नयाँ वर्ष सधैं सकारात्मक ऊर्जा लिएर आउँछ । त्यसैले नयाँ वर्षलाई धूमधामका साथ मनाउने चलन संसारभर छ । गएको वर्ष नेपालीले नयाँ वर्षलाई गर्ने स्वागत पनि फरक थिएन । धेरैले रातभर नाचेर रमाइलो गरी नयाँ वर्ष मनाएका थिए भने केहीले जीवनमा नयाँ काम गर्ने संकल्प लिएका थिए । कतिपयको नयाँ घरजम बस्दै थियो भने कसैले नयाँ व्यवसाय प्रारम्भ गरेका थिए । शान्ति–सम्झौतापछि विदेशमा बसेका नेपालीहरू यतै फर्केर नयाँ जीवनको सुरुवात गरिरहेका थिए ।
यद्यपि सारा नेपालीको उक्त उत्साहमा तुसारापात हुन पुग्यो । वर्ष २०७२ का धेरैजसो दिन नेपालीहरूका लागि कष्टकर भए । दसौं वर्ष लामो हत्या–हिंसाका कारण आजित मानिसहरू बल्ल राम्रोसँग उभिन खोज्दै थिए उभिन नपाउँदै धेरै मानिस फेरि लड्न पुगे । वर्षको सुरुमै विनाशकारी भूकम्प गइदियो, जसले करिब ९ हजार व्यक्तिको ज्यान लियो भने त्यसको दोब्बर घाइते भए । करिब ५ लाख घर बस्न लायक भएनन्, जसले करिब २० लाख मानिसलाई घरबाहिर ल्याइदियो । भूकम्पको डरका कारण घर नभत्किए पनि लामो समय मानिसहरू घरभित्र बस्न–सुत्न सकेनन् । पटक–पटक ठूला–साना पराकम्प गएका कारण पनि महिला–बालबालिकाको डर कम हुन महिनौं लाग्यो ।
यही बेला जनताले सबैभन्दा बढी रुचाएका राजनीतिक दलहरू एक भएर संविधान जारी गरे । भूकम्पका बीच त्यो राम्रो संकेत थियो । आठ वर्षसम्म संविधान नबन्नुको पीडाले आजित मानिसलाई राजनीतिले केही सकारात्मक सन्देश दिएको थियो, तर संविधानमा मधेसको आवाज नसमेटिएको भनेर एकातर्फ विरोध सुरु भयो भने त्यही विरोधको आड लिएर भारतले नाकाबन्दी गरिदियो ।
खासमा संविधान आफ्नो सहमतिविपरीत आएको आक्रोश व्यक्त गर्न भारतले मधेस आन्दोलनलाई हतियार बनाएको थियो । सुरुमा भारतको साथ र सहयोग पाएको मधेस त्यतिबेला चकित भयो जब मधेस केन्द्रित नेताहरूलाई थाहै नदिई भारतले नाकाबन्दी खोल्यो ।
नाकाबन्दी खुले पनि वर्षको अन्त्यसम्म आमउपभोक्ताको दैनिकी सामान्य हुन सकेको छैन । काठमाडौंका सडकमा सार्वजनिक बसले अझैसम्म नियमित र सरल सेवा प्रदान गर्न सकेका छैनन् भने ग्याँसको अभाव कायमै छ । नाकाबन्दीका बीच घर–घरमा दाउरा र इन्डक्सन चुलो पुग्न महिनौं लाग्यो, जसले बजारमा एकाएक हाहाकारको स्थिति सिर्जना हुन पुग्यो । काठमाडौं मात्र होइन, पहाड र मधेसका जनता पनि नराम्रोसँग पीडित भए । इन्धनको अभाव र चर्को लोडसेडिङका कारण हजारौंले रोजगारी गुमाउनुपर्यो भने कालोबजारी र महँगीले देशमा सरकार नै नभएको महसुस गरायो । नाकाबन्दीअघिसम्म मिलेर सत्ता चलाएका राजनीतिक दलहरू फुटे । सामाजिक सद्भाव बिथोलियो । नागरिक समाजले पनि जनताको पक्षमा आवाज उठाउन सकेन । अरू बेला स–साना कुरामा आन्दोलन गर्ने विद्यार्थी संघठनहरू पनि यो बेला नेतृत्वविहीन हुन पुगे । कालोबजारी गर्नेहरूले लुट मच्चाए । काठमाडौंमा इन्धन र तराई–मधेसमा आन्दोलनका कारण विद्यालयहरू बन्द हुन पुगे । लाखौं विद्यार्थीको पठनपाठन रोकियो । भूकम्पको त्रासमा बाँचेका विद्यार्थीहरू छिमेकीले देखाएको हेपाहा व्यवहारका कारण निरीह बन्न पुगे ।
भूकम्पको असर
गएको वर्ष नेपालले बेहोरेको भूकम्प र नाकाबन्दीले चौतर्फी असर पारेको छ । ४–५ प्रतिशतको दरले बढिरहेको आर्थिक प्रगति यो वर्ष शून्य दशमलब ५ मा सीमित भएको छ । भूकम्पका कारण निर्माणाधीन केही जलविद्युत् योजनाको काम रोकियो भने र उत्पादन भैरहेको बिजलीमासमेत कटौती भयो । फलस्वरूप यो वर्ष लोडसेडिङ पनि बढेर गयो । ऊर्जा मन्त्रालयको रिपोर्टअनुसार भूकम्पका कारण ऊर्जामा मात्र १५ अर्ब रुपैयाँको क्षति भयो । भूकम्पका कारण माथिल्लो तामाकोसी, त्रिशूली थ्री ‘ए’ एवं कुलेखानी तेस्रो आयोजनाले ठूलो क्षति बेहोर्नुपर्यो ।
भूकम्पकै कारण विश्वका चर्चित मानिएका मन्दिर, दरबार, स्मारक एवं भवनहरूमा क्षति पुग्यो । विश्वसम्पदा सूचीमा परेका गोर्खा दरबार, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र हनुमान ढोका क्षेत्रलाई पनि असर पर्यो । नेपालीहरूले काठमाडौंमा सबैभन्दा पहिले देख्न पाउने धराहरा पनि यही भूकम्पले लडायो । त्यसबाहेक अनगिन्ती प्राचीन मठ–मन्दिर, पौवा र स्तम्भहरू ढले ।
यी सबैको मूल्यको आँकलन गर्न सकिएको छैन । यस्ता सम्पदालाई मूल्यमा परिवर्तन नसकिने भए पनि यी सम्पदालाई अर्बमा होइन, खर्बमा नाप्नुपर्ने विश्लेषण अर्थशास्त्रीहरूले गरेका छन् ।
भूकम्पले जन–धनमा क्षति मात्र पुर्याएन, मानसिक अवस्था पनि विकराल बन्यो । विशेषगरी महिला तथा बालबालिकाहरूमा लामो समयसम्म मानसिक समस्या देखा पर्यो । धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाए भने उनीहरूले मानिस आत्तिएको, रोएको र घाइते भएको प्रत्यक्ष आँखाले देखे । यसले उनीहरूको मानसिक अवस्थामा सुधार हुन वर्षौं लाग्ने आँकलन गरिएको छ । गर्भवती महिलाहरूको अवस्थाका बारेमा कुनै अध्ययन भएको छैन तर धेरैको गर्भ तुहिएको घटना बाहिर आएको छ । भूकम्प गएको पाँच महिनासम्म पनि यस्ता घटना सार्वजनिक भैरहेका थिए ।
भूकम्पका कारण पहाडी क्षेत्र चिरा–चिरा हुँदा धेरै स्थानमा सुख्खा पहिरो गयो । वैशाख
२९ मा गएको भूकम्पमा पहिरो जाँदा सिन्धुपाल्चोकमा गुडिरहेका गाडीमा ढुंगा बर्संदा ३ जनाको ज्यान गयो । गोर्खा क्षेत्रमा धजा फाटेर गाउँ नै असुरक्षित भयो । धेरै गाईवस्तु, जंगली जनावर मर्दा पहाडी क्षेत्र दूषित हुन पुग्यो । भूकम्पका कारण ५६ हजार पशु तथा केही हजार वन्यजन्तु मरेको तथ्याङ्क कृषि तथा वन मन्त्रालयले दिएका छन् । लामो समय यस्ता पशु एवं वन्य जन्तु बेवारिसे अवस्थामा रहँदा यसले वातावरणलाई ठूलो हानि पुग्यो भने किसानहरूको आर्थिक अवस्था पनि नाजुक भयो ।
भूकम्पका कारण नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको पर्यटन क्षेत्र थला पर्यो । हजारौं पर्यटकले भूकम्पपछि नेपालको यात्रा रद्द गरे । यसले पर्यटन क्षेत्रमा भैरहेको होटल निर्माण र लगानी विस्तारलाई रोकिदियो । त्यसो त विदेशबाट भूकम्पका प्राविधिक एवं सहयोगी हातहरू नआएका होइनन् तर हिजो रमाइलोका लागि आउने पर्यटकको तुलनामा सहयोग गर्न आउने पर्यटकको मुड फरक थियो । भूकम्पका कारण काठमाडौंमा भत्किएका संरचनाका कारण उडेको धूलो र फोहोरका कारण यो वर्ष राजधानी विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा पर्यो । यसलाई एसियाकै प्रदूषित राजधानीको नाम पनि दिइयो । यो समाचार संसारभरि पुगेका कारण यसको असर दीर्घकालसम्म पर्ने देखिन्छ ।
भूकम्पले अपार्टमेन्टमा बस्ने संस्कृतिलाई पनि असर गर्यो । काठमाडौंमा द्रुत गतिमा बढिरहेका अपार्टमेन्ट निर्माण भूकम्पपछि बन्द भएका छन् । जमिनको सीमितता र काठमाडौंमा थेग्नै नसक्ने जनसंख्यालाई टेको दिने एकमात्र विकल्प बन्दै गएको थियो अपार्टमेन्ट । अहिले अपार्टमेन्टमा लगानी रोकिएको छ र मानिस अग्लो घरमा बस्न पनि डराइरहेका छन् । फलस्वरूप अपार्टमेन्टमा लगानी भएको रकम अहिलेसम्म जोखिममै छ । काठमाडौंका करिब २० हजार घर पूर्ण वा आंशिक क्षति भएका कारण विद्यार्थी र डेरामा बस्ने लाखौं व्यक्तिलाई असर पर्यो । यसले गर्दा काठमाडौंमा डेराभाडा मात्र बढेन, धेरै युवाले काठमाडौं नै छाडे ।
No comments:
Post a Comment