पूर्वका किराँत बस्तीहरूमा साकेला उभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईहरूले धुमधामका साथ यो पर्व मनाउँछन् । ८ गते शनिबारदेखि औपचारिक रूपमा यो पर्व प्रारम्भ हुने किराँत राई यायोक्खा नगर समन्वय परिषद् कटारीका अध्यक्ष मनबहादुर राईले बताए ।
किराँत राईहरूको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरूका साथै धरान, ईटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौं आदि सहरमा यो पर्व धूमधामका साथ मनाइँदै आएको छ । उभौली पर्व वसन्तऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति फैलियोस्, दैवीप्रकोप तथा विपत्तिहरू नआऊन् भनेर कृषि युगदेखि नै मनाउन थालिएको बूढापाकाहरूको भनाइ छ ।
त्यसैगरी उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर सर्ने संकेत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइन्छ । प्रकृतिपूजक किराँत समुदायले नदी तथा खोलामा माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई उभौली भनेको पाइन्छ ।
भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् । उभौलीका अवसरमा सामूहिक रूपमा दु:ख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ ।
No comments:
Post a Comment