हरिवंश आचार्यसँग भेट्दा यस्तो लाग्दैन, उनी ‘लालपुर्जा’का सोझा तल्सिङ हुन्, न त ‘हरिबहादुर मदनवहादुर’का धूर्त हरिबहादुर नै । टेलिभिजन स्क्रिनमा देखिने चरित्रभन्दा पृथक् लाग्छन् यी जेन्टलमेन । मुखबाट फुत्त–फुत्त निस्कने हास्यरसयुक्त वाक्यांश सुन्दा लाग्छ– हरिवंश रोमान्टिक व्यक्ति हुन् । यद्यपि उनी उत्तिकै गम्भीर छन् अनि भावुक पनि । यस्तै विविधताको सग्लो रूप हुन्— हरिवंश ।
बिहान सबेरै उठ्नु, मर्निङवाक गर्नु, ग्रिन टी पिउनु, केही न केही लेख्नु हरिवंशका नियमित दिनचर्या हुन् । घडीले साढे पाँच बजेको अलार्म बजाएपछि सात घण्टा लामो निन्द्रासँग ‘ब्रेकअप’ हुन्छ, उनको । त्यति बेलासम्म पत्नी रमिलाले मनतातो पानी ल्याइसकेकी हुन्छिन् । २ कप मनतातो पानी घुट्क्याएसँगै हरिवंशको चलायमान दैनिकी प्रारम्भ हुन्छ ।
बिहान हल्का जगिङ गर्छन् । कहिले दौडँदै बालकोटबाट जडिबुटीसम्म फन्को लगाउँछन्, पत्नी रमिलासँगै । घरमा पुगेर १० मिनेटजति योग अनि स्ट्ेरच गर्छन् । त्यसपछि महयुक्त हट लेमनले घाँटी भिजाउँछन् । यही फुर्सदमा दैनिक अखबारमा सरसर्ती आँखा दौडाउँछन् । ‘वर्षौंदेखि एउटै अनुहार, उस्तै भाषण, फुस्रो आश्वसन पढ्दा–पढ्दा वाक्कदिक्क भैसकियो,’ हरिवंश भन्छन्– त्यसैले हेडलाइन हेरेरै अघाउँछु ।’
उनलाई छाला पोल्ने तातो पानीले नुहाउनुपर्छ । टाउकोमा लगाएको स्याम्पु सोहोरेर अनुहारमा दल्छन् र दार्ही–जुँगा खौरन्छन् । सफाचट भैसकेपछि केही न केही लेख्नैपर्छ । लेख्नका लागि भान्छासँगै जोडिएको बार्दली सहज लाग्छ । घामको न्यानोमा पलेंटी कसेर बस्छन् र दिमागमा फुरेको कुरालाई कापीमा उतार्छन् । अहिले उनी उपन्यास लेख्दैछन् । लेखनसँगै एउटा स्याउ र चार/पाँच कप ग्रिन टी पिउँछन् ।
कहिलेकाहीं लेख्ने विषय फुर्दैन । यस्तो बेला भान्छामा छिर्छन् । खसीको मासु तथा ढिँडो बनाउन उनलाई खुब जाँगर चल्छ । ‘मकै वा कोदाको पीठोलाई घोल्ने अनि त्यसमा एक चम्ची घिउ हालेर प्रेसर कुकुरमा पकाउनुपर्छ,’ उनी ढिँडोको रेसेपी सुनाउँछन्– ‘दुई सिटी लागेपछि मज्जाले मस्काउनुपर्छ ।’ उनको भान्छामा बढी पाक्ने खान्कीमध्ये एक हो यो । हरिवंश घरमा आएका पाहुनालाई आफ्नै हातले चिकेन छोयला बनाएर चखाउँछन् ।
उनी १२ बजेतिर खाना खान बस्छन् । खानामा साग अनिवार्य हुनुपर्छ । पत्नी रमिलाले बनाउने स्वादिलो तीलको छोप तथा गोलभेंडाको अचारले उनको मुख रसाउँछ । छोरा मोहितका लागि अक्सर कुखुराको मासु पकाउनुपर्छ । ‘मासु देखेपछि मुखमा थुक आइहाल्छ,’ हरिवंश भन्छन्– ‘त्यसैले एक–दुई टुक्रा खान्छु ।’
उनको दैनिकी निकै धपेडीमा बित्छ । आफ्नो व्यवसायिक कामबाहेक अनेक थरीका निम्तो पनि भ्याउनुपर्छ । विभिन्न कार्यक्रम उद्घाटनदेखि विवाहसम्मको निम्तो आउँछ । आफ्नो उपस्थिति जनाएर अरूको मन राखिदिनु त राम्रै हो, तर यो एकदमै अनुत्पादक लाग्छ । यस्तो अनुत्पादक र निरर्थक काममा सकेसम्म समय खर्च नगरौं भन्ने उनको ध्येय हो । ‘एउटा कार्यक्रममा भएभरका अतिथिलाई स्टेजमा बोलाउने, ती सबैले भाषण गर्नैपर्ने, ब्याच वितरण गर्नैपर्ने,’ हरिवंश भन्छन्– ‘यो सबै समयको बर्बादी हो, बरु ब्याचभन्दा एक–एकवटा प्याज बाँडे हुन्थ्यो ।’
दिनभरको व्यस्ततापछि थकित ज्यान लिएर महिन्द्राको स्कारपियोमा हुइँकिदै घर पुग्छन् र फ्रेस हुन्छन् अनि टेलिभिजन हेर्छन् । टेलिभिजनमा नेताको अनुहार हेर्दैनन्, बरु हिन्दी धारावाहिक ‘अशोका’ वा कपिल शर्माको कमेडी शो हेर्छन् । एकैछिन फेसबुकमा बिताउँछन्, नेपाली आख्यान पढ्छन् । उनलाई उपन्यास तथा आत्म–वृत्तान्त बढी रुचिकर लाग्छ ।
उनको भान्छामा बेलुकी हेभी खाना पाक्दैन । फ्रिजको रहलपहल खाना खान्छन् । फ्रिजमा बाँकी नभए कोदो वा फाफरको पीठोको घोल बनाएर रोटी पकाउँछन् । राति १० बजेपछि झ्याप्प निद्रा लाग्छ । यो समयमा उनले ओछ्यानमा पल्टनैपर्छ । ‘पाहुनाहरू आएका बेला राति अबेरसम्म नबसे हुन्थ्यो भन्ने लाग्छ,’ हरिवंश भन्छन्– ‘जानुहोस् भन्न नमिल्ने, कस्तो अप्ठ्यारो ।’
आचार्य अक्सर क्याजुअल पहिरनमा ठाँटिन्छन् । जिन्स उनलाई प्रिय लाग्छ । उछिट्टिएको भुँडी लुकाउन अलि लुज खालको ज्याकेट लगाउँछन् । यद्यपि गर्मीमा टिसर्ट मात्र लगाउछन् । त्यतिबेला साथीहरूले प्याच्च भनिहाल्छन्– ‘अहो † तपाईंको त कस्तो पेट लागेछ ।’ पहिरनमा कुनै आशक्ति छैन । न ब्रान्डको पछि नै लाग्छन् । सुटेट–बुटेट हुन पनि मन लाग्दैन । हरिवंश भन्छन्– ‘टाइ झुन्ड्याउँदा त आफू बाँधिएजस्तो लाग्छ ।’
पत्नी रमिलाले उनलाई पहिरनमा लापरवाही गर्न दिँन्नन् । हिँड्ने बेला उनैले रिंकल फ्री क्रिम दलिदिन्छिन् । यति भएपछि हरिवंशलाई केही चाहिँदैन । न केसमा जेल, न औंलामा औंठी, न घाँटीमा सिक्री । ग्याजेट्सप्रति उनको कुनै आशक्ति छैन । छोराले उपहार दिएको आइफोन–५ बोक्छन् । नाडीमा घडी बाँध्छन् ।
कहिलेकाहीं मुड रोमान्टिक बन्छ । त्यस्तो बेला दुई पेगसम्म स्कच पिउँछन् । त्यसमा थोरै चटनी भए पुग्छ । मासुजन्य स्न्याक्स खाँदैनन् । फुर्सदमा चलचित्र हेर्छन् । राम्रा चलचित्र हेर्न उनी हलसम्मै पुग्ने गरेका छन् ।
No comments:
Post a Comment