Second Menu

म प्राध्यापक पनि हुँ


भाद्र १४, २०७२-
स्ट्याण्डअप कमेडी मार्फत दर्शकको मन जित्न सफल कलाकार तथा टेलिभिजन प्रस्तोता
हुन्— सन्दीप क्षेत्री । वीरगन्जमा जन्मिएपछि प्राथमिक तहसम्मको अध्ययन दाङमा पूरा
गरेका सन्दीप बाल्यकालदेखि नै चलचित्रका पारखी थिए । बुवासँग हलमै पुगेर चलचित्र हेर्न
रुचाउने सन्दीप क्रिकेटका राम्रा खेलाडीसमेत हुन् । वीरगन्जमा छँदा वीरगन्ज युवा
क्लबका लागि ब्याट्सम्यान तथा बलरका रूपमा खेलिसकेका सन्दीपले टिम
कान्तिपुरबाट मिडिया कपसमेत खेलिसकेका छन् । रेडियो सिटी एफएममा आरजेका रूपमा
छ वर्ष काम गरेपछि नेसनल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्न थालेका सन्दीपले
टिटिभीबाट प्रसारण भएको कार्यक्रम ‘द फ्लप शो’ मार्फत आफूलाई चिनाएका थिए ।
पछिल्ला केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा ‘द फ्लप शो’ सञ्चालन गरेर देश तथा
विदेशमा समेत लोकप्रिय भैरहेका सन्दीपले ‘सिग्नेचर’, ‘हाइवे’, ‘छ एकान छ’, ‘रेड मनसुन’,
‘उत्सव’ तथा ‘भाले फाइट’ जस्ता चलचित्रमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका छन् ।
गाईजात्राको पूर्वसन्ध्यामा यी लोकप्रिय कलाकारले आफ्ना सेक्रेट कुरा
साप्ताहिकमार्फत सार्वजनिक गरेका छन् ।
प्राध्यापक
अधिकांश कलाकारले मलाई हास्यकलाकार तथा टेलिभिजन कार्यक्रम सञ्चालकका
रूपमा मात्र चिन्नुहुन्छ । वास्तवमा म विगत १० वर्षदेखि प्राध्यापन पेसामा पनि सक्रिय
छु । यतिबेला म गोल्डेन गेट कलेजमा म्यानेज्मेन्ट पढाउँछु ।
गायक
म स्कुले जीवनदेखि नै गीत गाउँथें । कलेजमा त हाम्रो ‘फ्रेन्ड्स ग्रुप’ भन्ने ब्यान्ड नै थियो ।
उक्त ब्यान्डमा म एक्लो गायक थिएँ । कलेज छाडेपछि मेरो गायन करियर पनि सकियो ।
बेला–बेलामा साथीभाइको जमघटमा ज्यामअप गर्ने मौका पाउँछु, मेरो गायन कला देखेर
साथीहरू छक्क पर्छन् ।
ट्वाइलेटमा पटकथा
मानिसहरू दिसा अथवा पिसाब लागेपछि मात्र ट्वाइलेट छिर्छन्, म भने कुनै कुरा
सोच्नुपर्यो भने पनि ट्वाइलेट छिर्छु । वास्तवमा म आफ्नो कार्यक्रमका अधिकांश प्लट
ट्वाइलेट बसेकै बेला तयार पार्छु । ‘वान लाइन स्टोरी’ट्वाइलेटमै तयार भएपछि मात्र
त्यसलाई कागजमा उतार्छु ।
एक्लै बोल्छु
म मोटरसाइकल अथवा कारमा सवार भएका बेला ट्वाइलेटमा तयार पारेको प्लटमा
आधारित संवादको अभ्यास गर्छु । यात्राका क्रममा म बोलिरहेको देखेर कतिपय मानिस
अचम्ममा पनि पर्छन् । कार्यालय पुगेर लेख्नुपर्ने स्क्रिप्टलाई मैले बाटोमै अभ्यास
गरिसकेको हुन्छु ।
क्रिकेटर
दाङमा प्राथमिक तहको अध्ययन सिध्याएर वीरगन्ज पुग्दा त्यहाँ मेरो उमेरका सबैजसोले
क्रिकेट खेलिरहेको देखें । म पनि रहरैरहरले क्रिकेटको ब्याट र बलमा रमाउन थालें । मलाई
ब्याटिङ असाध्यै मन पर्छ, बलिङ पनि राम्रै गर्छु ।
नृत्य
मैले आजसम्म नृत्यको प्रशिक्षण लिएको छैन, तर मेरो नृत्य देखेर ‘वाह...’ नभन्ने कमै छन् ।
सानोमा बुवासँग चलचित्र ‘डिस्को डान्सर’ हेर्न पुग्दा मिथुन चक्रवर्तीको डान्स
आउनेबित्तिकै सिटबाट उठेर नृत्य गर्न थालेपछि दर्शकहरू पर्दामा भन्दा मेरो नृत्यमा बढी
नजर लगाउँथे । बाटोमा विवाहको ब्यान्ड बाजा बज्यो भने म दौडेर नृत्य गर्न थाल्थें ।
नृत्यलाई व्यवसायिक रूप त दिन सकिनँ तर कसैले नृत्यका लागि प्रस्ताव राख्यो भने म पछि
पनि हट्दिनँ ।
चलचित्र
म वीरगन्जबाट मुख्य दुई उद्देश्य लिएर काठमाडौं आएको थिएँ । पहिलो स्नातकोत्तर गर्न,
अर्को चलचित्र नायक बन्न । पहिलो उदेश्य त दुई वर्षमै पूरा गरें, दोस्रोमा अलि पछि परें ।
त्यसो त चलचित्र ‘सिग्नेचर’ को मुख्य नायक मैं हुँ, तर दुर्भाग्य अहिलेसम्म यो चलचित्र
प्रदर्शनमा आउन सकेको छैन ।

No comments:

Post a Comment