‘तक्मे बुढा’ले बिपासा बसुसँगै बलिउड सिनेमा खेल्ने !

नाकाबन्दीका कारण नेपालमा हुन सकेन छायांकन

हास्य कलाकार विल्सनविक्रम राई अर्थात तक्मे बुढाका लागि अन्ततः बलिउडको सिने उद्योगको ढोका खुल्ने भएको छ । निकै छोटो समयमा नेपाली दर्शकमाझ स्थापित बन्न सफल राईले अन्ततः बलिउड डेब्यु गर्ने भएका छन् ।

बलिउडकी हट सुन्दरी नायिका विपशा वासुको साथमा रार्इसँगै सुनिल थापाले पनि अभिनय गर्नेछन् ।

बलिउड नायिका विपशा वासुको मुख्य भूमिका रहने चलचित्र ‘भाइ मस्ट वी क्रेजी’मा यी दुई कलाकार देखिन लागेका हुन् । चलचित्रको निर्देशन विनय शर्माले गर्दैछन् । यो चलचित्रमा पंकज कपुर डनको भूमिकामा देखिनेछन् । विपशाले जंगलमा डनलाई पछ्याउने बिषयमा चलचित्र बन्नेछ ।

चलचित्रमा आफ्नो भूमिकाको बारेमा दुबै कलाकारले खुलाउन चाहेनन् । चलचित्रको सम्पूर्ण छायांकन नेपालमा हुने कुरा थियो । तर, नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अब यसको छायांकन थाइल्याण्डमा हुनेछ । थाइल्याण्डमा करिब ४५ दिनको तालिका तय भैसकेको छ ।

सुनिल थापाले चलचित्रका लागि सम्झौता गरिसकेका छन् भने विल्सनले यो साता भित्र सम्झाैता गर्नेछन् । चलचित्रका निर्देशक विनय शर्मा नेपाल घुम्न र विल्सनसँग संझौता गर्न बिहीबारसम्म नेपाल आइपुग्ने बताइएको छ ।

चलचित्रमा ‘कमेडी नाइट्स विथ कपिल’मा आफ्नो अभिनयका कारण चर्चामा रहेका कलाकार सुनिल ग्रोवर पनि देखिनेछन् । उनले नायिका विपशा वासुलाई सघाउनेछन् । जनवरी २७ तारिखमा विल्सन र सुनिल थाइल्याण्ड जाने वुझिएको छ ।

सुनिल थापा बलिउडमा पनि परिचित नाम हो । ‘मेरी कोम’ चलचित्र मार्फत बलिउडमा कमब्याक गरेका थिए थापाले ।  तर, विल्सनका लागि यो चलचित्र बलिउड यात्राका लागि कोशेढुंगा हुनसक्छ । विल्सनले यसअघि पनि बलिउड चलचित्र खेल्ने चर्चा थियो । तर, विविध कारणले उनले चलचित्रमा काम गर्न सकेनन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects