पारिश्रमिक बढाउने नीतिमा लागे चल्तीका कलाकार
नायक अनमोल केसीले एउटा चलचित्रमा अभिनय गरेको १० लाख लिए भनेर खुबै चर्चा भयो । अनमोलले चलचित्र ‘गाजलु’का लागि १० लाखको लिएको चर्चा भयो । हुनत, नायक आर्यन सिग्देलले चलचित्र ‘धुवा यो नशा’मा ८ लाख लिएको चर्चा पनि नचलेको होइन । तर, जेहोस्, नेपाली चलचित्रका चल्तीका कलाकार आफ्नो पारिश्रमिकका कारण प्राय चर्चामा रहन्छन् ।
यो बर्ष भूकम्प र नाकाबन्दीका बाबजुत पनि नेपाली चलचित्रले गतिलै व्यापार गरेका छन् । निर्माताको हातमा १करोडदेखि ४ करोडसम्म परेको देखिन्छ । यसैले पनि यस्ता सफल चलचित्रका कलाकारले आफ्नो पारिश्रमिक ह्वात्तै बढाउने छनक देखाएका छन् ।
नायक आर्यन सिग्देलले आफ्नो ब्यानर भन्दा बाहेकका चलचित्रमा अब काम नगर्ने उद्घोष गरिसकेका छन् । उनी पनि अब, चलचित्र निर्माणबाट रकम कमाउने र बर्षमा कम चलचित्र खेल्ने सोचमा पुगेको देखिन्छ । बर्षमा आधा दर्जन भन्दा बढी चलचित्र खेलेर कलाकारले दर्शकलाई नै दिक्क बनाएको अवस्था थियो । अब, विस्तारै नेपालका स्टार कलाकारहरुले ब्रान्ड भ्यालु बनाउन लागेको देखिन्छ ।
नायक निखिल उप्रेतीले केही समय अगाडि आयोजित एक कार्यक्रममा आफूलाई एउटा निर्माताले २० लाख दिएको खण्डमा बर्षमा २ वटा मात्र चलचित्र खेल्ने बताएका थिए । निखिलले ४० लाख रुपैयाँले आफ्नो दैनिकी धानिने र स्टारडम पनि मेन्टेन हुने बताए । निखिलको यो कुराले के स्पष्ट गर्यो भने नेपालका कलाकार संझौतामा वाधिएर बर्षमा धेरै चलचित्र कम पारिश्रमिकका खेलिरहेका छन् । तर, उनीहरु आफूले भनेजस्तो पारिश्रमिक दिएको खण्डमा कम चलचित्र खेल्ने बताएका छन् ।
अब, यसरी नै पारिश्रमिक डिमाण्ड गर्ने नायकमा दयाहाङ राई पनि अगाडि आएका छन् । एकपछि अर्को हिट चलचित्र दिएर दर्शकको नजरमा परेका यी नायकले बर्षमा ३० लाख दिएको खण्डमा २ वटा मात्र चलचित्र खेल्ने बताएका छन् ।
दयाहाङले अनलाइनखबरसँग भने-‘ मेरो लक्ष्य बर्षमा २ वटा चलचित्र मात्र खेलौ भन्ने हो । कलाकारले यसरी डिमाण्ड गर्दा निर्माता-निर्देशकलाई पनि प्रेसर हुन्छ ।’ अहिले बर्षमा ६ वटासम्म चलचित्र खेलेका दयाले कुनै कलाकार वा प्राविधिकलाई उसको डिमाण्ड अनुसारको पारिश्रमिक दिने हो भने उसले दिलोज्यान दिएर काम गर्ने बताए ।
नेपाली कलाकारलाई पनि दर्शकले कुरेर चलचित्र हेर्ने वातावरण बनेको खण्डमा त्यसले निर्माता, निर्देशकलाई मात्र नभएर सिंगो चलचित्र क्षेत्रलाई नै फाइदा पुग्ने दयाको कथन छ । उनले हामीले यहाँ कम बजेट ल्याएर संझौता गरेर काम गरिरहेका छौ भन्दै अगाडि भने-‘धेरै कलाकार काठमाण्डौ बाहिरका छन् । जसलाई काठमाण्डौमा सामान्य रकमले बाँच्न गाह्रो छ । यसैले उनीहरुले मागेको पारिश्रमिक दिने हो भने कम चलचित्र खेल्न तयार हुन्छन् ।’
दयाले आफूले मागे अनुसारको पारिश्रमिक दिने हो भने एउटै चलचित्रमा पूर्ण समय दिएर काम गर्ने बताएका छन् । नेपाली चलचित्र क्षेत्रमा एउटै कलाकारको बर्षमा आधा दर्जन चलचित्र आउँदा दर्शकको ध्यान कम गएको देखिन्छ । तर, चर्चित नायकहरुले अब भने मागे अनुसारको पारिश्रमिक लिएर कम चलचित्रमा धेरै समय दिने सोच बनाउन थालेका छन् ।
No comments:
Post a Comment