Second Menu

क्रिश्चियाना


क्रिश्चियाना– यो एउटा यस्तो ठाउँ हो, जसका बारेमा थोर–बहुत जानेपछि केही नलेखी बस्नै नसक्ने भएँ ।
डेनमार्कको राजधानी कोपेनहेगनस्थित यो ठाउँ, संसारभर (नभए पनि कम्तीमा युरोपभरि) चाहिँ प्रख्यात छ । कुनै बेला आर्मी ब्यारेक रहेको यो ठाउँ पछिल्ला दिनहरूमा हिप्पीहरूको प्रख्यात हब बनेको छ । हिप्पीहरूको ‘ड्रिम ठाउँ’ भनिने क्रिश्चियानामै पुग्ने भनेर असंख्य पर्यटक आउँदा रहेछन् अन्यथा डेनमार्कसँग पयर्टनका लागि भनेर चिनाउने प्रख्यात ठाउँ कमै छन् ।
ठ्याक्कै हाम्रो भृकुटीमण्डपजस्तै र जत्रै ठाउँ । मुख्य इलाका प्रवेश गर्नेबित्तिकै फोटो खिच्न प्रतिबन्ध, जति खिच्नु त्यहीँसम्म खिचिँदो रहेछ । त्यहाँबाट सुरु हुन्छ, ‘ग्रिन लाइट डिस्ट्रिक्ट’ ।
भित्र छिरिसकेपछि देख्न थालियो रमझम । चारैतिर गाँजाको ह्वास्स गन्ध । पसल–पसलमा गाँजा र अन्य लागूऔषध बेच्न राखिँदो रहेछ । पसलेहरू मुखमा मास्क लाएर बस्दा रहेछन् । किन्नेहरू किनिरहेका छन् । कुन चीजको कति रेट, लेखिएकै हुन्छ ।
त्यहाँ किनेर छेउछाउका बेञ्च वा अन्य बस्ने ठाउँमा बसेर युवायुवतीहरू गाँजाको पफ उडाउँदै क्यान बियरको चुस्की लिइरहेका । त्यहाँ छिर्नेबित्तिकै एउटा नेपालीको पसल पनि रहेछ तर उनी चैँ कोल्ड ड्रिङ्क्स र खानेकुराको मात्र विक्रेता । केही परतिर एउटा सानो ताल थियो । निकै मनोरम त्यो तालवरपरको हरियो चौरमा असंख्य युवायुवती धूवाँ उडाउँदै थिए । त्यसकै उत्तरतिर एउटा ठिक्कको स्टेजजस्तो ठाउँ, जहाँ हरेकदिन कन्सर्ट हुँदो रहेछ ।
त्यही इलाकाभित्र अर्को एउटा यस्तो ठाउँ पनि थियो जहाँ जसले मन लाग्यो आफूले लगाइसकेका तर आवश्यक नभएको कपडा ल्याएर राख्दा रहेछन् भने जसलाई आवश्यक छ उसले टिपेर लाँदा रहेछ । दुई–तीन जना मान्छे त्यस्ता कपडा टिपिरहेका देखिए । सप्पै कुरा अद्भुत लागिरहेको थियो ।
अचम्म लाग्ने कुरा अर्को पनि थियो । डेनमार्कजस्तो व्यवस्थित र विकसित देश, जहाँ कानुनलाई खुब सम्मान गरिन्छ, त्यहाँ यस्तो खुल्लमखुल्ला लागू औषधको व्यापार किन ? यो प्रश्न जो–कसैको मनमा उढ्न सक्छ ।
कुरा के भने, सरकारले पनि त्यति (क्रिश्चियाना) इलाकामा त्यस्तो क्रियाकलापलाई छुट दिएको रहेछ । लागूऔषध किन–बेच, खाऊ– नखाऊ, त्यो त्यही इलाकामा मात्र सीमित थियो । त्यहाँ कानुन थिएन, प्रहरी प्रशासनले छुँदै नछुने ।
डेनिसहरू क्रिश्चियानाबिनाको कोपेनहेगनका बारेमा सोच्नै सक्दैनन् । हजारौँ, लाखौँ पर्यटक भित्र्याउने यस्तो हबप्रति उनीहरू गर्व गर्छन् । त्यसैले होला सरकारले पनि कुनै किसिमको हस्तक्षेप गर्न नसकेको ।
पेन्टर, बुद्धिजीवी, विद्यार्थी, व्यापारी, पत्रकार, कलाकार, संगीतकार सबैखाले मान्छे जाने उक्त ठाउँमा क्रिश्चियानीहरूले सरकारसँग निरपेक्ष रहेर आफ्नै नियम कानुन बनाएका छन् । त्यसैले त त्यहाँ न चोरी हुन्छ न झगडा । न लुटपाट हुन्छ न अरू नै कुनै किसिमको क्राइम । निश्चय पनि हामीलाई लाग्न सक्छ, त्यस्तोविघ्न ड्रगको कारोबार हुन सक्ने ठाउँमा झगडा, चोरी, कुटाकुट भैरहेको हुन सक्छ । अचम्मको कुरा, बरु बाहिरफेर केही भ्वाइलेन्स होला त्यहाँभित्र भने पूरै शान्त, पूरै अनुशासन । जेजति किनेर खानु छ, त्यहीँ भित्र खाऊ । बाहिर केही लान पाइँदैन । क्रिश्चियाना बाहिर लागू औषध प्रयोग गर्नुचाहिँ खतरनाक हुन्छ, गैर कानुनी हुन्छ ।
बरु यदि सरकारले त्यो ठाउँमा गएर हस्तक्षेप गरेर कानुन लगाउन खोजेको भए, लागूऔषध कोपेनहेगनको कुनाकाप्चामा फस्टाउँथ्यो होला । मानिसहरू एडिक्टेड भएर निस्कन्थे होला, थप विकृति मौलाउँथ्यो होला । अझ अपराध हुन्थ्यो होला, तर सरकार पनि चुप लागिदिएकाले त्यो सुव्यवस्थित भयो ।
यस्तै कुरा सोच्दै म क्रिश्चियानाबाट बाहिरिन लागेँ । बाहिरिने क्रममा एउटा बोर्डमा लेखिएको देखियो, ‘नाउ यू आर इन्टरिङ द युरोपियन युनियन’, अर्थात् तपाईं अब युरोपियन युनियनभित्र प्रवेश गर्दै हुनुहुन्छ । क्रिश्चियाना डेनमार्कको सिमानाभित्रै त थियो, भौगोलिक रूपमा युरोपियन युनियनमै पथ्र्यो, तर त्यति क्षेत्रलाई चाहिँ कुनै कानुनले छोएको थिएन । अलग प्रकारको ठाउँ थियो, त्यसैले होला उनीहरूले आफूलाई युरोपियन युनियनभन्दा बाहिर मानेका । उनीहरूले आफ्नै संसार बनाएका थिए ।

No comments:

Post a Comment