Second Menu

पित्तलको पिचकारी र अबिरको लोला

सबैलाई आफ्नै बाल्यकाल प्यारो लाग्छ । हरेकले सोच्छ, मेरै बालापन सबैभन्दा राम्रो । म पनि त्यस्तै सोच्छु । तैपनि होलीका विषयमा हामीले जे भोग्यौं, जसरी रमाइलो गर्‍यौं, ती परिस्थिति र घटनाहरू सम्भवत: नयाँ पुस्ताले देख्न पाउँदैन । होली त पहिले पनि खेलिन्थ्यो, अहिले पनि खेलिन्छ । होली खेल्ने कुरामा कुनै परिवर्तन आएको छैन तर, जसरी खेलिन्थ्यो त्योचाहिँ नयाँ पुस्ताका लागि रमाइलो हुनसक्छ ।

यतिबेला म ४ वर्षदेखि ८ वर्षको सम्झना गर्दैछु । यस अर्थमा यो करिब ६० वर्षअघिको घटना हो । त्यसपछि म ५० वर्षअघिको घटना पनि बताउला तर अलि पछि । सुरुमा त ६० वर्षअघि मेरो बालपन बितेको वीरगन्जलाई नै सम्झिऊँ ।

म वीरगन्जमै जन्मिएँ, हुर्किएँ र पढेँ । एसएलसीपछि काठमाडौं नआउन्जेलसम्म वीरगन्जमा मैले जुन शैलीले बिताएँ, त्यो धेरै पुस्तकमा वर्णित छ । कुनै पनि पात्रको बाल्यकालको वर्णन गर्नुपर्‍यो भने म सिधैं वीरगन्ज पुगिहाल्छु । कतिपय कुरा जस्ताको तस्तै राख्छु कतिपय कथामा नयाँ लेपन लगाउँछु तैपनि वीरगन्ज र बालपन मेरा एकअर्काका साथी हुन् ।

प्रसंग होलीको हो । त्यतिबेला वीरगन्जमा होलीलाई होरी भनिन्थ्यो । शिवरात्रिमा भाङ खाने चलन थियो तर त्यो एक दिन मात्र । त्यसपछि भाङ बनाउने सरसामान थन्क्याइन्थ्यो र एकैपटक होलीका दिन निकालिन्थ्यो । एकाबिहानै मज्जाले उम्लिएको दूधमा चिनी, भाङ अनि केही मरमसला हालेर फेरि उमालिन्थ्यो । सक्नेले २०–५० लिटर दूधमा यसरी भाङ पकाउँथे । नसक्नेले आफ्नो गच्छेअनुसार थोरै पनि बनाउँथे । हामीले तिहारमा सेल बनाए जस्तो सबैजसो घरमा यसरी भाङको दुधिलो सरबत बन्थ्यो । उक्त सरबतमा छोगडा, किसमिस, बदामजस्ता ड्राइफुट पनि मिसाइएका हुन्थे । केटाकेटीहरूलाई भाङ खान मनाही थियो । त्यसैले उनीहरूका लागि सरबतको छेउमा यस्तै ड्राइफुड पनि राखिन्थ्यो । होरी खेल्न आउने ठूलालाई यही सरबत ख्वाइन्थ्यो भने सानालाई ड्राइफुट दिइन्थ्यो ।

समूह बनाएर होली खेल्दै ठूला–बडा अघि लाग्थे । हामी केटाकेटी उनीहरूका पछि लाग्थ्यौं । धनीमानीको हातमा पित्तलको पिचकारी हुन्थ्यो जसले पित्तलको पिचकारी बोकेको छ, ऊ धनीमानी हो भन्ने बुझ्नुपथ्र्याे । यस्ता पिचकारीलाई ५ रुपैयाँसम्म पथ्र्याे । आजको मूल्य गणना गर्दा एक हजारभन्दा माथि पर्छ कि ? सामान्य मानिसले टिनका पिचकारी किन्थे जसको मूल्य एक सुका अर्थात् २५ पैसा जति पथ्र्याे होला । कहाँ एक सुका, कहाँ ५ रुपैयाँ, यसरी दुवैको स्तर छुट्टिन्थ्यो । तैपनि जसले जस्तोसुकै पिचकारी बोकेको होस्, समूह एउटै हुन्थ्यो । भेदभाव भएको मैले कहिल्यै देखिनँ ।

बडो भद्र हुन्थ्यो त्यतिबेलाको होरी । त्यो कसरी भने विधवा अथवा मुस्लिम समुदायका व्यक्तिलाई होरीको रंग लगाइँदैनथ्यो अनि बरखी बारेकाहरूलाई कसैले पनि जबरजस्ती गर्दैनथ्यो । कसैलाई होरी खेल्न मन लागेन भने उसले मैले बरखी बारेको छु भनेपछि पुगिहाल्थ्यो । होरी खेल्न नचाहनेहरूले पनि कहिलेकाहीँ यस्तो बाहना बनाउँथे । यसरी ठगी गरिएको भन्ने थाहा भयो भने उसको खैरियत हुँदैनथ्यो । उसलाई मोबिल अथवा तेलमा रंग मिसाएर असाध्यै गाढा रंग लगाइन्थ्यो । त्यसैले कसैले हत्तपत्त झुटो बोल्ने हिम्मत पनि गर्दैनथे ।

आजभोलि बढीभन्दा बढी मानिसलाई दु:ख दिने, अरूको दु:ख हेरेर रमाइलो गर्ने चलन छ भने त्यतिबेला अरूलाई मूर्ख बनाउने चलन थियो । केही समयपछि यसले संस्थागत रूपनै लियो र महामूर्ख प्रतियोगिता पनि हुन थाले । हाम्रो पालामा ती कार्यक्रमहरू व्यवस्थित भैसकेका थिएनन् । त्यसको प्रारम्भिक रूप भने वीरगन्जभर देख्न पाइन्थ्यो ।

महामूर्ख बनाउन टायरलाई सर्प आकारमा काटिन्थ्यो । त्यसपछि त्यो टायरलाई सर्पको रंग झै रंग्याइन्थ्यो । गर्मी सुरु भएकाले त्यो बेला सर्प निस्कन थाल्थे । मान्छे सचेत हुने यही बेलामा त्यो टायरको सर्प कसैको भान्सामा, कसैको ओच्छ्यानमा, कसैको गोठ र कसैको पधेँरा वा इनारको कुनामा राखिन्थ्यो । अँ, धेरैजसो अँध्यारो कुना खोजिन्थ्यो । उनीहरूलाई कहीँ कतै त्यो टायर हो भन्ने भान पर्न नदिन सकेसम्म प्रयास गरिन्थ्यो । जब कुनै व्यक्ति एक सुरमा केही गरिहन्थ्यो, अचानक त्यो सर्प निस्कन्थ्यो । जो मान्छे जति डरायो, त्यो वर्षको मूर्ख त्यही हुन्थ्यो । त्यतिबेला वीरगन्ज सहर आजको जस्तो भव्य भैसकेको थिएन । सानो ठाउँमा साँझसम्ममा सबैको समाचार सबैले थाहा पाइहाल्थे ।

मूर्ख बनाउने अर्को विधि थियो, पैसा । एक वा पाँचको नोट (त्यति बेला दुई रुपैयाँको नोट राष्ट्र बैंकले चलाएको थिएन ।) लाई सियोले छेडेर कालो धागोले बाँधिन्थ्यो । त्यो लामो कालो धागो लिएर एक दुई युवा छलिएर बस्थे । मुख्य सडकमा त्यो पैसा छाडिन्थ्यो र त्यसको लगाम आफूहरूले लिन्थे । जब त्यो सडक हुँदै कुनै मान्छे हिँड्थ्यो, उसको अघि अचानक पैसा देख्दा उसको शरीर र अनुहार मज्जाले परिवर्तन हुन्थ्यो । ऊ यताउता हेरेर त्यो पैसा टपक्क टिप्न खोज्थ्यो तर ऊ निहुरिनुअघि नै त्यो पैसा अलि वर तानिन्थ्यो । फेरि टिप्ने प्रयास गर्दा पैसा अझै वर सथ्र्याे । जो मानिस जति पटक झुक्किन्छ, त्यो त्यति नै मूर्ख हुन्थ्यो । अन्त्यमा लुकेर बसेका युवाहरू बाहिर निस्किएर उसलाई जिस्क्याउने काम गर्थे ।

सहरभर उमेरअनुसार विभिन्न ग्रुप हुन्थे । एकथरी ठूला बडा, अर्को थरी २५ नाघेका युवा, एक थरी २० माथिका युवा, एकथरी १६ वर्षभन्दा माथि र अर्को थरी केटाकेटी । तीमध्ये एउटा ग्रुप भाङ खाएर मज्जाले होली खेलेपछि सिनेमा हेर्न हलतिर लाग्थे । एकथरी होरी गीत गाउँदै आशीर्वाद लिन घर–घर पुग्थे । एकथरी जमात मूर्ख बनाउने खेलतिर लाग्थ्यो । एकथरी युवा मादक पदार्थ खानतिर लाग्थे । उनीहरू रक्सीभन्दा भाङ खानमै जोड दिन्थे । रक्सी खानेहरू कहिलेकाहीँ झगडा पनि गर्थे । त्यही भएर रक्सीलाई भन्दा भाङ खानेलाई मात्र आफ्नो समूहमा मिसाउने चलन थियो । रमाइलो कुरा के थियो भने आफ्नो समूह बाहेक अरूसँग होली खेलिदैनथ्यो अर्थात् ग्रुप–ग्रुपमा खेल्ने, ग्रुप–ग्रुपमा रमाउने । भाङ घर–घरमा बन्ने भएकाले भाङ पाउन गाह्रो थिएन । रक्सी पिउनेहरूलाई अलि हेला गरिने, भाङ खान हौसला दिने र जताततै पाइने भएकाले पनि त्यतिबेला रक्सी पिउने मान्छे धेरै कम हुन्थे । बनाउन खर्चिलो भए पनि घरमा भाङ बनाउनु इज्जतको विषय भएकाले पनि यसैलाई महत्व दिइन्थ्यो ।

त्यतिबेला वीरगन्ज बजारमा सबैभन्दा सुन्दर स्त्री को छ, कसले ती स्त्रीलाई मन पराउँछ मज्जाले थाहा हुन्थ्यो । किनभने त्यो दिन पिचकारीले सहरका सुन्दर भित्तामा आफ्ना प्रेमीकाको नाम लेख्ने चलन थियो । एकपटकको पिचकारीले पूरा नाम त लेख्न सकिँदैनथ्यो तर छोटकरी नाम लेख्न मज्जाले पुग्थ्यो । भाङको नशामा मानिसले आफ्नो दमित प्रेम व्यक्त गर्ने यो सुन्दर अवसर हुन्थ्यो । जब भोलिपल्ट सहरका भित्तामा युवतीहरूका नाम रंगले पोतिएका हुन्थे तब उनीहरूका अभिभावक भने आफ्ना सन्तानको नाम मेट्दा–मेट्दा हैरान हुन्थे । आजको जस्तो खुला समाज र सामाजिक सञ्चालमा आफ्नो प्रेमी–प्रेमीकालाई भेट्ने अवसर नहुँदा युवाहरू यसरी नै आफ्नो प्रेम अभिव्यक्त गर्न बाध्य थिए । होलीको दिन भएकाले हुनसक्छ, यो त्यति अपराधको विषय हुँदैनथ्यो । जबकी अरूबेला अर्काका छोरीबेटीको नाम लेख्ने हिम्मत मै हुँ भन्नेले पनि गर्न सक्दैनथ्यो ।

काठमाडौं पनि आजको जस्तो थिएन । जब म काठमाडौं आएँ, त्यतिबेला आजको जस्तो जबरजस्ती फोहोर पानी भरेर लोला हान्ने चलन थिएन । समूह–समूह बनाएरै होली खेलिन्थ्यो । लोलामा अबिर हुन्थ्यो । जब कसैलाई लोला हानिन्थ्यो, त्यो लोला फुटेर शरीरमा सुख्खा अबिर पोखिन्थ्यो । यसरी पोखिदा त्यो अबिर बडो सुन्दर तरिकाले उड्थ्यो । उक्त दृश्यले मेरो कवि मन धेरै पटक गद्गद भएको छ । पछि मैले यस्ता होली आज–भोलि खेलिन्छ कि खेलिँदैन भनेर खोजी गर्दा त्यो हराइसकेको रहेछ । केही पछि अबिरको ठाउँ रंगले लियो । पछि त्यो रंग पनि हरायो । अहिले त सादा वा फोहोर पानीले लोला भरिएको देखिन्छ, यो दु:खद कुरा हो ।

मेरा साहित्यमा होलीको प्रसंग धेरै पटक आएको छ । जब मेरा युवा पात्रबीच प्रेमको अंकुर पलाउँछ, उनीहरू कुनै न कुनै रूपमा होली खेलिहाल्छन् । यस्ता कुरा लेख्दा म सिधै वीरगन्ज पुगिहाल्छु । त्यतिबेलाका दृश्य आफ्ना कृतिमा राख्दा ती कुराहरू आफैंमा रोमान्टिक त हुन्छन् नै मलाई पनि अपार सुख प्राप्त हुन्छ । मेरा २५ उपन्यास मध्ये आधा जतिमा र २ सय कथामध्ये दर्जन जतिमा यस्ता कुरा परेका होलान् । सिधै होलीका कुरा परेनन् भने पनि ती रंगले पारेका छाप भने आइहाल्छन् ।

No comments:

Post a Comment