भाद्र १५, २०७२-
यसअघि उनी मनोज थिए, हाल मोनिका भएकी छिन् । आफ्नै राजीखुसीले उनी लिंग
परिवर्तन गरी ३२ वर्षीय मनोजबाट मोनिका भएकी हुन । कैलाली चुहा–लम्की
नगरपालिकाका मनोज साहीलाई बुबाआमाले छोराभन्दै स्थानीय प्रशासनबाट
नागरिकता दिलाएका थिए । पुरुषजस्तो देखिए पनि आनीबानी महिलाजस्तो भएकाले
नागरिकतामा पनि नाम परिर्वतन गरेको साहीले बताइन् । ‘अहिलेसम्म मनोज भएन बाँचें,
तर अहिले मेरो परिचय फेरिएको छ । जीवनभर मोनिका भएर बाँच्छु,’ नेपालगन्जमा पत्रकार
सम्मेलन गर्दै उनले भनिन् ।
मोनिका हुन उनले निकै ठूलो संघर्ष गर्नुपर्यो । लिंग परिवर्तनका लागि उनले जिल्ला
प्रशासन कार्यालय, कैलालीमा रिट दायर गरिन् । रिटमाथि सुनुवाइ गर्दै प्रशासनले
उनलाई अन्य लिंग भनेर नागरिकताको प्रतिलिपि दियो । २०५६ साउन २३ गते पुरुषको
नामबाट लिएको नागरिकता परित्याग गरी उनले २०६९ साल चैत महिनामा महिलाको
नामबाट नागरिकता लिइन् ।
नेपाली नागरिकताको प्रमाणपत्र लिनासाथ उनले राहदानी पनि मोनिकाकै नामबाट
पाएकी छिन् । ‘यसरी कसैले पनि राहदानी लिएका छैनन् । म नै पहिलो व्यक्ति हुँ,’
मोनिकाले भनिन् । उनले आफ्नो नाम गिनिज बुकमा लेखाउन चाहेको जानकारी दिइन् ।
‘म मोनिका आज छु भोलि नरहन सक्छु, तर एउटा नेपालीले पहिलो पटक अन्य लिंगबाट
राहदानी लिनु नै गर्वको कुरा हो । यसमा सवैले गर्व गर्नुपर्छ,’ मोनिकाको भनाइ छ ।
उनले समलिंगीबीच विवाह गर्न पाउने कानुन बनाउन सरकारसँग माग गरिन् । एक जना
युवासँग प्रेम बसेको बताउँदै मोनिकाले विवाह गर्न आफू आतुर रहेको बताइन् । ‘हामीकहाँ
कानुन छैन । त्यसैले विवाह गर्न नसकेको हो,’ उनले भनिन्, ‘कानुन बनेको भोलिपल्टै
समलिंगीसँग विवाह गर्छु ।’
सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै तेस्रोलिंगीलाई नागरिकता
दिन आदेश दिइसकेको छ, तर कार्यान्वयन भने भएको छैन ।
पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरी तेस्रोलिंगीको अवस्था र पीडा दर्दनाक
भएको बताउँछिन् । चौधरीका अनुसार, मध्यपश्चिम क्षेत्रमा ८ सय २५ भन्दा बढी तेस्रो
लिंगी छन् । ब्लु डायमण्ड सोसाइटीले देसभर ८ लाख ८६ हजार तेस्रो लिंगी भएको दावी
गरे पनि सरकारी तथ्यांकमा ५ लाख ६४ हजार भएको देखिन्छ । ‘सामाजिक एवं
पारिवारिक परिवेशका कारण धेरै तेस्रोलिंगी सार्वजनिक हुन सकिरहेका छैनन्,’ चौधरीले
भनिन्, ‘शिक्षित र सम्पन्न परिवारका तेस्रो लिंगी सार्वजनिक हुन सकेका छैनन् ।’
Second Menu
▼
No comments:
Post a Comment