Second Menu

ह्याट्रिक हिरो- नवयुग श्रेष्ठ

ह्याट्रिक हिरो- नवयुग श्रेष्ठ
कहिंलेकाहीं जितिसकेको खेल हारिन्छ, हारिसकेको खेल जितिन्छ । यसरी निस्कने अनपेक्षित एवं नाटकीय नतिजालाई ‘भाग्यको खेल’ भनिन्छ । यद्यपि एकपछि अर्को गर्दै अविच्छिन्न रूपमा हात लाग्ने सु.खद परिणामहरूमा ‘भाग्य’ मात्र कारक हुँदैन । त्यसका पछाडि अथक मेहनत र प्रयास जोडिएर आउँछ । यस्तै भन्न सकिन्छ, नेपाली राष्ट्रिय टिमका फरवार्ड नवयुग श्रेष्ठको हकमा । उनले बंगबन्धु गोल्डकपमा जस्तै दक्षिण एसियाली खेलकुद (साग) मा दुर्लभ ‘ह्याट्रिक’को उपक्रम दोहोर्‍याए । यदि बंगबन्धु मैदानका परिदृश्य बाँकी खेलहरूमा नदेखिएको भए त्यो ह्याट्रिकलाई एउटा सुखद संयोग मान्न सकिन्थ्यो । यद्यपि त्यसपछिका खेलहरूमा अब्बल एवं अपराजित प्रदर्शन गर्दै नवयुगले आफ्नो विलक्षण क्षमता पुष्टि गरिदिए ।

साग खेलकुदको सेमिफाइनलमा उनले तेस्रो ह्याट्रिक गरे, अन्तर्राष्ट्रिय मैदानमा । निर्धारित अवधिसम्म बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा १ गोलले अग्रता लिइसकेको प्रतिद्वन्द्वी माल्दिभ्सलाई स्तब्ध पार्दै नवयुगले लगातार २ गोल थपे र चमत्कारिक ढंगले नतिजा उल्टाइदिए । ‘उक्त खेलमा केटाले गजब गर्‍यो,’ नवयुगका बुबा चन्दकेशर श्रेष्ठले हर्षित भावमा सुनाए—‘साह्रै खुसी छु ।’ उनले इलाम, मंगलबारेस्थित घरमै भारतीय च्यानलबाट छोराको ‘चमत्कार’ हेरेका थिए । यसअघि साग खेलकुदअन्तर्गत भुटानविरुद्धको खेलमा पनि नवयुगले दर्शकलाई ‘ह्याट्रिक’ को स्वाद चखाएका थिए ।

भारतसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका २५ वर्षीय नवयुगले छोटो अवधिमै यस्ता उपलब्धि हात पारे, जुन नेपाली फुटबलका निम्ति दुर्लभ थियो । उनले एकै चरणको साग खेलकुदमा दुई पटक ह्याट्रिक गर्नुका साथै अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने पाँचौं नेपाली खेलाडीमा आफ्नो नाम दर्ता गरे । बंगबन्धु गोल्डकपको सफलता पनि लामो प्रतीक्षापछिको प्रतिफल थियो । त्यसअघि २३ वर्षसम्म नेपाल अन्तर्राष्ट्रिय उपाधिविहीन अवस्थाबाट गुज्रिरहेको थियो ।

अन्तर्राष्ट्रिय खेलमा एक महिनाभित्र तीन ह्याट्रिक गर्नु आफैंमा अतुलनीय उपलब्धि भएको फुटबल समीक्षक सञ्जीव मिश्र बताउँछन् । ‘कुनै पनि खेलाडीले यस्तो सफलता विरलै पाउँछन्,’ मिश्र भन्छन्– ‘यो दुर्लभ किर्तिमान हो ।’ नवयुगले अन्तर्राष्ट्रिय खेलमा ३ ह्याट्रिकसहित ११ गोल गरेका छन् । मिश्रलाई लाग्छ, नवयुगको आगमनसँगै नेपाली फुटबलमा नयाँ युगको प्रारम्भ भएको छ । ‘लामो समयदेखि गोलको खडेरी थियो,’ मिश्र भन्छन्– ‘त्यो अभाव नवयुगले टारिदिएका छन् ।’ उनी खुट्टामा पाइसकेको बललाई राम्रोसँग फिनिसिङ गर्न सक्छन् । दुवै खुट्टा बराबर चलाउन सक्छन्, फास्ट खेल्छन् । स्कोरिङ पनि राम्रो छ । विपक्षीलाई दबाबमा राख्दै गोललाई तीव्र रूपमा अघि बढाउने खुबी छ । पेनाल्टी क्षेत्रमा बल खस्ने क्षणको अनुमान लगाउन सक्छन् । स्पोर्टिङ डिसिप्लिन छ । इलामका प्रशिक्षक दर्शन भक्तराज भन्छन्– ‘एउटा फरवार्डमा हुनुपर्ने सबै गुण छ ।’

नवयुगले आफ्नो लयलाई निरन्तरता दिएको अवस्थामा अहिलेसम्मकै उत्कृष्ट फरवार्डमा दरिने मिश्रको विश्लेषण छ । ‘उनलाई तीन/चार वर्षअघि नै राष्ट्रिय टिममा ल्याउनुपर्ने थियो,’ मिश्र भन्छन्– ‘यसमा हामीले गल्ती गर्‍यौं ।’

नवयुग राष्ट्रिय टिममा संयोगले आइपुगेका खेलाडी हुन् । म्याच फिक्सिङ काण्डले राष्ट्रिय टिममा खेलाडी अभाव भएपछि त्यही रिक्त ठाउँ भर्न उनलाई उपस्थित गराइएको थियो । यद्यपि यही अवसरको सदुपयोग गर्दै उनले आफूलाई फुटबल स्टारका रूपमा उभ्याए ।

राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा प्रवेश पाएका थिए, २०६८ सालमा । उक्त खेलमा नवयुगले सर्वाधिक १४ गोल गरेका थिए । अर्को वर्ष पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । आर्मी टिमबाट लिग खेलमा चम्किएपछि उनी प्रशिक्षकको नजरमा परेका थिए । विदेशी प्रशिक्षक प्याट्रिक ओसेम्सले राष्ट्रिय टिममा नवयुगलाई फरवार्डमा उतारे । सुरुवाती चरणमा उनको प्रदर्शन औसत रह्यो । भारतको पुणेमा सम्पन्न मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे पनि उनी त्यतिबेला वैकल्पिक खेलाडी थिए । उक्त खेलमा २५ मिनेट मैदानमा बिताएर पनि त्यसलाई उपलब्धिपूर्ण बनाउन सकेनन् । नवयुगलाई दुईवटा खेलमा अनिल गुरुङको प्रतिस्थापनमा मैदानमा उतारिएको थियो । बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु गोल्डकपबाट उनी अचानक नायक बनेका हुन् ।

इलामको मंगलबारेस्थित सामान्य ग्रामीण परिवारमा २५ वर्षअघि जन्मिएका हुन्, नवयुग । उनका बुबा स्थानीय सरकारी विद्यालयमा प्रावि शिक्षकका रूपमा कार्यरत छन्, आमा गृहिणी । मंगलबारेकै विद्यालयबाट प्लस टु गरिरहेका नवयुग २०६५ सालमा नेपाल आर्मीमा भर्ती भएका थिए । ‘आर्मीमा लागेर फुटबल खेल्न पाइने आशा थियो,’ नवयुगले साप्ताहिकसँगको कुराकानीमा सुनाएका थिए– ‘त्यही अनुसार म खेलतिर लागें ।’ नेपाल आर्मीबाट खेल्ने क्रममै नवयुगले राष्ट्रिय टिममा अवसर पाएका हुन् ।
त्यसो त उनले किशोरवयदेखि नै फुटबल यात्रा तय गरेका थिए । एन्फाले आयोजना गरेको १४ वर्षमुनिको राष्ट्रव्यापी जिविस फुटबल प्रतियोगितामा उनले इलामबाट खेलेका थिए, २०६१ र ६२ सालमा । दुवै वर्ष उनको टिमले शीर्ष उपाधि हात पारेको थियो । ‘निकै अनुशासित खेलाडी थिए,’ जिल्ला फुटवल संघ इलामका निरोज खड्की भन्छन्– ‘त्यही बेलादेखि उनले राम्रो गर्ने संकेत देखाइसकेका थिए ।’

No comments:

Post a Comment