Second Menu

स्कुले जीवनको अन्तिम होली

होलीले मलाई मेरो ठाउँ नवलपरासी सम्झाउँछ । बाल्यकालदेखि गायिकाका रूपमा चर्चा नकमाउन्जेल मैले अधिकांश चाडपर्व नवलपरासीमै मनाएँ । गायिका भएपछि व्यस्त भएर अहिले यदकदा फुर्सद भएको बेला विशेष चाडपर्व मनाउन नवलपरासी पुगेकै हुन्छु । त्यसमा होली पनि पर्छ, तर नवलपरासीमा होली नमनाएको धेरै समय बितिसकेको छ । यसपटक समय मिल्यो भने घर पुग्ने र होली धूमधामसँग मनाउने विचार त गरेकी छु, हेरौं के हुन्छ ।

नवलपरासीको होलीमा मटका फुटाउने प्रतिस्पर्धा हेर्न साहै्र रमाइलो हुन्छ । विभिन्न समूह बनाएर आएका युवाहरूबीच बिच बजारमा झुन्डयाइएको मटका फुटाउने प्रतिस्पर्धा हुन्छ । जित्नेले नगद पुरस्कार पाउँछन् । एक जनामाथि अर्को उक्लेर पिरामिड बनाई मटका फुटाएको हेर्दा हिन्दी चलचित्रमा नायकहरूले मटका फुटाएजस्तो लाग्छ । होलीमा नवलपरासीमा हुने त्यस्तो प्रतिस्पर्धा अन्यत्र पनि हुन्छ, तर नवलपरासी आफ्नै ठाउँ भएकाले साथीहरूसँग मटका फुटाउने प्रतिस्पर्धा धेरै पटक हेरियो । नवलपरासीको होली मलाई मनपर्ने अर्को एउटा कारण पनि छ, त्यहाँ पानीभन्दा रंग बढी खेलिन्छ ।
पानी खेल्दा सञ्चो नहुने डर हुन्छ, त्यसैले मलाई होलीमा रंगकै प्रयोग मन पर्छ । आखिर होली भनेकै रंगहरूको पर्व हो ।

होलीका पुराना अनुभवहरूको कुरा गर्दा १० कक्षाको होली म कहिल्यै बिर्सन्न । एसएलसीपछि हामी स्कुले साथीहरू आ–आफ्नो बाटो लाग्दै थियौं । एसएलसी उत्तीर्ण भएपछि स्कुलमा साथीहरूसँग छुट्टिनु स्वाभाविक थियो । हामीलाई नजिक आइरहेको एसएलसी परीक्षाभन्दा पनि छुट्टिनु पर्ने कुराले तर्साइरहेको थियो । त्यही बेला होली आयो, सम्भवत: विद्यालय जीवनको अन्तिम होली । दिनभरि मैले घरपरिवार र छिमेकीहरूसँग होली खेलेँ । साँझ पर्न लागेकाले नुहाएर सफासुग्घर भै घरको छतमा बसेकी थिएँ । अनायास मम्मीले तल मेरा साथीहरू आएको कुरा सुनाउनु भयो । म त फेरि कसले रंग लगाइदिन आयो भनेर तर्सिएँ । बिस्तारै बार्दलीबाट चिहाएर हेरेँ । स्कुलका साथीहरू हूल बाँधी अनुहारभरि रंग दलेर चिन्दै नचिनिने भएर आएका रहेछन् । उनीहरू एसएलसीपछि अर्को वर्ष टाढिने भएकाले स्कुले जीवनको अन्तिम होली खेल्दै मेरो घरमा आएका रहेछन् । नुहाएर सुकिलो भए पनि म उनीहरूको सामु पुगेँ । मलाई सुकिलो देख्नेबित्तिकै उनीहरूले मलाई पनि आफु जस्तै रंगीन बनाइदिएँ । निकै रमाइलो भयो, मैले फेरी उनीहरूसँग धूमधामले होली खेलेँ । मेरो त्यो स्कुले जीवनको अन्तिम होली अहिले पनि सम्झनामा आइरहन्छ ।

No comments:

Post a Comment