वर्षको सुरुमा आएको भूकम्पले सबै पक्ष प्रभावित भएपछि नेपाली खेलकुद मात्र अछुतो रहने कुरा भएन । भूकम्पकै कारण नेपाली खेलकुद लगभग ६ महिनाभन्दा बढी समय शून्यको जस्तै स्थितिमा रह्यो । भूकम्पमै परेर केही खेलाडीले ज्यान गुमाए । यस्तै कतिपय खेलाडीले भौतिक क्षति बेहोरे । भूकम्पकै कारण दशरथ रंगशालादेखि लिएर अरू प्रमुख खेल स्थल प्रभावित भए । खेल स्थलकै अभावमा धेरै प्रतियोगिता रद्द गरिए ।
भूकम्पपछिको नाकाबन्दीका कारण पनि धेरै प्रतियोगिता हुन सकेनन् । त्यस अर्थमा नेपाली खेलकुद वर्ष ०७२ मा सुस्त मात्र होइन मृतजस्तै देखियो । निर्धारित कार्यक्रमअनुसार अघि बढेको भए, यो वर्ष सातौं राष्ट्रिय खेलकुद सम्पन्न हुनुपर्ने थियो । पूर्वाञ्चलमा हुने भनिएको प्रतियोगिता एकपछि अर्को समयमा सर्दै गयो र अन्तत: ०७२ मा हुन सकेन । अब यसको आयोजना कहिले हुने हो, त्यो पनि तय छैन ।
धेरै खेल संघले आ–आफ्नो राष्ट्रिय खेलकुद गर्न सकेनन् । यसै कारण धेरै खेलाडी विदेशीन बाध्य भए । राष्ट्रिय स्तरकै खेलाडी पनि आफ्नो भविष्यका लागि कामको खोजीमा विदेशतिर लाएको पाइयो । यो वर्ष सबैभन्दा सक्रिय दुई खेल रहे– फुटबल र भलिबल । भूकम्पका कारण रोकिएको राष्ट्रिय लिगलाई पछि निरन्तरता दिइयो र त्यसको विजेता रह्यो, थ्री स्टार । थ्री स्टार १६ खेलबाट ३५ अंक बटुल्दै शीर्ष स्थानमा आयो ।
निर्णायक सावित अन्तिम दिनको खेलमा उसले मनाङ–मस्र्याङ्दीलाई हराएको थियो । यो हारले मनाङ तेस्रो स्थानमा झरेको थियो । आर्मी राष्ट्रिय लिगको उपविजेता रह्यो । वैशाख १२ मा भूकम्प आएकै दिन यू–१४ दक्षिण एसियाली गल्र्स फुटबल फेस्टिबलको फाइनल थियो, तर त्यो सम्भव भएन । त्यसको ६ महिनापछि भएको फाइनलमा बंगलादेशले नेपाललाई हरायो । राष्ट्रिय लिगपछि मोफसलमा एकपछि अर्को नकआउट फुटबल प्रतियोगिता भए ।
गोल्डकपका नाममा लगातार महोत्सवकै जस्तै फुटबल प्रतियोगिताहरू सञ्चालन गरिए । वर्ष ०७२ मै नेपाली फुटबलले अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई अस्वभाविक रूपमा गुमायो । थ्री–स्टार क्लबका पनि अध्यक्ष श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको थियो । उनको अभावमा नेपालमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टार आफ्ना पुरानो स्वरूपमा आउन सकेको छैन ।
उत्तिकै सक्रिय भलिबलमा यसपल्ट चम्किएको एक मात्र टिम रह्यो, सशस्त्र प्रहरीको एपीएफ । नेपाल भलिबल संघ आफैले प्रतियोगिता भने गर्न सकेन, तर निजी क्षेत्रले आधा दर्जन प्रतियोगिता सञ्चालन गरे, लगभग ती सबैमा एपीएफ नै विजेता भयो । बास्टेकलका धेरै प्रतियोगिता त भए, तर ती सबै स्कुल–क्याम्पसमै सीमित रहे र त्यसको प्रभाव फेरि एकपल्ट राष्ट्रिय स्तरमा पर्न सकेन ।
No comments:
Post a Comment