सांस्कृतिकबाट सेक्सीकृत तीजगीत


भाद्र २३, २०७२- 
तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने पर्व भए पनि पछिल्ला केही वर्षदेखि बजारमा दुई–चार महिनाअगावैदेखि यसको तामझाम सुरु हुन थालेको छ । यसले तीजको बहानामा पार्टी प्यालेस वा आफ्नै घरमा भोज गर्ने, नाचगान गरी रमाउने अवधि पहिलेभन्दा लम्ब्याएको छ । देशभित्र मात्र नभै नेपालीहरूको उल्लेख्य उपस्थिति भएका विदेशी सहरहरूमा पनि तीजका बेला सांस्कृतिक कार्यक्रम आयोजित हुने क्रम बढ्दो छ । यस्ता सबैजसो कार्यक्रममा तीजकै लागि बनेका गीत बजाएर नाचिन्छ । यस्ता गतिविधि बढेसँगै स्वाभाविक रूपमा तीजका गीतको संख्या पनि वृद्धि भैरहेको छ । 
तीजकै लागि भनेर कलाकारहरू गीत रेकर्ड गर्ने, देशभित्रकै विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रमदेखि विदेशका कार्यक्रममा सहभागी हुने चाँजोपाँजो मिलाउन व्यस्त हुन्छन् । यस्तो धपेडीबाट राम्रै कमाइ हुने भएकाले पुरानासँगै धेरै नयाँ कलाकार पनि तीजका गीत गाउन चाहन्छन् । त्यसैले वर्षैपिच्छे सयभन्दा बढी नयाँ कलाकारले तीजगीत गाउँछन् । तीमध्ये केहीले राम्रै नाम र दाम कमाउँछन् । यद्यपि जति धेरै संख्यामा गीत निस्कन्छ, त्यसमध्ये थोरै गीत मात्र चल्छन् । तीजगीतले धेरैको लगानी पनि डुबाउँछ । चलेका गीतको आयु पनि त्यति लामो हुँदैन, तर पनि नयाँ–नयाँ गीत बन्ने क्रमलाई त्यसले खासै फरक पारेको देखिँदैन । 
यो वर्ष तीजको गतिविधि केही घटेको छ । पहिले तीजकै लागि भनेर महिनौं अघिदेखि पार्टी प्यालेसहरू प्याक हुन्थे । वैशाख १२ मा आएको प्रलयकारी भूकम्पका कारण यस पटक तीज आउनुअघिदेखि गरिने तडकभडकमा कमी आएको पक्कै छ तर धेरैले लख काटेजस्तो खल्लो वातावरणचाहिँ छैन । तीज नजिकिँदै जाँदा भूकम्पको धक्का कम हुँदै गयो र गीत निकाल्नेहरू ढिलै भए पनि सक्रिय भए । तीजका गीत रेकर्ड हुने सुरसार त भूकम्पअघि देखि नै थियो, तर साउनको दोस्रो सातादेखि मात्र गीत रेकर्डिङले तीव्रता पाएको प्रिज्मा स्टुडियोकी स्वरूपा बताउँछिन् । सबैभन्दा बढी गीत रेकर्ड भएको स्टुडियो प्रिज्माबाट करिब डेढ सय तीजका गीत सार्वजनिक भए । भूकम्पले गीत रेकर्ड यति धेरै संख्यामा होला भन्ने कुरामै शंका थियो तर यो वर्ष पनि गत वर्षकै हाराहारीमा तीज गीत तयार भए । 
यस वर्षका गीतहरू
०७१ मा ३ सय ५० भन्दा बढी तीजगीत सार्वजनिक भएका थिए । यस पटक पनि पुग–नपुग ३ सय २५ गीत रेकर्ड भएका छन् । गत वर्षझैं यो वर्ष पनि राधिका हमाल तीजको बेला सबैभन्दा बढी गीत गाउने कलाकार भएकी छिन् । ०७१ मा २४ वटा गीत गाएकी हमालले यसपालि ३० वटा गीत गाइन् । गायक रेशम सापकोटासँग उनले गाएको हाकिम मेरो पोइ अहिले चर्चामा छ । तीजका गीत गाउनेमध्ये खुमन अधिकारी पुरुष कलाकारमा सबैभन्दा अगाडि छन् । उनले गत वर्ष १९ वटा तीज गीत गाएका थिए भने यो वर्ष १७ वटा गाए । राधिका हमालसँग जोडी बनेर गाएको ‘सोलमारीमा टुच्च’ खुमनको यो वर्षको एउटा चर्चित तीज गीत हो ।
पशुपति शर्मा तीजका गीतमा विगत ९ वर्षदेखि सबैभन्दा राम्रोसँग जमेका स्रष्टा हुन् । सुरुमा लेखन र गायनमा सीमित शर्मा अचेल सबै गीतमा आफैं अभिनय पति गर्छन् । उनको अभिनयलाई पनि श्रोताहरूले रुचाएका छन् । शर्मालाई यो वर्ष धेरै अफर आए पनि तीजका लागि भनेर उनले ८ वटा मात्र गीत गाए । गत वर्ष उनले ९ वटा गीत बनाएका थिए । उनको सातो फुकौं झाँक्री बा, पानी पुरी, को नाचेर थाक्नी आदि गीत चर्चित छन् । सलल राप्चेको पहिरो, झलल बेनीको बजार गीतमा शर्माले केही समयअघि बेनीमा गएको पहिरोलाई उतारेका छन् । चर्चित गायक रामजी खाँडलाई यसपालि तीजका गीत गाउने खासै उत्साह जागेन । गएको वर्ष १३ वटा गीत गाएका खाँडले यसपालि जम्मा ४ वटा तीज गीतमात्र गाए । 
यसपालि धेरै युगल गीत बनेका छन् । मन्जु पौडेल र सन्तु थापा, देवी घर्ती र मिनराज गौतम, टीका पुन र कृष्ण रेउले, बिमल डाँगी र सरिता डाँगी, मौसम गुरुङ र कालिका रोका, डम्बर नेपाली र पूर्णकला बिसी, वसन्ती सुनवार र एमटी महर, मीना बोहरा र शक्ति चन्द, सरु गौतम र विर्खबहादुर धामी, कोमल वली र अजय अधिकारी आदि नयाँ–पुराना सबै कलाकारले युगल युगल गाएका छन् । पशुपति, प्रजापति, गायत्री थापा, कृष्ण अखेली, मञ्जु महत, सुशीला गुरुङ, सुनिता दुलाल, माण्डवी त्रिपाठी, उमा श्रेष्ठलगायत नयाँमा सरु गौतमदेखि पुरानामा हरिदवी कोइरालासम्मको सक्रियता रह्यो यसपालिको तीजगीतमा ।

बदलियो समाज, बदलियो विषय
तीज हाम्रो गाउँठाउँबाट पार्टी प्यालेस र युट्युबसम्म आइपुग्दा यसले पुरानो अनुहार गुमाइसकेको छ । उतिबेलाको सासू–बुहारी, नन्द–भदै र माइती–चेलीको सम्बन्धमा मात्र नभै पारिवारिक तथा सामाजिक संरचनामा व्यापक हेरफेर आएकाले तीजका गीतमा समय सापेक्ष हेरफेर स्वाभाविक हो । हिजोका दिनमा गाउँले परिवेशमा मात्र घन्किने लोकदोहोरी सुन्नसमेत नाक खुम्च्याउनेहरू अहिले सहर–बजारमा तिनै भाका हालेर छमछम नाचिरहेका छन् । पुरुषहरू महिलाका गीतमा ताली बजाउनैमा सीमित थिए । अहिले पुरुष स्वरविना तीजगीत अपुरो हुने दिन आएको छ । सहरिया परिवेशमा रचिने भएकाले गीतको शब्द र शैलीमा नयाँ–नयाँ रंग देखिएका छन् । 
हिजोका दिनमा जस्तो दु:ख, झगडा र गुनासोको विषयबाट तीजका गीतहरू क्रमश: टाढा हुँदैछन् । मध्यम तथा सम्भ्रान्त सहरियाहरूले महिनौं अघिदेखि तीजका नाममा पार्टी गर्न थालेपछि यो महिला–पुरुष सँगै नाचेर रमाइलो गर्ने पर्व बनेको छ । तीजमा माइत जान नपाउनुको पीडा, माइती टाढा हुनुको पीर, दाजुभाइ लिन नआएको दु:ख आदि भावना अभिव्यक्त गरिन्थ्यो । त्यतिबेलाका गीतमा समसामयिक राजनीति, श्रीमान्को घरका सदस्यले दिएका पीडा र दमनको विरोध गर्ने वा कुण्ठा पोख्ने शब्द समेटिएका हुन्थे । अझ महिला अभिव्यक्ति स्वतन्त्रताका हिसाबले धेरै महिला समूहले यसलाई महिला सशक्तीकरणको माध्यमका रूपमा प्रयोग गर्थे, तर अचेल बनेका अधिकांश गीतमा महिला–पुरुष सम्बन्ध, शिवजीलाई फकाउने वा रिझाउने कुरा, सुनको बाला, विदेशी साडी, मोबाइल र पैसाका कुरा धेरै छन् । अभिव्यक्ति स्वतन्त्रताको विषय अहिले सामाजिक वा राजनीतिक नभै व्यक्तिगत छोटा जामा, छोटा साडी र पोइ छान्न पाउने कुरामा पुगेको छ । तीज गीत अहिले भक्तिरसबाट श्रृंगार रसमा सरेको छ, अथवा यसो भनौं सामाजिकबाट रत्यौलीतर्फ उन्मुख भएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects