Second Menu

पुरानो हुँदैन माया

आफू र आफन्तको घरभित्र नियाल्छु, कहिलेकाहीं त यस्तो लाग्छ, त्यो घर होइन, पुराना सामान भेला गर्ने कवाडकेन्द्र हो ! पुराना भाँडाकुँडा खाटमुनि कोचिएको छ । पोहोरका कपडा माउले खाइसक्यो, दराजमा लुकाइएको छ । पुराना सिरक र कम्बलहरूमा ढुसी परिसकेका छन्, तर न सदुपयोग हुन्छ न त कसैलाई दिइन्छ । केटाकेटीका पुराना स्कुल ड्रेस र ब्यागहरूको बजार नै छ । भर्‍याङमुनि उहिलेदेखिका जुताको बजार भेटिन्छ ।
ती जुत्ता रिसाइकल गरेर टोपी बनाउने पनि होइन । सिरक भेला गरेर झ्यालको पर्दा लगाउन पनि मिल्दैन । भाँडाकुडाका पर्खाल पनि बन्दैन । ज्याकेट, स्वेटरको छाना हाल्ने पनि होइन, तर पनि हामी किन बिरालाले दिशा लुकाएसरि पुराना सामान घरमा कोचेर राख्छौं । के त्यसको सदुपयोग गर्न सकिँदैन ? गजुरियल बिश्लेषण भन्छ, जबसम्म हामीभित्रको लोभको पर्खाल भत्कँदैन, तबसम्म हाम्रो घर घर नभएर पुराना सामान फाल्ने डम्पिङसाइट मात्र रहन्छ ।

हामी पार्टीका नाममा अन्न फ्याँकिरहेका छौं । स्वर्गका नाममा बोको काटिरहेका छौं । मृत आत्माको चिर शान्तिको कामना गर्दै प्रसाद बाँडिरहेका छौं, तर ज्यूँदा आत्माहरू भोकले छटपटाइरहेको टुलुटुलु हेरेर बसेका छौं । कपडा पोलिरहेका छौं । चामल डढाइरहेका छौं । प्रकृतिले दिएको अन्न खान र ख्वाउन हो, फाल्न र डढाउन होइन । खान पाउने र नपाउनेको बराबार प्राकृतिक अधिकार हुन्छ । जसले यो सत्य नबुझेर अन्न फाल्ने, राहत सामग्री लुकाउने, सहायता सामग्रीमा कमिसन खाने काम गर्छ, त्यसलाई प्रकृतिले नै नमीठो दण्ड दिन्छ भन्ने सत्य बुझ्नु जरुरी छ ।

हामी आफूलाई ठीक नभएका कपडा पनि बिरालोले आची लुकाएझैं लुकाइरहेका छौं । स्वर्ग जाँदा सँगै लान पाउने जस्तो गरी दराजमा खाँदेर राखेका छौं । हामीले गर्न जानेको भन्या एउटै हो, सरकारलाई गाली गर्ने, कि त सतिलाई सराप्ने ! गजुरियल विश्लेषण भन्छ, सकिन्छ, नयाँ सामग्री खरिद गरेर पीडितसम्म पुर्‍याउने । सकिंदैन भने आफूसँग भएका लत्ताकपडा र अत्यावश्यक सामग्री कुनै संस्थामार्फत पीडितसम्म पुर्‍याउने । एउटा सत्य कुरा थाहा पाइराखौं कि तपाईं–हामीलाई आवश्यक नभएका वस्तु अरू कसैका लागि अति उपयोगी हुन सक्छन् ।

भूकम्पपीडितहरू जाडोले कठ्याङ्ग्रिइरहेका छन् । चिसोले थलिँदैछन् । बिमारीले मरिरहेका छन् । एउटा न्यानो कपडा भए उनीहरूको जीवन बच्थ्यो । के यस्तो बेला हामीले ती सामग्रीको सदुपयोग गर्न सक्दैनौं ? अवश्य सक्छौं, तर त्यसका लागि हामीभित्रको लोभको पहाड भत्काएर प्रेम र करुणाको फूल रोप्न सक्नुपर्छ । स्मरण रहोस्, तपाईं–हामीले उपलब्ध गराउने सहयोग सामग्रीमा दयाको दुर्गन्ध होइन, प्रेमको सुगन्ध आउनुपर्छ ।

समाजसेवा भनेको ठूला–ठूला एनजीओ–आईएनजीओको काम मात्र होइन, तपाईं–हाम्रो सानो सहयोग पनि उत्कृष्ट समाजसेवा हुन सक्छ । बरु संघ–संस्थाले दिने सहायतामा के स्वार्थको गन्ध हुन सक्ला, तपाईंले व्यक्तिगत रूपमा गरेको सहयोगमा मानवताको सुगन्ध हुन्छ ।

ती पुराना स्वीटर उधारेर नयाँ बनाउने पनि होइन । ज्याकेटहरू भेला गरेर लिलामीमा बेच्ने योजना पनि छैन । सेकेन्ड ह्यान्ड सिरक सेल पनि गरिंदैन । डेट एक्सपायर डस्नाको बजार पनि थापिंदैन । पोहोर–परारका स्कुल ब्याग ‘हाफ दाम’मा बेच्ने पनि होइन । पाँच वर्षअघिका जुत्ता–चप्पल आघौं लगाउन पनि मिल्दैन । त्यसैले यो ज्यानमारा हिउँदमै ती सामग्रीको सदुपयोग गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

गजुरियल अनुरोध छ, आफ्ना ती सामग्री हाम्रै वरिपरि रहेका दाजुभाइलाई काम लाग्न सक्छन् । अलि परतिरका दिदी–बहिनीको जाडो छेक्ने माध्यम बन्न सक्छन् । त्यो भन्दा पर भूकम्पपीडितहरूको जीवन रक्षाको साधन बन्न सक्छन् । किन घरमा कुहाएर राख्ने भन्या !

No comments:

Post a Comment