युवा लेखक लिलाराज खतिवडाले म को हुँ भन्ने उपन्यास लिएर आउदैछन् । यो उपन्यास आध्यात्मको खोजीमा हिँडेका एक युवाको कथामा आधारित छ । चाँडै नै बजारमा आउन लागेको उक्त उपन्यासको एक अंश
दादर रेल्वे स्टेसनमा नयाँ दिल्ली जाने रिजर्भेसन पाउने कुनै ठेगान देखिएन । ट्राभल एजेन्टबाट पनि पार नलाग्ने भयो । ऊ भोकाएको थियो । तरटिकटको व्यवस्था गर्नु जरुरी थियो । उसले सोच्यो— किन एक रात भए पनि बसबाटै उत्तरतिरको कुनै शहरको यात्रा नगर्ने ? बस काउन्टरमा बुझ्दा त्यतिबेला अहमदावाद जाने एउटा मात्रै बस बाँकी रहेछ । दुई सय पचास रुपिँया तिरेर उसले टिकट किन्यो, केही खाने कुरा प्याक गरयो । डोसा,पावभाजी आदि । बस आइपुग्यो । हतारमै ऊ बसमा चढ्यो ।
आफू बस्नुपर्ने सिटको अर्कोपट्टि एउटी युवती देखेर राहुलको आँत ढक्क फुल्यो ।
अरे !
ऊ तीनछक परयो । पुनामा भेटिएका अनाथालयमा पढाउँछौँ भन्ने दुई युवतीमध्येकी एक थिई त्यो जो उसलाई भेष वदलेकी कात्यायनीझैँ पनि लागेकी थिई । युवती पनि राहुललाई त्यहाँ देखेर छक्क परी ।
लामो सास तानेर छोड्दै ऊ सिटमा बस्यो । युवतीको आभा टन्टलापुर घाम लागेको बेला अचानक वर्षा भएजस्तै थियो । राहुल भित्रभित्रै कुत्कुतियो । उसको संवेदनाको पारो नरमगरम भएर आयो, तर ऊ तुरुन्तै सम्हालियो ।
युवतीतर्फ पुलुक्क हेरेर भन्यो, “नमस्ते ।”
“तिमी मेरो पिछा त गरिरहेका छैनौ ?” युवतीले सोधी ।
“पिछा ? मैले किन तिम्रो पिछा गर्ने ? संयोगले फेरि भेट भयो, बस् । खोई त तिम्री साथी ?” राहुलले सोध्यो ।
“तिमी कहाँसम्म ?” युवतीले राहुलको कुरामा ध्यानै नदिई सोधी ।
उसको आवाज कमलको फूल फक्रिएजस्तै थियो । ऊ गोरी थिई । उसका आँखा ठूला–ठूला थिए । पिर्लिक–पिर्लिक उसका आँखाका ढकनी पल्टिँदा राहुललाई लाग्यो ती आँखाले उसलाई हेरेका मात्रै छैनन्, अज्ञात निमन्त्रणा पनि दिइरहेका छन् ।
“म यो गाडीको अन्तिम गन्तव्यसम्म नै हो । तिमी नि ?” राहुलले उसका गुलाबी ओठहरूमा नियाल्दै सोध्यो ।
“म पनि अन्तिम ...!” युवतीले जानीजानी वाक्य अधुरै छोडी र फिस्स हाँसी । यसो गर्दा उसका बाक्ला गोरा गालाहरूमा दुवैतिर खोविल्टा परे ।
“खोई त तिम्री साथी ?” राहुलले फेरि सोध्यो ।
“ऊ मलाई चढाउन मात्र आएकी थिई ।” उसले भनी ।
उसको कुरा नसुनेझैँ राहुलले आफ्नो परिचय दियो, “मेरो नाम राहुल, हिमालयबाट ।”
“म प्रफुल्ला, सागरबाट ।” उसले पनि आफ्नो नाम उस्तै पारामा भनी र दुवै एकसाथ हाँसे ।
त्यस हाँसोमा अबको यात्रा राम्रोसँग कटोस् भन्ने दुवैको मनोकांक्षा झल्कन्थ्यो ।
राहुलले झोलाबाट खाजा झिक्यो र खान थाल्यो । प्रफुल्लाले खान मानिन ।
केहीबेर सामान्य गफ गरेर उनीहरूले आँखा बन्द गरे ।
रात परिसकेको थियो । बस लगातार गुडिरहेको थियो ।
प्रफुल्ला मस्त निदाइरहेकी थिई । बेलाबेलामा उसको टाउको राहुलको काँधमा खस्किन्थ्यो । त्यसो हुँदा राहुलले काँध थप सजिलो पारिदिन्थ्यो । अचानक प्रफुल्ला राहुलतर्पm फर्किन पुगी । तर ऊ निद्रैमा थिई । प्रफुल्लाका हातहरू राहुलको नाभीतिर परे । टाउको काँधबाट चिप्लिएर छातीतिर आयो ।राहुलले प्रफुल्ला लड्ली कि भन्दै प्रेमपूर्वक उसलाई समाउँदै रह्यो ।
राहुलको मनमा कैयौँ विचारहरू उम्लिरहेका थिए । लेख्न चाहन्थ्यो, तर बसभित्र कसरी लेख्ने ? के विचारहरूलाई रेकर्ड गर्न सकिँदैन ? उसले सोच्यो ।
“किन रेकर्ड गर्नुपरयो ? त्यो सबै ब्रह्माण्डमा नै त सङ्गृहीत भइरहेको छ नि !” उसको मनमा उही पुरानै लवजको आवाज आयो, “चुपचाप आफ्नो यात्रामा लिन भैराख । एकदिन सबै रहस्य सामुन्ने आउने छ ।”
“मसँग सिटमा यसरी गुडुल्किएकी यो केटी भेष बदलेकी कात्यायनी त होइन ?” राहुलले मनमनै सोध्यो ।
“संसारको जुनसुकै ठाउँका कुवाको पानीमा प्यास बुझाउने शक्ति हुन्छ । यो केटीको नाम वा रूपसँग के सरोकार ?” मनमा आवाज आयो, “ऋण र धन ऊर्जा मिलेको यो क्षण पो महत्वपूर्ण हो त ! हेर न कस्तो आनन्दले तिमीसँग टाँस्सिएर सुतेकी छे ।”
अनि उसले आफूसँग टाँस्सिएर आनन्दले सुतिरहेकी प्रफुल्लालाई पुलुक्क हेरयो । प्रफुल्लाको स्तन आफ्नै पाखुरामा दबिएको पाएर ऊ झन कुत्कुतियो ।
उसले आफ्ना पाइतालामा भइरहेको थकान क्रमशः दूर हुँदै गएको थाहा पायो । अनि ऊ यसको आनन्द लिँदै थियो । प्रफुल्ला त्यसैगरी उसँग टाँस्सिदै गुडुल्किएर सुतेकी थिई । कन्डक्टरले मधुरो बत्ती पनि निभाइसकेको थियो ।
राहुल पनि मस्तले निदायो ।
आँखा खुल्दा बस बेतोडले गुडिरहेको थियो । उज्यालो हुने क्रम जारी थियो । प्रफुल्ला पनि जागिसकेकी थिई । त्यसपछि सम्हालिएर बाहिरको रमिता हेर्दैथिई ।
प्रफुल्ला त्यस्तै २५/२६ वर्षकी लाग्थी । बताएअनुसार केरेला निवासी भएर एउटा क्याथोलिक चर्चमा केही समय बिताएकी थिई । त्यसपछि उसलेपुनास्थित एक अनाथालयमा पढाउने काम पाएकी थिई र अहिले उसको सरुवा अहमदावादमा भएकाले रवाना लिएर त्यता हिंडेकी थिई ।
“मैले बाइबल पढेको छु ।” एकाएक राहुलले भन्यो ।
प्रफुल्ला झ्यालतिर थिई । उसको देब्रे पाटो राहुलको दाहिने पाटोसँग जोडिएको थियो । बसले टर्न लिँदा बेलाबेलामा धनात्मक र ऋणात्मक शक्तिहरू घस्रिन्थे अनि त्यहाँ बिजुली नै चम्किन्थ्यो ।
“के याद छ ?” उसले चाख मान्दै सोधी ।
“द इलिमेन्ट्स विल बी डिस्ट्रोयड बाई फायर !”
“ओह ! यसको व्याख्या ?”
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत...!”
“कहाँ बाइबलको कुरा, कहाँ संस्कृत श्लोक !”
“सबै धर्मको निचोड एउटै हो । पृथ्वीमा भार बढ्दै गएपछि प्रकृतिले विनाशद्वारा त्यसलाई सन्तुलन गर्ने उपाय रच्तछ ।”
“मनपरयो !”
“के मनपरयो ?”
“तिम्रो कुरा ! किनकि दार्शनिक ओजले भरिपूर्ण छ, कम छैन ।”
“यो व्यंग्य होइन भने तिमीलाई थाहा छ, बाइबलमा ‘ईभ’ र ‘आदम’ले कुन बर्जित फल खाए ?”
“स्याउ !”
“के तिम्रो झोलामा स्याउ छ ?”
प्रफुल्ला केवल जोडसँग हाँस्न थाली ।
राहुल यसरी नै प्रफुल्लासँग कुराकानी गर्न थाल्यो ।
प्रफुल्लाले जीवनमा कहिल्यै बिहे नगर्ने प्रण गर्दै अनाथ बालबालिकाहरूको सेवामा जुटेको रहस्य पनि खोल्न भ्याई ।
राहुलले सोध्यो, “जीवनमा यति चाँडै तिमीले कसरी निधो गरयौ— तिमी जीवनको प्राकृतिक धर्मसँग परिचय नगरेरै अस्तित्वको अर्थ बुझ्न सक्छ्यौ ? मेरो मतलब जुन प्रक्रियाले तिम्रो जन्म भयो, त्यस प्रक्रियाको बारेमा नबुझेरै कसरी जीवनलाई जान्न सक्छ्यौ ?”
“तर मैले जीवनमा बिहे नगर्ने अठोट गरिसकेकी छु ।”
“के तिमीले आफ्नो अवचेतनमा घुम्ने अज्ञात सपना र त्यहाँ जकडिएका तृष्णाहरूको अवलोकन गरेकी छौ ?”
“खासै छैन । त्यो सब सोच्ने फुर्सद कहाँ ?”
“बिहे नगर्ने निर्णय तिम्रो अवचेतनको निर्णय हो कि सतही निर्णय ?”
“यस्तो किन सोध्छौ ?”
“त्यसो भए आफ्नो चेतनाको वास्तविक रहस्य नै नबुझी कसरी तिमी निर्णय गर्न सक्छ्यौ, बिना स्याउ तिम्रो जीवन कट्छ ?” राहुलले मानौँ आफ्नो आवाज नाभीको केन्द्रबाट झिक्दै भन्यो ।
“तर मैले स्याउ नखाने निर्णय गरिसकेकी छु ।” उसले पनि उस्तै पारामा भनी ।
“चाखेकी पनि छैनौ ?”
कुहिनाले राहुललाई एक झट्का हानेर उसले भनी, “अहँ छैन ।”
“चाख्ने मनशाय पनि छैन ?” राहुलको प्रश्नले ऊ झस्किन पुगी ।
केही सोच्दै उसले भनी, “अहिले ? यहीँ बसको सिटमै ?”
राहुल सम्हालियो ।
प्रफुल्लाका गहीरा आँखाहरूमा डुब्न खोज्दै राहुलले गम्भीर भावमा भन्यो, “तर जीवनको त्यस आयामलाई नबुझी कसरी तिमी एकाएक यस्तो निर्णयमा पुग्यौ ? जुन प्रक्रियाबाट तिम्रो जन्म भयो, त्यसैलाई तिमी कसरी नकार्न सक्छौ ? मलाई ताज्जुब लाग्यो । हेर तिमी आफ्नो कामवासनाको ऊर्जालाई दबाइरहेकीछ्यौ वा त्यसलाई सम्बोधन गरिरहेकी छैनौ । यो उमेरमा नै जीवनको अथाह आयामसँग तिमी कसरी आफैंलाई छल्न सक्छ्यौ ?”
प्रफुल्ला मौन रही ।
राहुलले आफ्नो भाषण बन्द गरयो ।
अहमदावाद पनि आइपुग्यो । बसबाट ओर्लिएपछि प्रफुल्लाले सोधी, “कता जान्छौ तिमी ?” प्रफुल्लाको आवाजमा राहुलले अपार आफ्नोपन महसूस गरयो ।
“थाहा छैन । म एउटा घुमक्कड हुँ । जता पनि बरालिन्छु ।” उसले भन्यो ।
“स्याउ खाने ?” बसपार्कमा बेच्न राखिएको फलफूल पसलतर्फ देखाएर उसले सोधी । राहुल अक्मकियो ।
“एकाबिहानै कसरी स्याउ खाने ?” उसले भन्यो । म जान्छु । तिमी पनि जाऊ । बेस्ट अफ लक !”
राहुलले फलफूल पसलमा नजर लगायो । त्यहाँ आँप, मेवा, खरबूजा लगायतका फलफूलहरू त राखिएका थिए, तर स्याउ राखिएको थिएन ।
राहुल फरक्क फर्कियो र बाटातिर नजर दौडायो । त्यो केटी भीडमा मिसिइसकेकी थिई ।
तै पनि राहुल फलफूल पसलमा गयो र एक किलो स्याउ किन्न माग्यो ।
पसलेको जवाफ थियो, “स्याउ छैन हजुर ! आजकल यता स्याउको मार्केट डाउन छ !!”
राहुल ट्वाँ परयो ।




0 comments:
Post a Comment