Second Menu

अब नेपाली म्युजिक भिडियो अवार्ड

नेपाली म्युजिक भिडियो अवार्ड’ शीर्षकमा पहिलो पटक आयोजना हुन लागेको अवार्डमा पर्न सफल गीत–संगीत र कलाकारको नाम यसै साता सार्वजनिक गरिएको छ । जसमा सुव्रत आचार्यको निर्देशनमा नेपाललगायत हङकङ, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी र अमेरिकामा छायांकन भएको वी विल राइज फाउन्डेसनको अफिसियल म्युजिक भिडियो ‘हामी उठ्ने छौं’ ले उत्कृष्ट म्युजिक भिडियो (राष्ट्रिय भावना) विधामा नोमिनेसनमा परेको छ । रमण घिमिरेको रचनामा उदय सोताङ र मलिना सोताङको स्वर रहेको उक्त म्युजिक भिडियोबाट संगीतकार राजु सिंह पनि उत्कृष्ट संगीत विधामा नोमिनेसनमा परेका छन् । उत्कृष्ट म्युजिक भिडियो (राष्ट्रिय भावना) विधामा ‘हामी उठ्ने छौं’ म्युजिक भिडियोसँग भुपेन्द्र बिसी र माझी सरगमको ‘म मेरो देशको सिमाना’, ईश्वर श्रेष्ठ , प्रमोद खरेल र जुना प्रसार्इँको ‘जहाँ सुनका बाला’, प्रदीप दाहाल र सुमित खड्काको ‘पहिले हामी नेपाली’ तथा युगल पोमो लिम्बू र विजय पौडेलको ‘संविधान’ विच प्रतिस्पर्धा हुनेछ । यसैगरी उत्कृष्ट संगीत विधामा राजु सिंहसँग अर्जुन पोखरेल, हरि लम्साल, न्ह्यु बज्राचार्य र सुनिल मास्केको प्रतिस्पर्धा हुने भएको छ ।

अवार्ड म्युजिक भिडियोको भए पनि अवार्ड वितरणलाई तीन क्याटगोरीमा छुट्टयाइएको जुरी संयोजक भरत शाक्यले नोमिनेसन घोषणा कार्यक्रममा जानकारी गराए । तीन क्याटगोरीमा गीत–संगीत, म्युजिक भिडियो तथा विशेष म्युजिक भिडियो रहेका छन् । पहिलो क्याटगोरी गीत–संगीतमा गायक, गायिका, पपगायक, पपगायिका, गीत रचना, संगीत, संगीत संयोजन तथा लोकदोहोरी विधा रहेका छन् भने म्युजिक भिडियो क्याटगोरीमा म्युजिक भिडियो, निर्देशक, छायांकार, सम्पादक, अभिनेता, अभिनेत्री तथा नृत्य निर्देशक छन् । अनि विशेष क्याटगोरीमा विदेशमा बनाइएका म्युजिक भिडियो, राष्ट्रिय भाव भएको म्युजिक भिडियो र उदाउँदो प्रतिभा छन् । यस बाहेक ‘नेपाली म्युजिक भिडियो अवार्ड’मा म्युजिक भिडियो ट्रेण्डसेटर्स तथा बिशेष योगदानसम्मान पनि दिइने शाक्यले जानकारी गराए ।

पहिलो पटक हुने अवार्डका लागि करिब १ सय ५० वटा म्युजिक भिडियो दर्ता भएको बताइएको छ, जसमा गायन विधामा विश्व नेपाली, प्रमोद खरेल, रविन शर्मा, शिव परियार र युवराज चौंलागाइँ तथा गायिकामा आकांक्षा बस्याल, अञ्जु पन्त, मिलन अमात्य, निकिता थापा र रजिना रिमाल प्रतिस्पर्धा गर्दैछन् । म्युजिक भिडियो विधामा चाँही उत्कृष्ट म्युजिक भिडियोमा आशा अझै मरेको छैन बाट जीटुवान प्रोडक्सन, हरेक शब्दबाट भूषण दाहाल फिल्मस्, कुन फुल होलाबाट मल्टी मेट, दुई थोपा आँशुबाट कोर क्रियसन र ज्यानमाया तिमीलाईबाट एसजेड क्रियशन्स नोमिनेसनमा परेका छन् ।

म्युजिक भिडियो विधामा छायांकारमा धिरजजंग शाह, हरि हुमागाँइ, प्रनब जोशी, रामकुमार केसी र शिवराम श्रेष्ठ, सम्पादकमा भरत रेग्मी, जीवन थापा, निशान घिमिरे, प्रकाश तुलाधर र टेकेन्द्र शाहबीच प्रतिस्पर्धा हुँदैछ अनि कलाकारहरूमा अभिनेतातर्फ अनुपविक्रम शाही, पल शाह, श्याम अर्याल, संयक ताम्राकार र यशराज गराच, अभिनेत्रीमा बर्षा राउत, केकी अधिकारी, माला लिम्बू, मेनुका प्रधान र पूजा शर्मा नोमिनेशनमा परेका छन् । नृत्य निर्देशकहरूमा अनुपम श्रेष्ठ, गम्भिर बिष्ट, माइकल चन्द, प्रदिप श्रेष्ठ र शंकर बिसी छन् भने म्युजिक भिडियो निर्देशकहरूमा आशिफ शाह, विशाल भण्डारी, निकेश खड्का, सहेन्द्र श्रेष्ठ र समन अधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक संस्थाका प्रमुख मनोज केसीले संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिमार्फत आयोजना गरिने ‘नेपाली म्युजिक भिडियो अवार्ड’का १८ विधाका उत्कृष्ट पाँचमा नोमिनेशनमा परेका कलाकार तथा प्राविधिकहरूलाई चलचित्रकर्मी उद्धव पौडेलले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा म्युजिक भिडियो मोडल, निर्देशक, छायांकारदेखि विभिन्न विधाका कलाकर्मीको उपस्थिति थियो । अवार्ड कहिले र कहाँ आयोजना हुन्छ भन्ने जानकारी नदिए तापनि अध्यक्ष मनोज केसीले संभवत: विदेशमा हुने कुरा भैरहेको बताए ।

No comments:

Post a Comment