Second Menu

पद्म श्री पुरस्कार मान्ठा र लाटो पहाडलाई

भाद्र २५, २०७२- 
नेपाली साहित्यमा ठूलो रासीको पुरस्कार मध्ये एक मानिएको पद्मश्री पुरस्कार यसपटक ‘मान्ठा डराएको जुग’ र ‘लाटो पहाड’ लाई दिइने भएको छ । पुरस्कारको कूल रासी दुई लाख रुपैंया छ । पुरस्कृत कृतिहरुले एक एक लाख रुपैंया प्राप्त गर्नेछन् । 

पत्रकार मोहन मैनालीको पुस्तक ‘मान्ठा डराएको जुग’ माओवादीको १० वर्षे सशस्त्र युद्धका बेला दुर्गम भेगका नेपालीहरुले भोगेका त्रासदीपूर्ण अत्याचारको वर्णन गरेको छ । पत्रकार तथा डकुमेन्ट्री मेकरका रुपमा पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पुग्दा ती गाउँमा घाइते, मृतक र विभिन्न किसिमका पीडितहरुको बयानका आधारमा पुस्तक लेखिएको छ । ती स्थानका सुरक्षाकर्मी एवं माओवादी कार्यकर्ताको मनस्थिति पनि पुस्तकमा पढ्न पाइन्छ । २०७१ सालमा प्रकाशित पुस्तकमध्ये ‘मान्ठा डराएको जुग’ ले राम्रो प्रतिक्रिया पाएको थियो । स्मरण र रिर्पोताज शैलीमा लेखिएको उक्त पुस्तकका लेखक मैनालीले यसअघि ‘जोगीमाराका ज्यूँदाहरु’ डकुमेन्ट्री बनाएका थिए भने ‘उपल्लो थलो’ नामको पुस्तक पनि प्रकाशन गरेका थिए । खोज पत्रकारिता केन्द्रसँग सम्बन्धित मोहन मैनाली नेपालका गाउँ–गाउँ पुग्ने थोरै पत्रकारमध्ये पर्दछन् । 

पुरस्कृत अर्को कृति ‘लाटो पहाड’ पूर्वी नेपालको लिम्बु भाषा, संस्कृति र परिवेशमा आधारित छ । पूर्वी पहाडका सामान्य कथा र परिवेशलाई विशिष्ट रुपमा पस्किएको उक्त कृतिका दुई कथालाई नाट्य रुपान्तरण गरि शैली थियेटरमा मञ्चन गरिएको थियो । कृतिका लेखक उपेन्द्र सुब्बा हुन् । सुब्बा कविता एवं चलचित्र लेखनमा पनि कहलिएको नाम हो । 

पद्म श्री साहित्य पुरस्कार एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले आफ्ना आमा–बुवाको सम्झनामा स्थापना गरेका हुन् । उनी नेपाली साहित्यमा चासो राख्ने साहित्य शील्पी पनि हुन् । उक्त पुरस्कार यसअघि गणेश रसिकको ‘दशगजामा उभिएर, भानुभक्त पोखरेलको ‘हिमवत खण्ड’, ध्रुव सापकोटाको अकल्पनीय, अमर न्यौपानेको पानीको घाम, झमक घिमिरेको ‘काँडाकी फूल’, खगेन्द्र संग्रौलाको ‘आफ्नै आँखाको लयमा’ रविन्द्र समिरको ‘अर्जुन दृष्टि’, शारदा शर्माको ‘ताप’ ले पाएका थिए । 

No comments:

Post a Comment