Second Menu

देश छाड्नेहरूको उदेकलाग्दो लर्को गएको मंसिर महिनामा श्रम विभागबाट ३८ हजार ३ सय ५० जनाले वैदेशिक रोजगारीका लागि ‘श्रम स्वीकृति’ लिए ।

देश छाड्नेहरूको उदेकलाग्दो लर्को
गएको मंसिर महिनामा श्रम विभागबाट ३८ हजार ३ सय ५० जनाले वैदेशिक रोजगारीका लागि ‘श्रम स्वीकृति’ लिए । सोही महिना शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाबाट अब्रोड स्टडीका नाममा ३ हजार १ सय २५ जना विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । यो तथ्यांकले देखाउँछ, कुनै न कुनै बहानामा नेपाली युवाहरू देश छाड्न लालायित छन् ।

अब अर्को पाटो हेरौं । नेपालमा करिब दर्जनजति विश्वविद्यालय छन् र तिनका मातहातमा सयौं शिक्षण संस्था छन् । यी शिक्षण संस्थाहरूमा छानीछानी कुनै पनि विषय अध्ययन गर्न सकिन्छ । यता, नेपालको श्रम बजारमा ठूलो संख्यामा जनशक्तिको अभाव छ । एक अनुमानअनुसार भूकम्पले ध्वस्त संरचनाको पुनर्निर्माणमा मात्र ३० लाख जनशक्तिको खाँचो पर्छ ।

यसको निष्कर्ष हो– शिक्षाको पर्याप्त अवसर हुँदाहँुदै ‘पढ्नका लागि’ र स्वदेशी श्रमबजारमा जनशक्तिको अभाव हुँदाहुदै पनि ‘कामको खोजीमा’ युवाहरू बिदेसिँदैछन् । किन यस्तो भैरहेको छ ?
यसलाई मिहिन रूपमा केलाउने हो भने नतिजा भयानक निस्कन्छ । पछिल्लो समय बिदेसिने प्रवृत्तिले ‘स्वदेशप्रतिको बढ्दो विकर्षण’लाई संकेत गर्छ । राजनीतिक अराजकता, अस्थिर सरकार, सुस्त विकास–निर्माण, बढ्दो महँगी, मौलाउँदो भ्रष्टाचार, इन्धन अभाव, लोडसेडिङजस्ता थुप्रै तत्त्वले युवाहरूमा आफ्नो मुलुकको स्थितिप्रति नै वितृष्णाभाव पैदा गरेको मनोविज्ञ कुरुणा कुँवरको विश्लेषण छ ।

मनोविज्ञ कुँवरको भनाइ र अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका अमर प्रसाईंको बुझाईमा समानता छ । मानवशास्त्रमा स्नातकोत्तर गरेर केही वर्षअघि अमेरिका भासिएका प्रसाईं भन्छन्– ‘हामी सुख खोज्दै यहाँ आएका होइनौं । जब देशभित्र आर्थिक असुरक्षा महसुस हुन्छ, तब बिदेसिनुपर्ने बाध्यता हुन्छ ।’ समाजशास्त्री विष्णु राई भन्छन्– ‘धेरैजसो आफ्नो भविष्य सुनिश्चित गर्न बिदेसिएको पाइन्छ, चाहे त्यो शारीरिक श्रम गर्ने होस् वा बौद्धिक ।’

मास्लोको एउटा सिद्धान्तले भन्छ– ‘मान्छेले हरेक तहमा सुरक्षाको प्रत्याभूति खोज्छ ।’ यसैलाई आधार मान्दै मनोविज्ञ कुँवर ‘असुरक्षाका कारण बिदेसिने क्रम बढेको’ निष्कर्ष निकाल्छिन् । आर्थिक तथा सामाजिक सुरक्षाको खोजी गर्दै नेपालीहरूले स्वदेश छाडिरहेको उनको भनाइ छ । मनोविज्ञ कुँवर भन्छिन्– ‘अहिलेको परिस्थितिले गर्दा नेपालमा केही हुँदैन भन्ने मनस्थिति प्रबल बन्दै गएको देखिन्छ ।’ विदेशको आकर्षणले तानेर भन्दा पनि देशको स्थितिप्रतिको वितृष्णाले धेरैजसो ‘विदेसिने मनस्थितिमा’ पुगेको पाइन्छन् ।

कुन समयमा कति युवा बिदेसिए भन्ने तथ्यांकहरूले कुँवरको भनाइलाई थप पुष्टि गर्छ । अंक गणितीय हिसाबले हेर्दा पनि माओवादी द्वन्द्व र त्यसयताको राजनीतिक उतारचढाव एवं सामाजिक विशृंखलताले धेरै नेपालीलाई विदेशतर्फ धकेलेको छ । मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण उत्पन्न संकटले पनि धेरैलाई बिदेसिन बाध्य तुल्याएको पाइन्छ ।

ठमेलमा व्यवसाय गरेर बस्ने ज्योति दाहाल भन्छिन्– ‘नाकाबन्दीले व्यापार चौपट भयो । अब नेपालमा बस्नुभन्दा विदेश जानु ठीक हुन्छ । कम्तीमा करियर त सुरक्षित हुन्छ ।’ ज्योति विद्यार्थी भिसामा चीन जाने तरर्खरमा छिन् ।

स्वदेश छाड्नुको पछाडि मूलत: दुई किसिमको प्रवृत्ति देखिने विज्ञहरूको भनाइ छ । पहिलो त विदेशको आकर्षणले तानेर र दोस्रोचाहिँ देशको स्थितिप्रतिको वितृष्णाले धकेलेर । धन–वैभव, सुख–सयल, उन्नत जीवनशैली, स्तरीय शिक्षा आदिको आकर्षणले कतिपयलाई स्वदेश छाड्ने हुटहुटी जाग्छ । त्यसैगरी कतिपयलाई चाहिँ गरिबी, दु:ख, असुरक्षा, अभावजस्ता कुराले धकेलेर विदेश पुर्‍याउँछ । अहिले बिदेसिनेहरूमा दोस्रो प्रवृत्ति बढी पाइएको छ ।

‘न रोजगारी छ, न अवसर छ । कुनै सिस्टम छैन । जता हेर्‍यो उतै लथालिंग छ,’ झापाका सञ्जीव प्रसाईं प्रश्न गर्छन्– ‘यहाँ बसेर के गर्नु ?’ सिनामंगलस्थित अल सेक्युर मेन पावर कम्पनीमा भेटिएका सञ्जीव दुबई जाने तयारीमा थिए । नेपालमा रोजगारीका लागि नेताहरूलाई गुहार्नुपर्ने, रोजगारी पाए पनि त्यसले जीवन धान्नै गाह्रो हुने, चकडी–चाप्लुसी गर्नुपर्ने जस्ता निष्कर्ष निकाल्दै सञ्जीव विदेशी श्रम बजारमा लम्कन लागेका हुन् ।

विद्यार्थी र श्रम भिसामा मात्र होइन, ‘भ्रमण भिसा’ एवं अन्य बहानामा बिदेसिनेहरूको लस्कर उत्तिकै उदेकलाग्दो छ । यो लस्करमा कर्मचारीदेखि कलाकारसम्म, चिकित्सकदेखि बिमान चालकसम्म छन् । मुलुकको दुरावस्थाले श्रमशक्ति र बौद्धिक जनशक्ति पलायनको होडबाजी चलेको छ । ‘भविष्यका कर्णधार’ भनिने विद्यार्थीहरू पढ्नका लागि विदेश पुग्ने र उतै बस्ने प्रवृत्ति उत्कर्षमा छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बराल ‘विदेश पढ्न जान चाहने विद्यार्थीहरूको चाप बढेको’ बताउँछन् । अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएको शिक्षा मन्त्रालय नो अब्जेक्सन लेटर विभागका प्रमुख प्रकाश महर्जनले बताए । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । उक्त आर्थिक वर्षमा अध्ययनका लागि विदेश जाने विद्यार्थीवाट राष्ट्र बैंकमार्फत सर्वाधिक रकम सटही भएको तथ्यांक छ । त्यस अवधिमा ११ अर्ब ८० करोड ९८ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटही भएको थियो ।

भूकम्प, नाकाबन्दीजस्ता कारणले ‘नेपालीहरूको प्रतिव्यक्ति आय घटेको तथा आर्थिक स्रोत कमजोर बनेको’ भन्दै विदेशले नेपाली विद्यार्थीलाई भिसा दिन कञ्जुस्याइँ गर्न थालेको छ । त्यसैले तुलनात्मक रूपमा भिसा प्राप्त गर्नेहरूको संख्या विगतमा भन्दा बढी छैन । अनौठो चाहिँ के छ भने यो अवस्थामा पनि विदेश जान चाहनेहरूको संख्या भने अनपेक्षित ढंगले बढेको छ । ‘विविध कारणले गर्दा भिसा प्रक्रिया कठिन हुँदै गएको छ,’ अध्यक्ष बराल भन्छन्– ‘तर त्यसको ठीक विपरीत विदेशमा पढ्न चाहने विद्यार्थीहरूको चाप बढेको छ ।’

म्यानपावरदेखि राजदूतावाससम्म लस्कर

केशरमहलस्थित शिक्षा मन्त्रालयको परिसरभित्रको छात्रवृत्ति शाखामा हेरौं वा त्यस बाहिरको राहदानी विभागमा पुगौं, तन्नेरीहरूको लामो लस्कर देखिन्छ । यिनीहरूको बाटो र गन्तव्य फरक भए पनि मनोदशा एउटै भेटिन्छ, स्वदेश छाड्ने ।

सहरी क्षेत्रका एजुकेसन कन्सल्टेन्सी, म्यानपावर कम्पनीमा दिनहुँ लाग्ने भीड र विभिन्न मुलुकका राजदूतावासको प्रांगणमा लामबद्ध ताँती देख्दा यस्तो लाग्छ, ठूलो संख्यामा युवापुस्ताले स्वदेश छाड्दैछन् । दिनहुँ औसत १ हजार ५ सय युवा ‘श्रम भिसा’ बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट बाहिरिन्छन् । यस्तै लस्करमा विद्यार्थी भिसा बोक्नेहरू पनि मिसिन आइपुग्छन् । एक तथ्यांक अनुसार हालसम्म करिब ३० लाख युवा बिदेसिइसकेका छन् । यसरी विभिन्न भिसा च्यापेर बिदेसिनेमध्ये कति स्वदेश फर्किए ? त्यसको तथ्यांक कसैसँग छैन । श्रम भिसामा मलेसियालगायत खाडी मुलुक जानेहरूमा पटक–पटक बिदेसिने प्रवृत्ति देखिन्छ । कतिपय उतै हराएका छन् । निश्चित अवधिका लागि पढ्न गएकाहरू पनि विदेश पुगेपछि नेपाल फर्कदैनन् । ‘कति फर्किए वा फर्किएनन् भन्ने कुनै जानकारी हुँदैन,’ इक्यानका अध्यक्ष बराल भन्छन्–‘त्यसको हिसाब–किताब कस्ले राख्ने ?’ अध्ययनका लागि विदेश पुग्ने र नफर्कने प्रवृत्ति भने बढिरहेको उनी स्वीकार गर्छन् ।

यता डाइभर्सिटी भिसा र अन्य प्रकियामार्फत अमेरिकालगायत तेस्रो विश्व पुग्न लालायितहरूको चाप पनि कम छैन । अरूको कुरा छाडौं, नेपाली समाजमा प्रतिष्ठा कमाएका, राम्रै आयआर्जन भएका, व्यापार–व्यवसाय चलाएकाहरूसमेत यसमा सामेल छन् । यसरी थुप्रै नेपाली कर्मचारी, साहित्यकार, पत्रकार, कलाकार तथा खेलाडीहरूले स्वदेश छाडेका छन् ।

केही समयअघि तत्कालीन प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी सेवामै रहेर पनि अमेरिकालगायतका ग्रिन कार्ड लिने कर्मचारीहरूको नामवाली सार्वजनिक गरेका थिए । त्यसमा सामान्यदेखि उच्च ओहदाका कर्मचारीहरूसमेत छन् ।

चरम वितृष्णा

माओवादी सशस्त्र द्वन्द्वको समाप्ती, गणतन्त्र स्थापना, संविधानसभाको निर्वाचनजस्ता राजनैतिक परिवर्तनहरूपछि मुलुकको गतिरोध क्रमश: अन्त्य हुँदै जानेछ र समृद्धिका पालुवाहरू पलाउनेछन् भनेर धेरैले आशा राखेका थिए । यद्यपि त्यस्तो भएन । राजनीतिक अराजकता झन्–झन् चर्कंदै गयो । अर्थतन्त्र थिलथिलो भयो । महँगी र अभावले आमनागरिकलाई थप आक्रान्त पार्दै लग्यो ।

No comments:

Post a Comment