- नीता ढुंगाना, नायिका
मलाई उसले बोलेको मन पर्छ । उसले गरेको स्याहार मन पर्छ । ऊ जतिबेला पनि रोमान्सको मुडमा आएको मन पर्छ । अरूसँग हुँदा पनि मेरो हात समातिरहेको मन पर्छ । उसको आँखामा देखिने मप्रतिको माया मन पर्छ । मेरो प्रेमीको मलाई हरेक कुरा मन पर्छ ।
चार वर्ष भयो मैले उसलाई प्रेमीका रूपमा पाएको । उसलाई पाएर म निकै खुसी छ । ऊ आफू त ऊर्जाशील छँदैछ, मलाई पनि ऊर्जाशील बनाइसकेको छ । म निराश भएका बेला विभिन्न क्रियाकलाप गरेर हँसाइरहन्छ । हामीले जोडी भएर अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ हेरेपछि दर्शकहरूले मेरो प्रेमीलाई अझ मन पराउनुहुनेछ भन्ने विश्वास छ ।
आमेश भण्डारी, मेरो प्रेमी । उसका मन नपरेका कुरा केही पनि छैनन् किनभने उसले मलाई मन नपर्ने कुनै पनि काम गरेको अहिलेसम्म थाहा छैन । उसको अनुहार जति निर्दोष देखिन्छ, त्यति नै उसको व्यवहारमा पनि कतै दोष देखिन्न । मलाई लाग्छ, मेरो प्रेमी जत्तिको प्रेमी संसारमै कसैको प्रेमी छैन ।
यदाकदा काम विशेषले हामी टाढा हुँदा पनि उसले मलाई आफू साथै भएको आभास दिन्छ । चार वर्षअघि चलचित्र ‘तँ, म र ऊ’ मा काम गर्दा उसको र मेरो चिनाजानी भएको हो । त्यही बेला उसका लागि मेरो मनमा प्रेमको टुसा पलाएको । उसको मनमा पनि मप्रति माया पलाएर झाँगिसकेको रहेछ । एक–अर्कालाई आ–आफ्नो प्रेम प्रकट गरे पनि बेकारको हल्लाबाट बच्न हामीले हाम्रो प्रेम सम्बन्ध लुकाएरै राख्यौं । चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ निर्माण हुने भएपछि मात्र हो दिनेश डिसी दाइको सल्लाहले हामीले आफ्नो प्रेमलाई जगसामु ल्याएको । ऊ मेरो प्रेमी मात्र होइन, मेरो सबैभन्दा असल मित्र पनि हो ।
No comments:
Post a Comment