Second Menu

बुढेसकालको बाह्रखरी राधा रोकाहा print


रातको १ बज्न लागेको थियो, मस्त निन्द्राबाट ब्युझिँदा क, का, कि, की, कु,
कू....को आवाज आईरहेको थियो। यसो आँखा तन्काएर कोठाको वरिपरी हेरेँ
बत्ति बलिरहेको थियो। अर्को ओछ्यानमा आमाले पो बाह्रखरी पढिरहनु
भएको रहेछ।
तन्द्राको झेाँकमा प्याच्च मुखबाट ह्या के को मध्ये रातमा नाटक हो? खुरुक्क
सुत्नुस्, अरुलाई समेत डिस्टर्ब भन्ने वाणी निस्कियो। उता आमाले कापीबाट
आँखा नहटाई भन्नुभयो त चुप लागेर सुत न, यो कण्ठ बनाईन भने भोलि तेरो
बुबाले कराउनुहुन्छ। त्यसपछि म चुप लागेँ। निदाउने कोशिस गरेँ तर निन्द्रा देवीले
छोडेर गई सक्नुभएछ। अर्को कोल्टे फेरेर निदाउने कोशिश गरेँ सकिन, मनमा अनेक
कुरा खेल्न थाले। आमाको पढ्ने चाहना र लगाब देखेर कता कता खुसी लाग्यो
भने अर्को तिर माया पनि। मन झन् उकुसमुकुस भएर आयो।
उमेरले ५० नाघिसकेकी मेरी आमालाई यो उमेरमा लागेको पढ्ने रहर देख्दा आफैँ
दंग परिरहेकी छु। कुनै बेला गफैगफमा आमा भन्नुहुन्थ्यो, ‘सानैमा पढ्न पाएको भए
कति पढ्थेँ होला।’ अनि कस्ले नपढ्नू भनेको थियो र? पढेको भा भइहाल्थ्यो। ‘अँ
तिमारूलाई भन्न सजिलो छ, हाम्रो पालामा छोरीले पढ्नु भनेको त अपराध
जस्तै हुन्थ्यो बाबै। तिमारूले जस्तो पढ्न पाएको भए त कति पढ्थेँ केके पो गर्थेँ
जस्तो लाग्छ नि। त्यो बेलाको समयमा छोरीले घाँस दाउरा, मेलापात, घर
धन्दा मात्रै हो जान्नु पर्ने, भाईहरु पढ्न गाको देख्दा रहर लाग्थ्यो, बाउले पढ्न
गईस् भने खुट्टा भाँचिदिन्छु भन्थे। त्यसमाथि आफू त बाउकी साहिँली छोरी।
दुई दिदीहरुको सानैमा बिहे भयो, त्यसपछि आमा पनि सानै उमेरमा
खस्नुभइसकेको थियो। बाउ मुखिया मान्छे कता कता जान्थे, घरमा पाहुना
त्यस्तै आउँथ्यो, तिनीहरुलाई सम्मान सत्कार नि गर्नै पर्यो। खेतीपाती ठूलो
थियो, सबैतिर हेर्नुपर्थ्यो। जे भए नि भाईहरुले पढोस् भन्ने चाँहि त्यतिबेला नि
लाग्थ्यो।’ आमाको कुरा सुनेर कता कता आफूलाई त्यही पात्रको रूपमा
कल्पना गर्न पुगेछु, मेरी आमाले मलाई पनि पढ्न नदिनु भएको भए के हुन्थ्यो होला
भन्ने सोचेर आँखा टिलपिल भयो, आफूलाई केही सम्हालेर फेरि सोधेँ–अनि आमा
तपाई नपढ्नु भएको बुबा पढ्नुभएको मान्छे कति हेप्नुभयो हेाला है? ‘हेप्न त के
हेप्नु त्यो बेला घर सम्हाल्न सक्ने महिला भए हुन्थ्यो। तर कहिले काँही यस्तो
गोबरलाई विहे गरेछु भन्नुहुन्थ्यो, चित्त दुख्थ्यो नि।’ समयमा पढ्न नपाएकोमा
आमाको अनुहारमा छल्किएको पश्चातापको भाव स्पष्ट रुपमा देखिन्थ्यो जुन
देखेर म झन् भावुक हुन्थेँ। कहिले कहिले हजुरबुबा देखेर पनि रिस उठ्थ्यो आमालाई
पढ्न जान नदिनुभएको सम्झेर।
वैशाख १२ गतेको महाभूकम्पपछि जन्मथलो गोरखा आरूचनौटे गाविसमा रहेको
घर ध्वस्त भएपछि आमालाई स-परिवार काठमाडौंमा बस्ने मौका मिलेको छ।
आमाको तीन छोरा, एक छोरी, एक बुहारी र श्रीमान् लामो समयदेखि
राजधानीमा नै बसेर काम र पढाईलाई निरन्तरता दिइरहेका छौँ। घरको
स्याहार सम्हार र खेतीपातीको हेरचाह गर्न भनेर आमा गाउँमा नै बस्नुहुन्थ्यो।
खेतीपाती अदियाँमा लगाएर जुन घरको सम्हार गर्न बस्नुभएकेा थियो त्यहि
घर नै ध्वस्त भएपछि अहिले आमा यही बस्नुहुन्छ। निरक्षर भएपनि गाउँमा हुँदा
घरको सरसफाई पछि फुर्सद हुने भएकोले आमा सामाजिक काममा धेरै सहभागी
हुनुहुन्थ्यो।
विभिन्न संस्था, समूहको समितिमा आमाको नाम हुन्थ्यो। प्रविधिको
सुविधाको कारण आमासँग हाम्रो दिनहुँ दुई तीन पटक फोन हुन्थ्यो। अलि
निडर र बोल्ने शैलीका कारण सामाजिक सहभागितामा अन्यले पनि
आमालाई रुचाउँथे। यताबाट हामी पनि आमालाई हौसला थप्ने काम गर्थ्यौ,
जसको फलस्वरूप अगाडि गएर आफ्नो दुई चार शब्द व्यक्त गर्नको लागि र उचित
ठाउँमा प्रश्न उठाउनको लागि आमा निर्धक्कले बोल्नुहुन्थ्यो। महिला
समूहकी अध्यक्ष भएको कारण समूहको काममा जिल्ला कार्यालय गोरखामा
गएर समूहको काम आफै गराएर आउनुहुन्थ्यो।
तर अक्षर नचिनेकै कारण बाहिर हिँड्दा कतिपय ठाउँमा भने पछुताउनु भएको छ।
कहिले काही हामी यहाँ सबै बसेर फुर्सदमा कुरा गर्दा भन्ने गर्थ्यौ, ‘हाम्री
आमाले पढ्नुभएकेा भए अहिले कुन स्थानमा पुग्नुहुन्थ्यो होला है?’
अहिले बुबाको दिनभरी फुर्सद आमालाई पनि दिन काट्न गाह्रो हुने भएकोले
समय बिताउनको लागि भएपनि बुबा आमालाई अक्षर चिनाउने काम गर्नुहुन्छ।
कलिलो उमेरमा मानसपटलमा छापिन नपाएका नेपाली वर्णहरु यो उमेरमा
छापिन कठिन हुनु स्वभाविक पनि हो। तर पनि सिक्ने र सिकाउने क्रममा
बुबाले सोधेको अक्षर चिन्न नसक्दा आमाले गाली खानुहुन्छ। जुन देखेर म थोरै
खुसी पनि हुन्छु, आमाले समयमा पढ्न नपाएको भित्री पीडा त म भित्र नि छँदै
छ तर यो उमेरमा पनि आमालाई पढ्ने चाहना लाग्नु अनि आफ्नै मान्छेबाट
सिक्ने मौका पनि पाउनु खुसी कै कुरा हो।
यही क्रममा एकदिन आमालाई बुबाले बाह्रखरी कठस्थ बनाउने गृहकार्य
दिनुभएको रहेछ, त्यसैले मीठो निन्द्रालाई वेवास्ता गरेर राती एक बजेसम्म
आमाले क, का, कि, की, कु, कू.....घेाकिरहनु भएको थियो।
म आमालाई पुलुक्क हेरेर कोल्टे फेरेँ अनि सोच्न थालेँ,‘धन्य भगवान् मेरी आमाले
समयमा अक्षर चिन्ने मौका नपाएपनि मैले आमाबाट हरसमय पढ्नुपर्छ भन्ने ज्ञान
पाएँ, यस्ती आमालाई नमन। यी अक्षरहरुसँग मैले पनि मेरी आमाले जस्तै दोस्ती
गर्न नपाएको भए म दृष्टि विनाको आँखा लिएर हिँड्न बाध्य हुने थिएँ होला।’
हुन त मेरै आमाको समयका महिलाहरु पनि सबै मेरी आमा जस्तै निरक्षर छैनन्
किनकी सबै ठाउँका व्यक्तिको सोचाई, परिवेश र रहनसहन एउटै हुँदैन।
अहिलेकै प्रविधिको युगमा पनि म भन्दा कति साना साना भाई बहिनी
देशको दुर्गम क्षेत्रमा छन्, जो शिक्षाबाट बञ्चित हुन बाध्य भईरहेका छन्
उनीहरुको भविष्य के कस्तो होला? कतिपय सुगम ठाउँमा भएर पनि चरम
गरिबीको कारण, कतिपय अभिभावक गुमाएको कारण पनि शिक्षाबाट
बञ्चित छन् भने कतिपय धनको मातले शिक्षाको महत्वलाई लत्याएर हिँडेका
पनि छन्, यिनीहरुको बेग्ला बेग्लै परिस्थितिले निम्त्याएको बिवशताले
भविष्यमा आउने चुनौती कस्तो होला? हुल्ला, जुम्लाको दुर्गम सरकारी
विद्यालयमा पढ्ने विद्यार्थी र सहरका निजी बोर्डिङमा पढ्ने विद्यार्थीले
अवसरका लागि भिड्नु पर्ने ठाउँ भने एउटै हुनाले पनि अक्षर चिनेर पनि बेरोजगार
भएर बस्नु पर्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ।
अनेक कुराहरु मनमा खेलिरहेकै थियो, उता आमाले लय हालेर पढ्नु भएको
बाह्रखरी गुञ्जिरहेकै छ। यतिकैमा आमाले एक दिन भन्नु भएको कुरा याद
आयो-म अमर न्यौपानेको करोडौँ कस्तुरी पढिरहेको थिएँ, बल्लबल्ल क देखि
ज्ञ सम्मको सिङ्गो अक्षर चिन्नुभएको मेरी आमा छेऊमै आउनु भयो र मैले पढेको
किताब नियालेर हेरेर भन्नुभयो ‘तिमारुले डिग्री पढेपनि त्यही क, ख, ग..त पढ्नी
रैछौ नि!’ आमाको कुरा सुनेर म अवाक भएँ, तुरुन्त फर्काउने जवाफ थिएन मसँग।
त्यही क, ख को ३६ अक्षरहरुको अगाडि पछाडि, दायाँ बाया, तलमाथि
दिएको धर्सा धुर्सी मिलेर कैयौँ ठेलीहरु बन्ने हो भन्ने कुरा एकै झट्कामा
आमालाई बुझाउने सामार्थ्य मसँग थिएन।
आमाको त्यही दिनको कुरा सम्झेर म थोरै मुस्कुराएँ, कैयौँ निरक्षर
जिन्दगीदेखि अत्यास पनि लाग्यो। आमा निरन्तर पढिरहनु भएकै थियो।
आमाको लययुक्त बाह्रखरीको धुनमा मिश्रित मेरो अनेकन कुराहरु मनमा
खेलाउँदा खेलाउँदै कतिखेर म निदाएँ अनि आमा कतिखेर सुत्नुभयो पत्तै भएन।

No comments:

Post a Comment