Second Menu

उपकारको रिले चित्रकला शुरु

जेष्ठ १७, २०७३- कलाकार उपकार घमालको ‘एक समय, एक चित्र, एक व्यक्ति’ रिले चित्रकला प्रदर्शनी सोमवारवाट प्रारम्भ भएको छ । घडीले एक बजाएको संकेतमा काठमाडौं उपत्यकाका तीनवटा घडी भएका स्थानमा उनको तीन दिने (तीन घण्टे) चित्रकला प्रदर्शनी भैरहेको छ । एक बजाउनु भनेको समयले अर्को प्रहर वा दिनको आरम्भ गर्नु हो । त्यसैले पनि उनी एक बजेको समयमा एउटा चित्र मात्रको सार्वजनिक रिले प्रदर्शनी गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिपार्टमेन्ट अफ फाइन आर्टस्बाट चित्रकलामा स्नातकोत्तर गरिरहेका कलाकार उपकार घमालले डिपार्टमेन्टका ग्यालरीमा हालै सम्पन्न सामूहिक चित्रकला प्रदर्शनीमा रिजेक्ट भएको एउटा चित्रलाई जेठ १७ गते, सोमबार  विश्वविद्यालयको घडी भएको भवन अगाडि १ बजेदेखि २ बजेसम्म सार्वजनिक प्रदर्शन गरेर चित्रकला प्रदर्शनीको थालनी गरे । एक घण्टा रहने प्रदर्शनी जेठ १८ गते, मंगलबार घण्टाघरको मूनि दिनको १ बजे हुनेछ । घण्टाघरलाई पृष्ठभूमीमा राखेर लडी रहेका दुई साँढे उक्त चित्रमा कलाकार घमालले कोरेका छन् । अनि जेठ १९ गते, बुधबार राजदरबार हत्याकाण्ड भएको दिनको सम्झनामा दिवंगत राजा विरेन्द्रको निधारमा गोली लागेको चित्र उनले माइतीघर मण्डलाको घडी सामुन्ने दिनको एक बजे एक घण्टा प्रदर्शन गर्ने छन् । फरक ढंगबाट चित्र प्रदर्शनी गरेर चर्चा पाउने भन्दा पनि आफ्नो हैसियतले ग्यालरीमा भन्दा आम मानिसको सामू यसरी प्रदर्शनी गर्दा आम व्यक्तिहरुबाट चित्रप्रतिको धारणा र विचार बुझ्न सहज हुने भएकाले प्रदर्शनीलाई फरक ढंगबाट गरिएको कलाकार घमालले बताए ।

No comments:

Post a Comment