हिजोआज दिनहुँजसो झरी पर्छ, जसले गर्दा घरबाहिर निस्कन गारो हुन्छ ।
झरीमा रुझियो भने शरीरको कपडा कहिले सुक्ने हो भन्ने चिन्ताले लेखनाथकी
ममता अधिकारीलाई सधैं सताउँथ्यो । अहिले उनले उपाय निकालेकी छिन् ।
छोटा कपडा र भक्कु चप्पलले अधिकारीलाई अहिले निकै राहत दिएको छ ।
कटन र जिन्सका हाफ पाइन्ट अहिले उनको पहिलो रोजाइमा परेका छन् ।
यसरी छोटा हाफ पाइन्ट लगाउँदा हिँड्न पनि सजिलो हुने अधिकारीको
अनुभव छ । दिनहुँ कपडा भिज्यो भने झरीकै कारण राम्रोसँग सुक्न पनि पाउँदैन ।
चिसो कपडा लगाउँदा रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । ममता
भन्छिन्, ‘लेखनाथ नगरपालिकामा छोटा कपडा लगाउने युवती हत्तपत्त
भेटिँदैनन् ।’ त्यसैले लगाउन अप्ठ्यारो लागे पनि अहिले उनलाई बानी परिसकेको
छ । सजिलो मात्र होइन, छोटा कपडाले राम्रो र छरितो पनि देखिन्छ । छोटा
कपडा लगाउँदा ममता आफूलाई निकै स्मार्ट देखिएको अनुभव गर्छिन् । उनलाई
स्कर्ट र वानपिस पनि निकै मन पर्छ ।
ममतालाई जस्तै बन्दना पौडेललाई पनि झरीका बेला छोटा कपडा नै मन पर्छ ।
१२ कक्षा पढ्ने यी छात्रा कलेज जाँदा स्कर्ट लगाउँछिन् भने अरू बेला जिन्सको
हाफपाइन्ट । यस्ता पहिरन कम्फर्टेबल हुने उनको अनुभव छ । मोडल बन्ने रहर
पालेकी बन्दना फेसनेबल देखिन पनि छोटा र सजिला पहिरन लगाउन मन
चाहन्छिन् । ती पहिरनसँग उनीहरू फ्ल्याट चप्पल रुचाउँछन् ।
पानीमा भिज्दा पनि नबिग्रने र लगाउन सजिलो चप्पललाई उनीहरूले आफ्नै
नाम दिएका छन्— ‘भक्कु चप्पल’ । पानीमा लगाउन सजिलो तथा आकर्षक
चप्पल विरलै फेला पर्ने उनीहरूको गुनासो छ । उनीहरूकै कुरामा सहमत हुने अर्की
युवती हुन्— पुष्पा थापा ।
कक्षा १२ मा अध्ययनरत पुष्पा थापालाई पनि झरीमा नभिज्ने गरी छोटा
पहिरन नै मन पर्छन् । पहिरन भनेको आफूलाई सजिलो हुनेगरी लगाउनुपर्ने
पुष्पाको तर्क छ । अरूको रोजाइ भन्दा पनि आफूलाई सजिलो हुने र
सामाजिक मर्यादा कायम हुने गरी पहिरन लगाउनुपर्ने पुष्पाले बताइन् । झरीका
बेला झोला भिज्ने पीर र छाता समाउनुपर्ने बाध्यताका कारण लडेर चोटपटक
लाग्न सक्ने सम्भावना पनि उत्तिकै हुन्छ, त्यसमाथि आफूले लगाएको पहिरन
सम्हाल्दै हिँड्नुपर्ने भयो भने मुड त्यसै अफ हुने युवतीहरू बताउँछन् ।
Second Menu
▼
No comments:
Post a Comment