प्रधानमन्त्रीका अभिव्यक्तिहरूप्रति तपाईंको के प्रतिक्रिया छ ?

रमाइलो लागिरहेको छ, किनभने उहाँ देश समस्यामा परेका बेला जनतालाई हँसाएर टेन्सन घटाउन सफल हुनुभएको छ, तर प्रधानमन्त्रीजस्तो व्यक्ति हास्यकलाकार नभएकै राम्रो ।
नरेश भट्टराई, सञ्चारकर्मी

नेताको गफ न हो । जाबो बाटो बनाउन ५ वर्ष लगाउने देशमा ग्याँसको पाइप घर–घरमा ? पचाउनै गाह्रो भयो ।
विकास खतिवडा, फोटोग्राफर

उहाँले दिनुभएको अभिव्यक्ति हुन सक्ने कुरा हो, तर अभिव्यक्ति दिने तरिका र समय गलत भयो । वर्तमान समस्यालाई सम्बोधन गर्नुको साटो हावादारी कुरा गरेर जनताको पीडामाथि ठट्टा गरेजस्तो भयो ।
प्रदीपकुमार उदय, निर्माता

उहाँको अभिव्यक्ति सही हुँदाहुँदै पनि अहिलेको समय त्यस्ता अभिव्यक्तिका लागि सही भएन ।
दिनेश डिसी, निर्देशक

अहिलेको प्राय: सबै नेताको बोली हामीलाई व्यंग्य अनि चुट्किलाजस्तो लाग्छ । नेपालको विकास हुन इमान्दार र कर्तव्यनिष्ठ नेता जन्मनुपर्छ र देशलाई आत्मनिर्भर बनाउन सक्नुपर्छ ।
सन्तोष सापकोटा, इभेन्ट म्यानेजर

घरघरमा ग्याँसको पाइप पुर्‍याउने योजनाको म स्वागत गर्छु । नसकिने होइन, तर यसरी अभिव्यक्ति दिनुअघि सरकारले त्यसका लागि तयार गरेको पूर्वाधार पनि सार्वजनिक गर्न सक्नुपथ्र्यो ।
सौरभ थापा, गायक

प्रधानमन्त्रीले सिलिन्डर र चुलोबीचको ग्याँसको पाइपको कुरा गर्नुभए जस्तो लाग्यो । ग्याँस पाइप त सबैको घरमा छ, ग्याँस पो छैन त ।
पल्पसा डंगोल ‘चम्सुरी’

बीपीले शिलान्यास गरेको बाटो गिरिजाको पालामा बनेको थियो । ओलीले बोलेको कुरा पनि पछि पूरा होला नि ।
विकास आचार्य, निर्देशक

नामचाहिँ केपी ओली, कस्तो रै’छ यिनको बोली ?
प्रमुख हुन् सरकारको, तर दर्जा पाए हास्यकलाकारको ।
जनतालाई नबाँड झूटा सपना र आस,
तिमी हुनेछौ फेल, जनता होलान् पास ।
सन्तोष खनाल ‘फिल्मीकिरो’

प्रधानमन्त्रीले बोलेको कुरा, केही सोचेरै बोल्नुभएकै होला । जे–जस्ता कुरा बोल्नुभएको छ, त्यसले भूकम्प र नाकाबन्दीले आक्रान्त नेपालीहरूलाई मनोरञ्जन प्रदान गरेको छ ।
अर्जुन पोखरेल, संगीतकार

हरेक पटक फरक–फरक अभिव्यक्ति आउँछन्, कुन–कुनमा प्रतिक्रिया दिने ? जे–जस्ता अभिव्यक्ति आए पनि जनताको हितमा होस्— शुभकामना ।
प्रमोद खरेल, गायक

प्रमको असान्दर्भिक र अस्वभाविक कुरालाई मेरो गीत जस्तै ठुङ्दे, ठुङ्दे ।
चेतन सापकोटा, संगीतकार

हुनै नसक्ने कुरा होइन तर बोलेर मात्र भएन, काम पनि गर्नुपर्‍यो ।
कुञ्जना घिमिरे, ‘सुन्तली’

गफ दिएर हाँसोको पात्र हुनुभन्दा कामले जनताको मन जिते हुन्थ्यो ।
कालीप्रसाद बाँसकोटा, संगीतकार

सुन्दा रमाइलो छ, कार्यान्वयन हुने हो कि होइन भन्नेमा शंका छ । धेरै बोलेर थोरै गर्नुभन्दा थोरै बोलेर धेरै गर्नु राम्रो हुन्छ ।
जितु नेपाल, हास्यकलाकार

म उहाँका बारेमा नराम्रो कमेन्ट गर्दिनँ, कृपया मलाई फोर्स नगर्नुहोस् किनभने उहाँले संस्कृति मन्त्रालय फुटाएर मलाई कृति मन्त्री बनाउने वचन दिनुभएको छ ।
दीपकराज गिरी, हास्यकलाकार

उहाँको बोलिरहने बानी छ । उखान–टुक्कालाई ज्यादै माया गर्नुहुन्छ । हामी जनताले उहाँजस्तो रमाइलो प्रधानमन्त्री अहिलेसम्म पाएका थिएनौं । जनताले राहत महसुस गर्न पाउनु–नपाउनु आफ्नो ठाउँमा छ, तर हामीले पेट मिचिमिची हाँस्न त पाएका छौं ।
राम सिटौला, संगीतकार

जिम्मेवार पदमा रहेका व्यक्तिले यस्ता खालका कुरा गर्दा जनतामा के असर पर्छ भन्ने होस पनि नपुर्‍याउने प्रधानमन्त्री देखेर छक्क परेको छु । उखान–टुक्काले देश चल्दैन ।
सुनिल रावल, निर्माता

चुट्किला मन्त्रालयमा हुनुपर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइदिएकाले त्यस्तो भएको हो ।
ऋचा शर्मा, नायिका

यो हामी हास्यकलाकारहरूको पेसामाथि भएको ठूलो आक्रमण हो । हामी त्यसको घोर निन्दा गर्छांैं ।
सन्दीप क्षेत्री, हास्यकलाकार

प्रमका अभिव्यक्ति ‘ल जा त मैले भन्दिएँ’ भन्ने खालका छन् । मुख्य कुरा, देश र जनताले भोगिरहेको समस्याको सुनुवाइ खोइ ?
केदार श्रेष्ठ, नाट्यकर्मी

मैले संसारका सबैभन्दा गफाडी प्रधानमन्त्री भनेर गुगल सर्च गरेको त केपी ओलीको नाम पो आयो । अब म केही भन्ने अवस्थामा छैन

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects