Second Menu

अंग्रेजी घोकेर पढ्ने विषय होइन

महेश आचार्य, अंग्रेजी शिक्षक
कोटेदेवी पब्लिक स्कुल, कोटेश्वर

सामुदायिक मात्र होइन, निजी विद्यालयका विद्यार्थीहरूका लागिसमेत अंग्रेजी जटिल विषय मानिन्छ ।
अंग्रेजीलाई ठूलो बोझ नै हो भनेर व्याख्या गर्ने चलन पनि छ । कक्षा ९ र १० का विद्यार्थीलाई विगत १६ वर्षदेखि अंग्रेजी विषय पढाउने क्रममा मैले अधिकांश विद्यार्थीले यसलाई ‘हाउगुजी’कै रूपमा लिएको पाएको छु । थोरै विद्यार्थी मात्र यस्ता भेटिए, जसले यो विषय पढ्दा आनन्द मान्ने मात्र नभै मौलिक सिर्जनासमेत गरेर उत्कृष्ट अंक ल्याएका छन् । ती विद्यार्थीमध्ये कतिपय अहिले स्वदेश तथा विदेशका चर्चित शिक्षालयहरूमा अध्यापनसमेत गराइरहेका छन् । ती विद्यार्थीले कूटनीतिक तथा दातृ निकायहरूमा जागिर पाएका छन् । यो ठूलो सफलता हो । अंग्रेजी विश्वव्यापी विषय भएकाले एसएलसी तयारी गरिरहेका विद्यार्थीहरूका लागि परीक्षामा उत्तीर्ण गर्न मात्र नभै जीवन उपयोगी बनाउने अभिप्रायले समेत यो विषयको तयारी गर्नुपर्छ ।

विशेषत: यो विषयको प्रश्नपत्र हल गर्दा मौलिकतालाई प्राथमिकता दिनुपर्छ । पाठ्यक्रम भित्रबाट सोधिने प्रश्नहरू धेरै अंकका हुँदैनन् । सहायक सामग्रीहरू संकलन गरेर निरन्तर लेख्ने अभ्यास गर्नुपर्छ । विगतमा सोधिएका प्रश्नहरू संकलन गर्ने र समय तालिकाअनुसार पढ्ने बानी बसाल्नुपर्छ । दैनिक डेढ घन्टा अंग्रेजीलाई छुट्याउनुपर्छ । नोटकपी सुरुदेखि नै मेन्टेन गरेर राख्नुपर्छ । नमुना उत्तर लेखेर नियमित रूपमा आफ्ना विषय शिक्षकलाई देखाउनुपर्छ । हरेक प्रश्नको समयअनुसार अभ्यास परीक्षा दिइरहनुपर्छ ।

मौलिक लेखन शैली विकास गर्न निरन्तर लेखनअभ्यास, अध्ययन एवं लेखन कुशलताको आवश्यकता पर्छ । यसका लागि दैनिक केही न केही लेखिरहनुपर्छ । व्याकरणको सन्दर्भमा यसको जति धेरै अभ्यास गर्‍यो त्यति नै राम्रो हुन्छ तर अभ्यास गर्नुअघि सम्बन्धित नियमहरू राम्रोसँग बुझ्नुपर्छ । यो विषयको पाठ्यक्रममा घोक्ने विषय केही हँुदैनन् । अध्ययन गर्ने र अन्य पाठ्य सामग्री संकलन गरेर पढ्नुपर्छ । पत्रपत्रिका र इन्टरनेटबाट बढीभन्दा बढी सहायता लिन सक्नुपर्छ । घोक्ने कतिपय विद्यार्थीले कम अंक ल्याउँछन् र घोकेको कुराले धोका दिँदा अनुत्तीर्ण भएका उदाहरण पनि छन् ।

परीक्षामा उत्तर लेख्नुअघि प्रश्न राम्रोसँग बुझ्नुपर्छ । उत्तर लेख्दा मुख्य कुरालाई प्राथमिकता दिँदै छोटो र सफा अक्षरमा लेख्नुपर्छ । उत्तर लेख्दा मुख्य कुरालाई सकेसम्म बुँदागत रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ । हरेक प्रश्नको उत्तर लेखिसकेपछि थोरै खाली ठाउँ छाड्ने र फेरि अर्को प्रश्नको उत्तर लेख्न थाल्नुपर्छ ।

अंग्रेजीमा विषयगत रुपमा कविताबाट ५ अंक र पाठबाट १० अंकको अनुच्छेद सोधिन्छ । व्याकरण पाठ्यक्रमबाटै आउँछ भन्ने छैन । अन्य धेरै प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाटै सोधिन्छ । कुनै पनि प्रश्नको उत्तर यतिनै लामो हुनुपर्छ भन्ने छैन तर मुख्य कुरा छुट्नु हुँदैन । बरु अनावश्यक कुरा थुपारेर उत्तर लामो बनायो भने समयको अभाव हुनुका साथै परीक्षकको मानसिकतामा समेत नकारात्मकता उत्पन्न गर्छ जसले गर्दा राम्रो अंक प्राप्त गर्न सकिँदैन ।

यो विषयमा स्वतन्त्र लेखन एवं सामाजिक शिक्षामा समसामयिक कुराको महत्व हुन्छ । हरेक दिन पत्रपत्रिका तथा समाचार हेर्नुपर्छ । एसएलसी परीक्षाभन्दा तीन महिना अघिसम्मको समसामयिक कुराको जानकारी र टिपोट राख्नुपर्छ । त्यस्तो टिपोट पटक–पटक पढ्दै र लेख्दै जानुपर्छ । अक्षर लेख्दा जति सफा, प्रस्ट र भाषागत शुद्धता कायम राख्न सकियो त्यति नै बढी अंक पाइन्छ । यो वर्षदेखि ग्रेडिङ प्रणाली लागू भएकाले उत्तीर्ण भैहालिन्छ नि भन्ने मान्यता राखेको भए त्यागिहाल्नु उचित हुन्छ । उच्च अंक प्राप्त गर्ने अभिलाषा राखेर अध्ययन गर्नुपर्छ । अब परीक्षाका लागि धेरै समय बाँकी छैन । त्यसैले निरन्तर मौलिक लेखनको अभ्यास गर्नुपर्छ । सिर्जनाशक्तिको विकास गर्दै जानुपर्छ । नेपालको समसामयिक घटनाक्रम जस्तो नयाँ संविधानको महत्व, राजनैतिक दलहरूको भूमिका, छिमेकी देशहरूसँगको सम्बन्ध, खेलकुद, पर्यटन, चाडपर्व, बदलिँदो जीवनशैली तथा इन्टरनेटप्रतिको क्रेज आदि बढीभन्दा बढी विषयको अध्ययन गरेर मौलिक लेखनको अभ्यास गर्नुपर्छ भने सँगसँगै व्याकरणको अभ्यास निरन्तर गरिरहनुपर्छ ।

No comments:

Post a Comment