पहिरन कुनै पनि व्यक्तिको व्यक्तित्वमा आकर्षण र प्रभाव थप्ने महत्वपूर्ण पाटो हो । विशेष अवसरमा पहिरनको छनौटमा समय, श्रम र पुँजी खर्च गर्न मानिसहरू उदार देखिन्छन् । भ्यालेन्टाइन डेको रोमान्टिक वातावरणमा आफ्नो व्यक्तित्वलाई विशेष रूपमा प्रस्तुत गर्न भ्यालेन्टाइन ड्रेस कोडको पनि विकास भैसकेको छ । यही प्रसंगमा नमुना कलेज अफ फेसन टेक्नोलजीमा पाँचौं सेमेस्टरमा अध्ययनरत ११ औं ब्याचका विद्यार्थी डिजाइनरहरू सरिला महर्जन, रविना कार्की, सुशीला कार्की तथा आरजु श्रेष्ठले केही भ्यालेन्टाइन पहिरनको कल्पना गरेका छन् ।
सरिला महर्जनको पहिरनशैली भ्यालेन्टाइन डेका अवसरमा आयोजना गरिने पार्टीका लागि लक्षित छ, जसमा रातो तथा नीलो रंगले प्रमुखता पाएको छ । फ्याब्रिकमा भने सिफन, तन्किने खालको फ्याब्रिक र भेल्भेटमा जोड दिइएको छ । खास गरी पियर शेप शारीरिक बनावट भएका युवतीप्रति लक्षित यो पहिरनको माथिल्लो भागमा सेमी बोट शेप नेकलाइन र डिप ओपन डिजाइन दिइएको छ र नेकलाइन हाईलाइट गर्न लेस प्रयोग गरिएको छ । पहिरनको तल्लो भागमा नीलो स्कर्टमा जियोमेट्रिक प्याटर्नमा सीक्वेन्स वर्कले आकर्षण थपिएको छ । पहिरनको आकर्षणका रूपमा पछाडि लामो फ्लेयर जोडिएको छ ।
रविना कार्कीको पहिरन भने बर्गन्डी रोज प्रिन्ट भएको हल्का गुलाफी रंगको फ्लर्टी प्लिटेड स्कर्ट छ । नीलेन्थ डिजाइनको यो पहिरनमा स्लीक स्ट्रेपलेस ह्वाइट टपको जोडा छ । यसका साथमा कालो छालाको ज्याकेटलाई चिसो मौसमको साथीका रूपमा प्रस्तुत गरिएको छ । यो शैलीका लागि डिजाइनर रविना कार्कीले नुड स्टीलेटो फुटवेयर पनि सिफारिस गरेकी छिन् । मेकअपमा आँखा र गालाका लागि मिनिमल मेकअप तथा लिपका लागि पिंक शेड चयन गर्नुपर्ने बताएकी छिन् । सुहाउँदो क्लचका साथमा पर्ल र मेटालिक गोल्ड इयररिङले पूर्णता दिएपछि यो ड्रेसकोड भ्यालेन्टाइन मुभी डेटका लागि उपयुक्त हुने डिजाइनर कार्कीको कथन छ ।
सुशीला कार्कीको पहिरन भने आवर ग्लास फिगर भएकाहरूप्रति लक्षित छ । यो पहिरन हाई वेस्टेड मिड काल्फ ट्रम्पेट हेम स्कर्ट हो । स्कर्ट सुहाउँदो टप भने टर्टल नेकलाइन भएको विशप कट् आउट स्लिभमा छ । फ्लर्टी डिटेलसहित ट्रान्सपरेन्ट मेस फ्याब्रिकमा यो टप पर्फेक्ट हुने डिजाइनर कार्कीले बताएकी छिन् । यो शैलीमा रिबन हुप इयर रिङ, एङ्कल स्ट्ेरप स्यान्डल र क्लचको जोडाले भ्यालेन्टाइन
डे स्टाइल स्टेटमेन्टलाई पूर्णता प्रदान गर्नेछ ।
आरजु श्रेष्ठको कल्पनामा भने रेड वा रेडिस पिंकमा लुज नेक ब्यान्डसहितको एसिमेट्रिकल वन् शोल्डर्ड ब्लाउज र भोल्युम भएको अम्ब्रेला स्कर्टको जोडा छ । स्कर्टका लागि ट्रेन्डी प्रिन्ट, इम्ब्रोइडरी वा सुहाउँदो अन्य स्टाइल अपनाउन सकिने डिजाइर आरजु बताउँछिन् । भ्यालेन्टाइन डे लुकलाई अझ बढी युनिक र सेक्सी बनाउन टोएंकल स्ट्रेप हिल्स वा ग्लिटरी पम्प सुज रोज्न सकिन्छ । यसमा मेकअपका लागि डिजाइनर श्रेष्ठले पिंक ब्लसर, विङ्ग्ड आइलाइनर तथा लस्टिङ रेड लिपस्टिक सिफारिस गरेकी छिन् ।
No comments:
Post a Comment