर थापा ।
बूढाहरू निकै बेरसम्म पुराना कुरा झिकेर रमाइरहे । आफ्ना जमानाका समकक्षीहरूको हालखबरसमेत लिइसकेपछि बल्ल फुर्सद भो, उनीहरूलाई आफ्ना सन्तानको हालखबर सोध्ने ।
हरिप्रसादले नै सुरु गरे, ‘अनि छोराछोरी कहाँ–कहाँ पुगे त ?’
कृष्णबहादुरले भने, ‘यतै छन् । तिम्रा कहाँ छन् ?’
हरिप्रसादले लामो सास ताने । आँखामा चमक ल्याए । छाती अलिकति तन्काए अनि भने, ‘जेठो छोरो क्यालिफोर्नियामा । कान्छो जापानको क्योटोमा अनि छोरी सिड्नीमा छे ।’
‘ए,’ कृष्णबहादुले भने, ‘कति भयो र ?’
‘निकै पो भो त । जेठो गएको सात वर्ष भो । कान्छो पाँच वर्ष । छोरी त बिहे गरेको सात महिनामै गैहाली । ज्वाइँ उतैको पीआर हुनुहुन्थ्यो ।’

हरिप्रसादले करिब आधा घण्टासम्म आफ्ना छोराछोरीको प्रशंसा गर्‍यो ।

छुट्टिने बेलामा हरिप्रसादले भन्यो, ‘तिमीहरू शनिबार मेरो घरमा खाना खाने गरी किन आउँदैनौ ? भाउजूलाई लिएर आऊ है ।’

कृष्णबहादुरले भन्यो, ‘पक्कै आउनेछौँ ।’

कृष्णबहादुरले हरिप्रसादको घर देखेको थिएन । घरको लोकेसन मागीवरी दुवै जना बिदा भए ।

शनिबारको दिन कृष्णप्रसाद र उनकी श्रीमती हरिप्रसादको घर पत्तो लगाउँदै–लगाउँदै गए । सानेपास्थित उनको साढे तीनतले घरको सबैभन्दा माथिल्लो तलामा पुगेपछि दुई दम्पतीबीच निकै कुरा भए । घरमा केवल दुई दम्पती र एउटा कुकुर थियो । हरिप्रसादको घरमा भएका एक–एक सामान आयातीत थिए । हरिप्रसाद बताइरहेको थियो, ‘यो जेठोले पठाइदिएको, यो छोरीले, यो कान्छो..................।’

खाना खाने बेलामा पनि हरिप्रसाद सुनाइरहेको थियो, ‘अब आउँदो जुनमा क्यालिफोर्निया जाँदैछौँ । त्यसपछि छोरीले बोलाइरहेकी छे, उसको छोरो रेखदेख गर्दिन ।’ खाना खाइसकेर छुट्टिने बेलामा कृष्णप्रसाद दम्पतीले अर्को शनिबार उनीहरू दुवैलाई आफ्नो निवासमा खाना खान बोलाए ।

‘पैँचै तिरेजसो गरी अहिले नै नबोलाएको भए हुन्थ्यो,’ मिसेस हरिप्रसादले भनिन् ।
‘यसो पारिवारिक चिनजान त हो नि,’ मिसेस कृष्णबहादुरले भनिन् ।

अर्को शनिबार हरिप्रसाद दम्पती पनि उनीहरूको निवास खोज्दै–खोज्दै पुगे । उनीहरूको घर जम्मा दुई तलाको थियो । उनीहरूलाई माथ्लो तलाको बैठककोठामा बसाइयो । घरभरि धेरै मान्छे थिए । कृष्णप्रसादले आफ्ना छोरी–ज्वाइँसमेत बोलाएको थियो ।

उनीहरूलाई बसाउनेबित्तिकै कृष्णप्रसादले आफ्ना परिवारका सबै जनाको परिचय उनलाई गराउन थाल्यो, ‘यो जेठो छोरो, नेपाल बैंकमा अफिसर छ । ऊ बुहारी । यो ठूली छोरी जुलोजीको लेक्चरर । उहाँ ज्वाइँ, ज्वाइँ फिजिक्सको लेक्चरर । ऊ कान्छी छोरी, सिभिल इन्जिनियर छे । कन्सल्टेन्सीमा काम सुरु गरेकी छे भर्खरै । यसको बिहा आउँदो मंसिरमा गर्दैछौं अनि यो कान्छो छोरो पनि सिभिल इन्जिनियर । यसको पोहोर बिहा गर्‍या । ऊ चैँ कान्छी दुलही, नबिल बैंकमा काम गर्छिन् ।’

अनि तीन जना केटाकेटी पनि खुरर्र दौडँदै आए । उनीहरू नाति–नातिना थिए । सबैको परिचय गराइदिए ।

हरिप्रसादको दम्पती एकदमै आश्चर्यचकित भएर त्यो दृश्य हेरिरहेका थिए । परिचयात्मक कार्यक्रम सकिएपछि उनीहरू त्यहाँबाट निस्किए ।

हरिप्रसादले मुख खोले, ‘कृष्ण, मलाई लाग्थ्यो म एकदमै सफल र खुसी मान्छे हुँ । यद्यपि घरमा हामी दुई बूढाबूढी मात्र सुनसान–सुनसान जीवन बिताउँथ्यौ, मलाई आफ्ना छोराछोरी बाहिर सेटल भएको कुराले खुब सन्तुष्टि मिल्थ्यो तर आज, तिम्रो यति ठूलो परिवार एकै ठाउँमा बसेको देखेर म डाहाले भुतुक्कै भा’छु यार । मलाई मेरो खुसीको कद एकदमै स्यानो लाग्यो । खुसी त त्यो मान्छे हुँदो रहेछ जसले सधैँ आफ्ना सन्तानकै आसपास जीवन बिताउने सौभाग्य पाउँछ । हामी त दुई–तीन वर्षमा एकपटक विदेश जान्छौँ र छोराछोरी भेट्छौँ । उनीहरू यति बिजी हुन्छन् कि ठीकसँग उनीहरूको अनुहारसमेत देख्न पाउँदैनौँ । तिमी धेरै भाग्यमानी छौ कृष्ण ।’

यसपालि छाती कृष्णको तन्कियो । किनभने खुसी आफ्ना सन्तानले विदेशबाट पठाउने नगद वा जिन्सीमा होइन, बरु केही नदिए पनि तिनीहरू आफ्नो वरिपरि भएकोमा हुने रहेछ । आमाबुवाका लागि सबैभन्दा ठूलो धन भनेको उनीहरूका सन्तान नै त हुन् ।

आखिर घर भनेको परिवारले भरिनलाई हो, भएको परिवार छरिनलाई कहाँ हो र ?

No comments:

Post a Comment