दयाहाङ द हिरो
नेपाली रजतपटमा दयाहाङ राईको ‘इन्ट्री’ यति धमाकेदार रह्यो कि, दर्शकहरू हार्दिकताका साथ ताली पिटेको पिट्यै भए । त्यो ताली लुटदेखि कबड्डी–कबड्डीसम्म आइपुग्दा पनि थामिएको छैन ।
हिन्दी तथा अंग्रेजी चलचित्रमा रमेका तन्नेरी पुस्तालाई समेत दयाहाङको चुम्बकीय अभिनयले तानेको छ । उनको आगमनसँगै नेपाली चलचित्रमा स्थापित पुरातन मान्यताहरू पनि ध्वस्त भएका छन् । अब दर्शक चकलेटी वा सिक्स प्याकवाला हिरो होइन, चरित्रमा भिज्न सक्ने तथा स्वाभाविक अभिनय गर्ने अभिनेता खोज्न थालेका छन् । त्यस्तै अभिनेताको ‘रिक्त ठाउँ’ भरिदिएका छन्, दयाहाङले ।
यद्यपि व्यवसायिक जीवनको यो उचाइसम्म आइपुग्दा पनि यी वीरकाजीमा रत्तिभर दम्भ छैन, जुन कुरा उनको ‘अफ–स्क्रिन लाइफ’मा अनुभव गर्न सकिन्छ । उनको जीवनशैली चमकदमकपूर्ण छैन । लवाइ–ख्वाइ, हिँडाइ–बोलाइ सबैमा सादापन झल्कन्छ ।
ज्यानलाई सहज लाग्ने पहिरन लगाउनु, रायोको सागमा पकाइएको बंगुरको मासु खानु, सोशल ड्रामा शैलीका चलचित्र हेर्नु, तीन वर्षे छोरासँग जिस्कनु, यदाकदा जमघटमा भोड्का पिउनु उनका रुचिका विषय हुन् । त्यस बाहेक उनको दैनिकीसमेत चलचित्रको सेड्युलले डोर्याउँछ । कहिले घान्द्रुक त कहिले मुस्ताङ पुग्नुपर्ने, कहिले वीरकाजी त कहिले गोफ्लेको गेटअपमा प्रस्तुत हुनुपर्ने ।
बिहान उठ्ने नियमित तालिका छैन । रातभर सुटिङ गरेर सुतेका बेला उठ्ने टुंगो हुँदैन । सामान्य दिनमा उनी ६ देखि ७ बजेको बीचमा उठिसक्छन् । उठ्नासाथ एक लिटर पानी पिउँछन् । फ्रेस हुन केही समय लाग्छ । त्यसपछि कहिले छोरोसँग खेल्छन् त कहिले नजिकैको पसलमा पुगेर पत्रपत्रिका हेर्छन् ।
दैनिक अखवारको पहिलो पेजमा सर्सती आँखा डुलाएपछि मनोरञ्जन पेजमा पुग्छन् । ती पृष्ठमा प्रकाशित आफ्ना समाचार पढ्न भने उनलाई अलि लाज लाग्छ । त्यसो त आफूले अभिनय गरेको दृश्य हेर्दा पनि उनलाई त्यस्तै हुन्छ, सकेसम्म नहेरौं जस्तो लाग्छ । ‘आफैंले अभिनय गरेको फुटेज हेर्न अलि अप्ठ्यारो लाग्छ’ दयाहाङ भन्छन्– ‘तर, त्यसमा भएका कमी–कमजोरी सुधार्न पनि हेर्नैपर्ने बाध्यता छ ।’
बिहान दूधको चियाको तलतल लाग्छ । यद्यपि त्यसलाई उनले कटौती गरेर कालो चियामा जिब्रोलाई अभ्यस्त बनाएका छन् । राई १० बजेतिर खाना खान्छन् । खानामा अक्सर दाल, भात, तरकारी हुन्छ । केही छाकको अन्तरमा मासुको तलतल जाग्छ । उनको भान्सामा चिकेन वा रायोको सागमा बंगुरको मासु पाकिरहेको हुन्छ ।
‘मासु त खसीको पनि निकै स्वादिलो लाग्थ्यो’ दया भन्छन्– ‘तर, स्वास्थ्य र संस्कार दुवैले त्यसलाई कटौती गरेको छ । रेस्टुराँको मेनुमा पनि उनी मासुकै आइटम खोज्छन् । मासु बिनाको परिकार उनलाई खल्लो लाग्छ ।
जिब्रोले स्वाद खोजे पनि उनलाई पाककलामा भने उति रुचि छैन । त्यसैले भान्सामा छिरेर परिकार बनाउने कष्ट गर्दैनन् । ‘एक्लै भएका बेला त पकाउनै पर्यो,’ राई भन्छन्– ‘आफूले मात्र खाने भएपछि स्वादिलो भए नि भो, नभए पनि टेन्सन भएन ।’
त्यसो त उनलाई घरायसी काममा पनि लगाव छैन । लुगा धुन र भाँडा माझ्न जाँगर चले पनि लुगा मिलाउन वा कोठालाई व्यवस्थित गर्न आउँदैन । ओछ्यानमा असरल्ल छरिएका पुस्तकहरू समेट्न पनि अल्छी लाग्छ ।
उनलाई पहिरनमा पनि त्यस्तो आशक्ति छैन, सजिलो र सुहाउँदो भए पुग्छ । राई आफ्ना लागि चाहिने पहिरन आफैं खरिद गर्छन् । अरुले उपहारस्वरूप ल्याइदिएकोमा नाइनास्ती गर्दैनन् । प्राय: क्याजुअल पहिरनमा हिँड्न रुचाउने दयाहाङलाई काठमाडौंमा छदाँ आँखामा चस्मा ढल्काउन पनि लाज लाग्छ । फर्मल वेयरमा ठाँटिनु त सजाय दिए वरावर हुन्छ । सुटेट बुटेट हुन मन नलागेकाले नै कसैको विवाह, पार्टीमा जानु नपरे हुन्थ्यो जस्तो लाग्छ । उनलाई घडी, सिक्री, औंठी आदि लगाउन सबैभन्दा झन्झटिलो लाग्छ ।
सुटिङ नभएको समयमा उनको गन्तव्य हुन्छ– मण्डला थिएटर वा सिनेमा आर्ट । दुवैतिर पुग्न घरदेखि जम्मा ७ मिनेटको दूरी छिचोले पुग्छ । कतै आउजाउ गर्न उनी साथीको गाडी वा वाइकमा लिफ्ट माग्छन्, आफ्नो गाडी नभएकाले । उनलाई मोटरसाइकल चलाउन असाध्यै डर लाग्छ । गाडी भने कामचलाउ कुदाउँछ । ‘खै, साथीभाइबाट काम चलिरहेकाले होला’ दयाहाङ ठट्यौली शैलीमा भन्छन्– ‘गाडीको अभाव महसुस भएको छैन ।’ त्यसो त गाडीप्रति उनको उस्तो रुचि पनि छैन । नजिकै पुग्नुपर्ने भए, पैदलै पुग्छन् । अलि टाढा जानु परे कोहि न कोही लिफ्ट दिन हाजिर भैहाल्छन् ।
नयाँ प्रोजेक्टको छलफल, स्क्रिप्ट हेर्ने, नाटकको तयारी गर्ने जस्ता कामले उनलाई दिनभर बेर्फुसदिलो बनाउँछ । मण्डलामा प्राय: नाटकसम्बन्धी काममा व्यस्त हुन्छन् भने, सिनेमा आर्टमा चलचित्रको कामले व्यस्त हुन्छन् । त्यसबाहेक साथीभाइसँग भेटघाट, भलाकुसारी गर्दागर्दै दिन बित्छ । उनी साथीभाइको सम्पर्कबाट टाढा रहनै सक्दैनन् । ‘फोन स्विचअफ गरेर १० मिनेट पनि बस्न गार्हो हुन्छ’ दयाहाङ भन्छन् ।
दिनभरको काम सकेर घर फर्कंदा रातको ९ वा १० बजेको हुन्छ । आधा घण्टा जति बसेर फ्रेस भैसकेपछि उनी भरपेट खाना खान्छन् । ‘स्वास्थ्यका लागि’ भनेर उनले खानामा नियन्त्रण गरेका छैनन् । उनले अहिलेसम्म योग गर्ने वा फिटनेस क्लब धाउने काम पनि गरेका छैनन् ।
No comments:
Post a Comment