Second Menu

अमेरिकामा साढे तीन महिना

रामकृष्ण ढकाल, गायक

मेरो यसपटकको अमेरिकाको सांंगीतिक यात्रा असाध्यै अविष्मरणीय रह्यो । करिब साढे तीन महिनाको अवधिमा मैले अमेरिकाका विभिन्न सहरमा आयोजना भएका दर्जनौं सांगीतिक कार्यक्रममा सहभागिता जनाएँ । सबै उमेरका नेपालीमाझ प्रस्तुत भएर आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्न पाउँदा सुगम संगीतलाई मन पराउने दर्शक तथा स्रोता अझै पनि उत्तिकै छन् भन्ने अनुभव गर्नेे मौका पाएँ ।

वास्तवमा म पछिल्लो छ महिना नै अमेरिका रहेँभन्दा पनि फरक पर्दैन । अमेरिकाको नर्थ क्यारोलिनामा सम्पन्न आन्मा तथा नासाको कार्यक्रममा ६ महिनाअघि सहभागिता जनाउन अमेरिका पुगेपछि करिब एक महिनाको लागि मात्र नेपाल पुगेर पुन: अमेरिका फर्किएको थिएँ । हङकङको एउटा कार्यक्रममा सहभागिता जनाउनु पर्ने भएकाले म नेपाल पुगेर त्यता गएको थिएँ । उक्त कार्यक्रममा सहभागिता जनाएर नेपाल गएपछि म पुन: अमेरिका पुगेको थिएँ ।

मेरो यस पटकको अमेरिका बसाइ सांंगीतिक जीवनकै सबैभन्दा व्यस्त समयमध्येको एक बन्न पुग्यो । यो अवधिमा मैले भन्डै ४० वटा कार्यक्रममा गीत–संगीत प्रस्तुत गर्ने मौका पाएँ । कम अवधिमा मैले यति धेरै कार्यक्रम कहिले पनि गरेको थिइन ।

अमेरिमा रहँदा मैले प्राय: न्युयोर्क तथा क्यालिफोर्नियालाई आधार बनाएँ । नासा र आन्माको विशाल कार्यक्रममार्फत मैले अमेरिकाको सांगीतिक भ्रमणको थालनी गरेको थिएँ । यही क्रममा भुटानी समुदायमा आयोजित आधादर्जन कार्यक्रममा प्रस्तुत भएँ । नेपालमै बसोबास गरेका भुटानी दाजुभाइहरुले नेपाली गीत–संगीतप्रति देखाएको आत्मियता शब्दमा वर्णन गर्न गाह्रो छ ।

यसपटकको भ्रमणमा क्यालिफोर्नियामा मात्र आधादर्जन कार्यक्रममा सहभागी भएँ । यसबाहेक सान फ्रान्सिस्को, सान डियागो तथा लस एञ्जलसमा पनि दुई दर्जन कार्यक्रममा प्रस्तुत भएँ । धेरैवटा सहरमा दोहोर्‍याएर पनि प्रस्तुत भएँ । लस एञ्जसमा त लगात पाँच वटा कार्यक्रममा प्रस्तुत हुनु पर्‍यो । त्यसक्रममा मैले ‘एक पटक सुनेर धित नै मरेन’ भन्ने नेपाली दर्शक पनि भेटें ।

प्राय: कार्यक्रममा मलाई साथ दिन तीन सयदेखि पाँच सय दर्शकको उपस्थिति हुन्थ्यो । कार्यक्रमको क्रममा कतिपय दर्शकहरुले मेरा पुराना गीतका एल्बम नै बोकेर आएको पनि भेटें । आशा, आश्रय जस्ता एल्बम बोकेर मलाई भेट्न आउनु हुने मेरा प्रसंसक भेट्दा म असाध्यै भावुकसमेत भएँ । इन्डियाना पोलिसको एउटा कार्यक्रममा एक जोडी मेरो गीत सुनेर आँखा भरी आँसु पारेको देख्दा म झन् भावुक भएको थिएँ ।

यसपटकको अमेरिका बसाइको क्रममा हिउँसँग पनि साक्षात्कार हुने मौका मिल्यो । हिउँको बाटो छिचोल्दै कार्यक्रममा जाँदाको रोमाञ्चकता बेग्लै थियो ।

यो अवधिमा मलाई अमेरिकामै बसोबास गर्ने थुप्रै नेपाली कलाकारहरुसंग पनि जमघट गर्ने अवसर जुर्‍यो । मेरा सहयात्री गायक यम बरालदेखि पुराना नायिका जल शाहसम्मको भेट अविष्मरणीय रह्यो । करिब साढे तीन महिना लामो सांगीतिक यात्राको क्रममा अमेरिकाका स्थानीय आयोजक तथा नेपाली दर्शकहरुले मप्रति देखाउनुभएको सद्भाव तथा माया जीवनभर अविष्मरणीय रहनेछ ।

No comments:

Post a Comment