Second Menu

वचनकी पक्का गरिमा गरिमा पन्त, अभिनेत्री


मेरो बुझाइमा सिनेमा समाजको दस्तावेज हो । सिनेमाले समाज देखाउँछ ।
समाजका संस्कृति, विकृति, प्रवृत्ति नै सिनेमामा आउने हो । विकसित मुलुकमा
यन्त्र, काल्पनिक जीव, दुनियाँमाथि फिल्म नबनाइने होइनन् । तर, आखिर जति
कल्पना गरे पनि समाज, जीव वा जीवनभन्दा परको कल्पना त हुँदैन । त्यसैले
सिनेमाले समाजलाई दृश्यमा देखाउँछ, स्पष्ट भाषामा समाज बोल्छ, युग,
अवस्था र व्यवस्था बोल्छ ।
मेरो बुझाइमा सिनेमामा समाज त हुन्छ नै, सँगसँगै सिनेमा तीन प्रकारका हुन्छन्–
विशुद्ध मनोरञ्जन दिने । कुनै कालखण्डको समाजलाई जस्ताको तस्तै देखाउने ।
र, समाजका विकृति, विसंगति औँल्याउँदै सत्य वा न्यायको जित देखाउने ।
एउटा औसत सिनेमामा सामान्यतः यी तीन कुरा आएकै हुन्छ । सिनेमाले
हँसाएकै हुन्छ, समाज देखाएकै हुन्छ र एउटा नायकले थुप्रै खलनायकलाई एक्लै कुटेकै
हुन्छ ।
जहाँसम्म सिनेमामा अभियनको कुरा छ, यो नितान्त कला हो । कुनै
निर्धारित चरित्रमा आफूलाई ढाल्न, ऊजस्तै देखिन, बोल्न विशेषतः कला
चाहिन्छ ।
मलाई लाग्छ, हर मान्छेले कुनै न कुनै कला, प्रतिभा वा भनौँ सम्भावना लिएर
जन्मेको हुन्छ । र, आफूमा निहित प्रतिभा सानैदेखि कुनै न कुनै रूपमा देखाइरहेको
पनि हुन्छ । अझ लाग्छ, मानिसलाई आफ्नो प्रतिभाले सानैदेखि जिस्काइरहेको
हुन्छ– बेला न कुबेला प्रस्फुटन हुन खोजेर । किनभने, व्यक्तिभित्रको प्रतिभा
मर्दैन, त्यो कुनै न कुनै रुपमा प्रफुस्टन भइरहेकै हुन्छ ।
अचेल मलाई ख्याल हुन्छ– मैले पनि सानैदेखि आफ्नो प्रतिभालाई बाहिर
ल्याउने कोसिस गरेकी रहेछु, मलाई सानैदेखि नाच्नुपथ्र्यो । मेरो घरमा ब्ल्याक
एन्ड ह्वाइट टिभी थियो । टिभीमा चलचित्रका गीत आउँथे । चलचित्रमा
हिरो–हिरोइन नाचेको देख्दा मलाई पनि नाचुँ–नाचुँ लाग्थ्यो । त्यो करिश्मा
मानन्धर, विपना थापा, जल शाह दिज्यूहरुको जमाना थियो । मोटीमोटी
देखिने जल दिज्यू हलुंगो गरी नाच्दा मेरो मनै लोभिन्थ्यो । विपना दिज्यू
नाचेको पनि मलाई खुब मन पथ्र्यो । टिभीमा चलचित्रको गीत आयो कि मेरो
खुट्टा उचालिन थाल्थ्यो ।
स्कुल पढ्दा मेरी एउटी
साथी थिई, कथित तल्लो
जातकी– सरस्वती विक ।
सम्झन सक्ने भएपछि सायद
मैले जीवनमा सबैभन्दा
पहिले आफ्नो प्रतिभा
उसैलाई देखाएकी हुँ ।
उतिबेला समाजमा जातीय छुवाछुत आजको भन्दा चर्को थियो । त्यसैले आमा
नभएका बेला मैले सरस्वतीलाई घरमा ल्याउँथे । हामी भान्छामा बसेर खान्थ्यौँ
। आमा आउनुअघि नै भाँडा माझेर जस्ताको तस्तै राख्थ्यौँ । अनि, आमाको
पोते, चुरा, टीका, सारी लगाएर नाच्थ्यौँ ।
हामी साना थियौँ, आमाका कपडा लगाएपछि ठूली भएको भ्रम हुन्थ्यो
हामीलाई । यसै पनि केटाकेटीमा धेरैलाई ठूला मान्छेको नक्कल गर्न मन लाग्छ ।
मलाई टिभीमा नाच्ने हिरोइनजस्तै गरी नाच्न मन लाग्थ्यो । आमाका कपडा
लगाएपछि ठूली हिरोइन जत्रै÷जस्तै भएको भ्रम पनि हुन्थ्यो । अनि, हिरोइन्को
नक्कल गरी नाच्न खोज्थेँ । सरस्वतीले मलाई नाच्न सघाउँथी । साथ दिन्थी,
हौसला दिन्थी ।
हाम्रो घरमा सरस्वती र म थुप्रैपटक नाच्यौँ । यी सब काम हामीले फिल्मी
शैलीमा गरिसिध्याउँथ्यौँ, आमाले कहिल्यै थाहा पाउनुभएन ।
मेरी आमा धार्मिक प्रवृत्तिकी हुनुहुन्छ, पूजाआजा गर्नुहुन्छ । गाउँमा मान्दै
आएका परम्परा मान्नुहुन्छ । उहाँ कत्ति पनि विद्रोही स्वभावकी हुनुहुन्न ।
समाजले अझै पनि जातीय भेदभाव तथा छुवाछुत गर्छ । यस्तोमा मेरी आमा
मात्रै नयाँ सोचकी विद्रोही बन्ने भन्ने हुँदैनथ्यो ।
मलाई पनि सानोमा जातीय छुवाछुतबारे थाहा थियो । हाम्रो खेतबारी
पनि छ । हामी आफैँले खेती गर्दैनथ्यौँ, तर आधा उब्जनी दिने गरी अरुलाई खेती
गर्न दिन्थ्यौँ । हाम्रो खेतबारीमा काम गर्नेहरू कथित तल्लो जाति हुनुहुन्थ्यो
। उहाँहरुले हाम्रोमा खाना खाँदा खाएको भाँडा माझ्नुहुन्थ्यो । घरमा,
समाजमा यस्तै देख्थेँ ।
यसरी नै मैले जात व्यवस्थाबारे बुझेँ । आफू ठूलो जात र सरस्वती सानो जातकी
भन्ने मलाई थाहा थियो । फेरि पनि हामी खुबै मिल्थ्यौँ । मैले आमा नभएका
बेला मात्रै सरस्वतीलाई घरभित्र ल्याउँथेँ । म सरस्वतीको घरमा गएर खान्थेँ,
बस्थेँ । सरस्वतीको घरमा भात मात्रै बाँकी रहेको हुन्थ्यो । सरस्वतीले नुन–
खुुर्सानी पिसेर मलाई भात खान दिन्थी । नुन–खुर्सानीसँग भात निकै मीठो
हुँन्थ्यो । मैले घरमा आमालाई भनेँ, ‘आमा, नुन–खुर्सानी र भात कति मीठो हुन्छ
।’ आमाले ‘कहिले, कहाँ खायौ’ भनेर सोध्नुभयो ।
मैले सरस्वतीकहाँ खाएको भनेँ । मैले तल्लो जात भनिने कहाँ खाँदा आमाले
गाली त गर्नुहुँदैनथ्यो । तर, घरमा भने जातीय छुवाछुत गर्नुहुन्थ्यो नै ।
पछि, ६ कक्षामा आएपछि हामी छुट्टिनुपर्यो । सरस्वतीको परिवार बसाइँ सरेर
चितवन गयो । अहिले सरस्वतीसँग कहिलेकाहीँ फोनमा कुरा हुन्छ ।
सत्य र वचनकी पक्का
मेरी आमाले सामान्य खर्चका लागि केही पैसा सिरानीमुनि राख्ने
गर्नुहुन्थ्यो । आमाले हामीलाई अति नै विश्वास गर्नुहुन्थ्यो । हाम्रो घरको
वातावरण, अवस्था, संस्कारमै चोर्ने, छल्ने भन्ने थिएन । चोर्ने, छल्ने अभावका
कारण पनि होला । मेरो बुवा इन्डियन आर्मी हो, अहिले रिटायर्ड भइसक्नुभयो
। त्यसैले हामीलाई अभाव वा अपुग्दो थिएन ।
छोराछोरीले पैसा चोर्लान् वा झिक्लान् भन्ने मेरी आमाले सोच्नै
सक्नुहुन्नथ्यो सायद । एक दिन आमाले मलाई तीन सय रुपैयाँ सिरानीमुनि राख्न
दिनुभयो । यो कुरा मेरो साइँलो बुवाकी छोरीलाई थाहा भयो । उहाँ मभन्दा
जेठी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘त्यो पैसा सुटुक्क मलाई देऊ, मलाई चाहिएको
छ । म भोलि तिमीलाई फिर्ता दिन्छु । भोलि सुटुक्क त्यहीँ राखिदेऊ,
आमालाई थाहै हुँदैन ।’
मैले आमालाई सोधेर दिन्छु
भनेँ । तर, उहाँले ‘होइन,
नसोधी देऊ, म भोलि नै
दिन्छु’ भन्नुभयो । उहाँले
अनेक गरी फकाउनुभयो ।
दिदीले भनेपछि मैले हार्न सकिनँ भनौँ । फेरि सानै थिएँ, विवेकले निर्णय लिन
सक्ने पनि भइसकेकी थिइनँ । मैले दिदीलाई त्यो पैसा दिएँ ।
भरे पैसा हराएको आमाले थाहा पाउनुभयो । आमाले मलाई पैसाबारे सोध्नुभयो
। मैले ‘मैले दिएँ’ भनेँ । आमाले कसलाई दियौ भनेर सोध्नुभयो । तर, मैले कसलाई
दिएको भनेर भनिनँ । किनभने, दिदीले नभन्न भन्नुभएको थियो । आमाले फेरि
सोध्नुभयो, ‘त्यसो भए तिमीले चोर्यौ त ?’
मैले फेरि भनेँ, ‘होइन, मैले दिएँ ।’ तर, कसलाई दिएको भनेर मैले भन्दै भनिनँ ।
आमा केही बोल्नुभएन । साँझ पर्यो । एकैचोटि मलाई आमाले घर अगाडिको
रुखमा बाँधेर राख्नुभयो र आफू घरभित्र बस्नुभयो । म रोइरहेँ । मलाई लिन कोही
आएन । दाइ–दिदीहरु पनि खै कता जानुभएको रहेछ, आउनुभएन । निकैबेरपछि
आमाको मन फक्र्यो होला, उहाँ आएर डोरी फुकाउँदै भन्नुभयो, ‘आमासँग
भएको सबै कुरा छोराछोरीकै त हो नि ! आमासँग पनि चोर्नुपर्छ ? मागेको भए
पनि दिन्थेँ । फेरि मैले खान–लाउन दिएकी छैन र, चोर्नुपर्यो ?’
अहिलेसम्म आमाले मलाई सबैभन्दा ठूलो सजाय दिएको यही हो कि रुखमा
बाँधेर राख्नुभयो । तर, मैले आमालाई अहिलेसम्मकै पहिलो र अन्तिमपटक मन
दुखाएको पनि त्यही नै हो । कुन आमाले चाहन्छिन् र आफ्ना सन्तान चोर
भएको हेर्न ?
हुन त म सानै थिएँ, जानेर–बुझेर त होइन, अचेल ख्याल गर्छु, यो घटनामा म धेरै
हदसम्म सत्यवादी रहेछु । कसरी भने, कसैलाई नभन्नु भन्ने दिदीसँगको वाचा
तोडिनँ र आमालाई पनि ढाँटिनँ । अचेल लाग्छ, जीवन बालपनजस्तै सत्य र
निर्दोष भइदियोस्, बालपनको जस्तो सत्य र निर्दोषतामै जीवनको धेरै सार
लुकेको हुन्छ ।
कक्षाकोठामा बेन्च जोडेर मञ्च बनाउँदा शिक्षकको गाली खान्थ्यौँ
मेरो घर तनहुँको बरादी बजारमा हो । मैले बरादीकै मित्रता माध्यमिक
विद्यालयबाट एसएलसी गरेकी हुँ । मलाई मम्मीले दुई चुल्ठी बाटेर स्कुल
पठाउनुहुन्थ्यो– सफा कपडा लगाइदिएर, चिटिक्क पारेर । दुई चुल्ठी बाट्दा
टाउकोमा रिबनको फूल बनाइदिनुहुन्थ्यो । शिक्षकहरु मलाई ‘कति राम्री
पुतली’ भन्नुहुन्थ्यो । स्कुलमा नाच्नुपर्यो भने पनि सबैले मलाई नै अघि
सार्नुहुन्थ्यो ।
एकपटक अन्तरविद्यालय प्रतियोगिता भएको थियो, विविध विधामा, ५–६
वटा स्कुलबीच । मलाई शिक्षकहरुले नृत्य प्रतियोगिता भाग लिन भन्नुभयो ।
मैले भाग लिएँ र प्रथम भएँ । यो ६ कक्षा पढ्दै गर्दाको कुरा हो । त्यतिबेला
सायद म ‘इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो’ बोलको कुन्ती
मोक्तान र बुलु मुकारुङले गाउनुभएको गीतमा नाचेकी थिएँ ।
पछि स्कुलमा हामी केही केटीहरुको समूह बन्यो– ६–७ कक्षातिर आइपुग्दा ।
समूहमा पनि म, सुनिता मिश्र, मीरा पोखरेल, प्रियंवदा शर्मा, कुष्ण वाग्ले,
इन्दिरा पौडेल खुब मिल्थ्यौँ । कृष्ण वाग्ले पनि केटी नै हुन्, नाम केटाको जस्तो
भए पनि । हामीहरुले स्कुलमा सधैँ केही न केही खाजा लिएर जान्थ्यौँ । हाफ
छुट्टीमा अरु विद्यार्थी खाजा खान, खेल्न निस्कन्थेँ । हामीहरु
कक्षाकोठाको ढोका लगाएर खाजा खान्थ्यौँ र नाच्न सुरु गथ्र्यौं ।
साथीहरुले थपडी बजाउँदै कुनै नयाँ चलचित्रको हिट गीत गाउँथे र मलाई नाच्न
लगाउँथे । हामी नाचेको हेर्न बाहिर झ्यालमा अरु विद्यार्थी ठेलमठेल गर्थे ।
स्कुल बिदा भएपछि सबै घर
जान्थे । हामी भने
हतारहतार कक्षाकोठामा
बेन्चहरु जोडेर मञ्च
बनाउँथ्यौँ र नाच्थ्यौँ ।
साथीहरुले मलाई नै नाच्न
लगाउँथे, आफूहरु थपडी
बजाउँदै गीत गाउँथे । म
मञ्चमा गएर भाषण गर्थें ।
उद्घोषण गर्थें । भन्थेँ, ‘अब
स्टेजमा आउँदै हुनुहुन्छ, कमला
पन्त ।’ मेरो स्कुलको नाम
कमला पन्त हो । नागरिकता, सर्टिफिकेटमा यही छ । गरिमा नाम मलाई मेरी
दिदीले पछि राखिदिएको हो । अहिले गरिमा नामले नै चिनिन्छु । पुराना
साथीहरु पनि मलाई अचेल ‘गरिमा’ भन्छन् । तर, मैले उनीहरुलाई ‘कमला’ नै भन
भन्छु ।
हामी नाचिरहेका बेला पालेदाइ तालाचाबी लगाउन आउनुहुन्थ्यो । अनि,
हामी भाग्थ्यौँ । भोलिपल्ट हामीले कक्षाकोठामा बेन्च जोडेर बनाएको
मञ्च त्यत्तिकै हुन्थ्यो । कसले यस्तो गर्यो भनेर हल्ला हुन्थ्यो । हामी चुप
हुन्थ्याँै, तर हामीले पालेदाइले भनिदिनुहुन्थ्यो । आफू पढ्ने डेस्क–बेन्च
बिगारेकामा शिक्षकले हामीलाई गाली गर्नुहुन्थ्यो । यो मामिलामा
हामीले थुप्रैपटक शिक्षकको गाली खायौँ ।
मलाई साथीहरुले सधैँ भन्ने गर्थे, ‘कमला, तिमी नाच्न जानेकी छौ, राम्री पनि
छौ, बोल्न पनि जानेकी छौ, तिमी हिरोइन बन्नुपर्छ ।’
अहिले साथी सुनी (सुनिता मिश्र) भन्छे, ‘मैले भन्थेँ नि, तिमी हिरोइन् बन्न
सक्छ्यौ भनेर, मैले भनेको पुग्यो कि पुगेन त ?’ सुनी यहीँ काठमाडौंमा छे,
कहिलेकाहीँ हामी भेट्छौँ ।
पहिलोपटक क्यामेरा फेस
पहिलोपटक भिडियो क्यामेरा फेस मैले विज्ञापनका लागि गरेकी हुँ ।
चाउचाउको विज्ञापन थियो, आहा फिप्टी–फिप्टी । ०५८ सालको कुरा हो,
मैले भर्खरै एसएलसी दिएकी थिएँ । एसएलसीको रिजल्ट आइसकेको थिएन । तर,
काठमाडौं आउने–जाने भइरहन्थ्यो । मेरा दाइ–दिदी काठमाडौंमै हुनुहुन्थ्यो । म
कान्छी छोरी हुँ । ममाथि एउटा दाइ र एउटी दिदी हुनुहुन्छ– दाइ मनुराज र
दिदी हेमा । दाइको काठमाडौंमै व्यापार छ, दिदी पनि यहीँ टिचिङ गर्नुहुन्छ

मेरो दाइ र अविनाश श्रेष्ठको चिनजान रहेछ । म काठमाडौं आएका बेला
अविनाश श्रेष्ठले मलाई अफर गर्नुभयो, विज्ञापनका लागि । विज्ञापनमा
काम गरेँ । त्यसपछि अविनाश श्रेष्ठले नै मलाई एउटा सिरियलका लागि अफर
गर्नुभयो, उहाँले ‘नरमणि’ टेलिसिरियल लेख्दै हुनुहुँदो रहेछ । काम गरेँ । दुर्भाग्य,
‘नरमणि’ प्रसारण हुन पाएन ।
एसएलसीको रिजल्ट आयो, सेकेन्ड डिभिजनमा उत्तीर्ण भएँ । त्यसपछि
पद्मकन्या क्याम्पसमा भर्ना भएँ, नृत्य विषय लिएर । आईएपछि भने नृत्य विषय
छाडेँ । नरमणिमा काम गर्दा मलाई अभिनय सिक्नुपर्छ भन्ने लाग्यो । कलेजसँगै
मेरो दाइले मलाई एक्टिङ क्लास पनि जोइन गरिदिनुभयो, प्रताप सुब्बाको
क्लासिक एक्टिङ सेन्टरमा । एक वर्ष एक्टिङ सिकेँ ।
यहीबीचमा कान्तिपुर टेलिभिजनमा चाहना मनको सिरियल प्रसारण हुँदै
थियो । यसका लागि एउटा नयाँ क्यारेक्टर चाहिएको रहेछ । नरमणिको
प्रोडक्सन मेघराज पौड्यालले हेर्नुभएको थियो । उहाँले मेरो कुरा गर्नुभएछ,
चाहना मनकोका डिरेक्टर विजय थापासँग । चाहना मनकोमा सरिता
लामिछाने, दीपक त्रिपाठी, लक्ष्मी गिरि, अर्जुन श्रेष्ठ लगायत वरिष्ठ
कलाकार खेल्नुभएको रहेछ । मैले पनि राम्रै भूमिकामा मौका पाएँ । चाहना
मनकोमा मेरो अभिनय हेरेर फिल्म निखिलदाइका लागि अफर आयो, डिरेक्टर
कृष्ण चापागाईंबाट । निखिल दाइबाटै मेरो फिल्मी करिअर सुरु भयो ।
गरिमाका तीन फिल्म
निखिलदाइ
निखिलदाइ मेरो पहिलो फिल्म हो । यसअघि मैले सिरियलहरु गर्दै थिएँ । यस
फिल्मका डाइरेक्टर कृष्ण चापागाईंले सिरियलमा मेरो अभिनय हेर्नुभएको रहेछ,
उहाँले अफर गर्नुभयो । भन्नुभयो, ‘निखिल उप्रेतीजीको प्रेमिकाको भूमिका
हो ।’
यो फिल्ममा निखिलदाइको भूमिकामा निखिल उप्रेती दाइ नै हुनुहुन्छ ।
फिल्ममा अन्य सिनियर कलाकार पनि हुनुहुँदो रहेछ– राजेश हमाल, दिलीप
रायमाझी, रेखा थापा दिनेश शर्मा । सौभाग्य भनौँ, मेरो प्रसारण भएको
पहिलो सिरियल ‘चाहना मनको’मा पनि सिनियर कलाकार हुनुहुन्थ्यो ।
फिल्ममा पनि त्यस्तै पर्यो । सबैले मलाई साथ दिनुभयो, सिकाउनुभयो ।
रेखादिज्यूले निकै माया गर्नुभयो । निखिलदाइ त झनै माई डियर । उहाँले मलाई
सिकाउनुभयो, हौसला दिनुभयो । फिल्ममा निखिलदाइलाई साथ दिने,
सहयोग गर्ने प्रेमिकाको भूमिका थियो मेरो । तर, काम गर्ने सिलसिलामा भने
निखिलदाइ नै मलाई साथ दिनुपर्यो ।
यसको सुटिङ काठमाडौं, धुलिखेल र पोखरामा भएको हो । मेरी दिज्यू हेमा
पन्त पनि मसँगै जानुभएको थियो । मेरी दिज्यूको घर यहीँ चापागाउँमा हो,
उहाँले टिचिङ गर्नुहुन्छ ।
निखिलदाइ सफल भयो । तर, यसबाट मैले कुनै अवार्ड त हात पारिनँ । तर, नेफ्टा
अवार्डको न्यु कमर नोमिनेसनमा भने परेकी थिएँ ।
झोला
भनिरहनुनपर्ला, चलचित्र झोला साहित्यकार कृष्ण धरावासीको चर्चित कथा
झोलामाथि बनाइएको भनेर । किनभने, सामान्यतः कला–साहित्यमा रुचि
राख्नेलाई थाह भएकै कुरा हो । यो फिल्ममा अफर आउनु चार वर्षअघि नै मैले
झोला कथा पढिसकेकी थिएँ । कथा सतिप्रथामा आधारित छ । यो कथाले
मलाई असाध्यै छोएको थियो । मैले मेरी आमाबाट पनि कताकती
सतिप्रथाबारे सुनेकी थिएँ ।
साहित्यमा शक्ति हुन्छ, साहित्य पढ्दा शब्द मात्रै नआएर दृश्य पनि आउँछ ।
झोला कथा पढ्दै गर्दा पनि मैले दृश्य पनि देखेकी थिएँ । संयोग भनौँ, पछि मैले
आफैँले कल्पना गरेका दृश्यमा काम गर्न पाएँ ।
डिरेक्टर यादवकुमार भट्टराईले मलाई फोन गरेर भन्नुभयो, ‘हामीले कृष्ण
धरावासीको कथा झोलामाथि फिल्म बनाउँदै छौँ । तपाईंसँग काम गर्ने मन छ
।’
झोलामाथि फिल्म बन्ने कुराले नै मलाई तरंगित बनाएको थियो, त्यसमाथि
फिल्ममा काम गर्न मलाई नै अफर आएको थियो, जुन कुरा मेरो सपनाकै कुरा
थियो । किनभने, मैले झोला कथा पढ्दा पनि यसको फिल्म बन्नुपर्छ भनेर
सोचेकी थिएँ । झोलामा सति जानुपर्ने जयकलाको भूमिका निभाएकी छु ।
फिल्म सफल भयो, मलाई फरकधारका चलचित्रमा काम गर्न नयाँ बाटो
देखायो । नयाँ उत्साह, आत्मविश्वास दियो ।
तीन घुम्ती
यो विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास तीन घुम्तीमाथि बनेको फिल्म
हो । यसलाई बाबुराम ढकालले निर्देशन गर्नुभएको छ । तीन घुम्ती उपन्यास मैले
क्याम्पसको कोर्समा पढेकी थिएँ । मैले आइए ऐच्छिक नेपाली लिएर गरेकी हुँ ।
तर, बिए र एमएमा भने ऐच्छिक नेपाली लिइनँ ।
विश्वेश्वरप्रसाद नेपाली राजनीतिक इतिहासमा बिपी कोइरालाको नामले
चिनिनुहुन्छ । उहाँको नेपाली साहित्य र राजनीति दुवैमा अद्वितीय योगदान
छँदै छ । एउटा असल र सफल साहित्यकार र नेताको कृति कस्तो होला, पात्र
कस्तो होला, यो सजिलै बुझिने कुरा होइन । अवश्य नै ऐतिहासिक व्यक्तित्वले
लेखेको कृतिमा देश, काल, परिस्थिति, संस्कृति, विकृति आएका हुन्छन् । त्यस
कृतिको पात्रलाई बुझेर अभिनय गर्नु अवश्य नै गाह्रो काम हो । यसमा मैले
इन्द्रमायाको भूमिका निभाएकी छु । यो चलचित्रको प्रिमियर सो पनि
हालै भयो । राम्रो प्रतिक्रिया पाएकी छु । धेरैले मेरो अभियनलाई प्रशंसा
गर्नुभएको छ । तर, आमदर्शकको तहबाट यसको मूल्यांकन हुन बाँकी नै छ ।

No comments:

Post a Comment