Second Menu

उराठ जीन्दगीको आनन्दित धून

नुवाकोट–‘मुरलीको धुन सुन्नेका लागी जति प्रिय र आनन्दित छ, अन्धो भएर बाँच्ने जीन्दगी उति नै उराठलाग्दो हुनेरहेछ ।’ विदुर नगरपालिका–९ लामाटारका कृष्ण दमाई आफ्नो पीडा पोख्दै हरेकलाई यही भोगाई सुनाउँछन् र अरुका लागी सुरिलो मुरलीको धुनले आनन्दित त बनाउँछन् नै, भावुक पनि बनाउँछन् । उनी आँखा देख्दैनन् । तर उनले निकाल्ने मुरलीको सुरिलो धुनले भने धेरैको मन लोभ्याउँछ ।
त्यसैले त उनको जिविकोपार्जनको बाटो नै यही बनेको छ । लठ्ठीको सहारामा सदरमुकाम र आसपासका बजार अनि टोलटोलमा पुगेर गाउँलेलाई मुरलीको धुन सुनाउने उनै ५७ वर्षिय कृष्णको १५ वर्षको उमेरदेखि मुरली नै एकमात्र बाँच्ने आधार बनिरहेको छ ।
घरमा सम्पति त के, सहारा दिने पनि कोही नभएपनि उनले यही पेशालाई निरन्तरता दिन बाध्य छन् । वृद्ध अवस्थामा पुगिसकेका र त्यसमा पनि आँखा नदेख्ने कृष्ण जसलाई अरुको सहारा आवश्यक छ । तर, घरमा भएका ७९ वर्षिय वृद्ध बाबु र उनकी अपाङ्ग श्रीमती उनको आश्रय, भरोसा र सहारामा बााचिरहेका छन् । ‘जिउने सहारा यही मुरली भयो’ उनले भने ‘भाग्यले ठगेपनि बाँच्नै प¥यो’ । त्यसमाथी यसपालीको भूकम्पले उनको भएको छाप्रो पनि माटोमा मिलाइदिएपछि उनी घरवारबिहिन नै बनेका छन् ।
उनले मुरली बजाउन थालेपछि वरपरका इच्छा भएका मानिसहरुले केही पैसा दिन्छन् । ‘त्यसैबाट साँझविहानको छाक टरिरहेको छ’ कृष्णले भने । कहाँ बस्ने, कहाँ सुत्ने टुङगो हुँदैन । कहिले अरुका घरमा गएर शरण माग्ने गर्छन् त कहिले सडकमै बस्छन् ।
उनी परिवारका एक्ला छोरा हुन् । उनका दाजुभाई दिदीबहिनीको नाममा एक मात्र बहिनी छिन् । बहिनीको विवाहपछि बहिनी ज्वाईँलाई नै आफु र वृद्ध बाबुको स्याहारसुसारका लागी भनेर बसेका उनीहरुको कुनै भरथेग छैन । ‘कहाँ बस्छन्, कता हिँड्छन् र के गर्छन् कुनै ठेगान र अत्तोपत्तो नै छैन, कृष्ण गुनासो पोख्छन् । जायजेथाको नाममा सानो छाप्रो थियो भूकम्पले ढलेपछि बाँकी १२ आना पाखो जग्गा छ । ‘त्यही पनि बाँझै छ, बाली लगाएको नि छैन ।’ त्यही जायजेथा भएपनि गरिखान सक्ने अवस्था नभएपछि मुरली बजाएर जीवन गुजार्नुको विकल्प नभएको उनी बताउँछन् । विवाहित भएकाले उनले नै परिवार पाल्नुपर्ने र आफ्नो लागी साहारा दिने पनि कोही छैन । भाग्यवश जीवनसाथी पाएको बताउने उनको विवाह एक वर्षअघि बैशाखमा अन्तरजातिय विवाह गरेका थिए ।

चिनेजानेकाले तलाई काम गरेर पाल्छे विहे गर् भनेपछि कृष्णले बुधसिङ–४ की राधिका खड्कासँग विवाह गरेका हुन् । उनी पनि शारिरिक रुपमा अशक्त र अपाङ्गता भएकी छिन् । कसरी विहे गर्ने मौका जु¥यो त भन्ने जिज्ञासामा उनी भन्छन्. ‘म जस्तै भएर त भेट्टाको नी मैले, नत्र किन पाउँथेँ र म जस्तोले श्रीमती । उनले लज्जालु हाँसो दिँदै भने । श्रीमतीको सहारा पाएको भनुँ की के भनौँ, कृष्ण भन्छन् , उसले पनि राम्रोसँग खुट्टाले टेक्न सक्दिन, आँखा पनि देख्दिनन्, दिउँसो त अलिअलि देख्छिन्, घाम अस्ताएपछि बन्द हुन्छ । आफ्नो सहाराका लागी लिएर हिँडे पनि आफुले नै डो¥याउनु पर्ने बाध्यता रहेको कृष्ण दुःखेसो सुनाउँछन् । ‘न उसले मलाई डो¥या भन्नु कि मैले उसलाई ।’ भ्याएसम्म त्रिशूली, विदुर, हात्तिगौँडा र बट्टारसम्म पुग्छन् । बिन्ती विसाएपछि गाडीहरुले पनि उनीसँग भाडा लिँदैनन् । मुरली बजाएर हिँड्न पाउँदा सन्तुष्टि मिलेको कृष्ण सुनाउँछन् । ‘कोही कोहीले चामल र धेरैले पैसा दिएर सहयोग गर्छन्, त्यसैबाट जीवन धान्न सजिलो भएको छ ।’

अन्तरजातिय विवाह गरेका उनलाई गाउँकै केही व्यक्तिहरु र नगरपालिकाका वडा सचिवले सरकारले प्रोत्साहन भक्ता दिन्छ भनेपछि सबै प्रकृया पु¥याएर जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । श्रीमान् श्रीमतीको संयुक्त बैंक खाता खोलेको चेकबुक र अन्य सिफारिस सहित पुगेका उनलाई प्रमुख जिल्ला अधिकारीले उमेर ४० नाघेकोले पैसा आउँदैन भन्दै फिर्ता पठाइदिए । लगत्तै मलिन भएर पिरोलिँदै उनले भने–‘म जस्तो अन्धोले यतिसम्म सास्ती पाउनुप¥यो, नहुने कुरा पहिल्यै हुँदैन भनेको भए मेरो नभएको पैसा र दुःख खेर जाने त थिएन ।’
उनले सरकारबाट मासिक ३ सय रुपौयाँ भत्ता बुझ्ने गरेपनि त्यसबाट खान बस्न नपुगेको बताए । ‘दृष्टिविहीनलाई सरकारले बाच्ने आधार बनाइदिनुपर्छ’ उनको आग्रह छ ‘मैले भन्दा पनि धेरै दुःख पाएका दृष्टिविहीन पनि छन् उनीहरुको लागि सरकारले विचार गर्नुपर्छ ।’ आफु भने बाँचुन्जेल मुरली बजाएरै जीवन निर्वाह गर्ने कृष्ण बताउँछन् । उनी भन्छन् ‘मलाई यसमै आनन्द छ, अरु केही गर्न सक्दिन जीवनभरि नै मुरली बजाउँछु ।’

No comments:

Post a Comment