Second Menu

विमल मलाई मेसी जस्तो लाग्छ


भाद्र १८, २०७२-
बालगोपाल महर्जन, मुख्य प्रशिक्षक, यू नाइन्टिन
चार वर्षअघि एन्फा एकेडेमीमा प्रशिक्षकका रूपमा प्रवेश गर्दा
बालगोपाल महर्जन सबैभन्दा बढी पारिश्रमिक लिने प्रशिक्षक थिए ।
त्यतिबेला उनले त्यसको विरोधहुँदा विरोधीहरूलाई कामै देखाएर जवाफ
दिने मनस्थिति बनाएका थिए । नभन्दै आज उनी नेपाली फुटबलका
सबैभन्दा सफल प्रशिक्षक भएका छन् । साफ यू–१९ च्याम्पियनसिप
जितेपछि खेलाडीसँगै मुख्य प्रशिक्षक बालगोपालको पनि प्रशंसा
भैरहेको छ । जर्मनको डीएफबी (प्रसिद्ध अन्तर्राष्ट्रिय कोच तालिम)
तथा एएफसीअन्तर्गत ‘बी’ लाइसेन्स होल्डर बालगोपालसँग नेपाली
फुटबलको वर्तमान र भविष्यका सम्बन्धमा गरिएको कुराकानीे :
फुटबलमा २२ वर्षपछि हामीले साफस्तरीय पदक हात पारेका छौं । यो
जितलाई कसरी व्याख्या गर्नुहुन्छ ?
यो ठूलो उपलब्धि हो । यसले निकै ठूलो महत्व राख्छ । २२ वर्षअघि हामी
साफ च्याम्पियन भएका थियौं, यसले त्यसलाई निरन्तरता दिएको छ भने
एन्फा एकेडेमीले काम गरिरहेको छ भन्ने पनि देखिएको छ । अहिले हामीले
खेलाएका खेलाडीमध्ये ९५ प्रतिशतभन्दा बढी खेलाडी एकेडेमीले गाउँ–
गाउँबाट ल्याएर प्रशिक्षण दिएका किशोर छन् । यो जितले हामीले
निश्चित उद्देश्य लिएर काम गरिरहेका छौं र त्यो ठीक दिशातर्फ गैरहेको
छ भन्ने सन्देश पनि दिएको छ ।
यो जित हात पर्नुका पछाडि तपाईंको कुन–कुन मेहनतले बढी काम गरेको
थियो ?
एक त मैले यसमा शतप्रतिशत ध्यान दिएको थिएँ । मैले अरू कुनै काम हातमा
लिइनँ । आलोचना गर्ने आशय त मेरो छैन, तैपनि कतिपय प्रशिक्षक एकछिन
एन्फामा, एकछिन कुनै क्लबमा अनि एकछिनमा सेनाको गण
पुगिरहनुभएको छ । यसलाई उहाँहरूले पार्टटाइम जबका रूपमा लिनुभएको छ
। मेरो विचारमा राष्ट्रिय टिमका कुनै पनि समूहलाई प्रशिक्षित गर्नु
भनेको केवल जागिर मात्र होइन, यो राष्ट्रिय इज्जतको कुरा पनि हो ।
यसलाई सिरियस रूपमा लिनुपर्छ । मैले लक्ष्य लिएर नै काम हातमा
लिएको थिएँ । एउटा यो कारण हुनसक्छ । अर्को, यी युवाहरूलाई मैले ४
वर्षदेखि गाइड गरिरहेको थिएँ । कुन खेलाडीको कस्तो बानी छ, कुन बेला
कसलाई कसरी फकाउनुपर्छ, कसरी काम लिनुपर्छ भन्ने कुरा मलाई
राम्रोसँग थाहा थियो । खेलबाहेक म उनीहरूको पारिवारिक अवस्था,
व्यक्तिगत आनीबानीसँग पनि परिचित छु । यसकारण पनि मैले उनीहरूबाट
बढी काम लिएँ । पार्टटाइमका रूपमा काम गर्दा यी सबै कुरा थाहा हुँदैन ।
यो चार वर्षमा आफूले खेलाडीहरूलाई के दिएँ भन्ने मान्नुहुन्छ ?
म खेलाडी हुँदा पनि किचकिच गरिरहने मान्छे थिएँ । वास्तवमा म
राम्रोका लागि बोल्छु । जस्तो, खेलाडीहरूलाई के खान मन लाग्छ, कति
खान मन लाग्छ, त्यो उनीहरूले सोधिरहनु नपरोस् । उनीहरूलाई कस्तो
जुत्ता चाहियो, कस्तो मैदान चाहियो, उनीहरू के गर्दा खुसी हुन्छन् भनेर
सोधिरहनु नपरोस्, उनीहरूले कुनै कुरा सोच्नेबित्तिकै आफ्नो आवश्यकता
पूरा भएको महसुस गरून् भनेर लागिरहन्छु । मैले उनीहरूका माग पूरा गरेको छु
भन्ने लाग्छ । त्यसबाहेक उनीहरूलाई प्राक्टिस गराउन विभिन्न टुनामेन्ट
गराइरहन्छु । ४ वर्षअघि यिनै खेलाडीहरूलाई एएफसी अन्डर १४ फेस्टिबल
सञ्चालन गरेँ । हामी दक्षिण एसियाली खेलमा फाइनलसम्म पुग्यौं ।
त्यसपछि लगातार कुनै न कुनै टुर्नामेन्ट गराउने प्रयत्न भैरहेको छ । यसले पनि
अहिलेको जितलाई सहज बनायो भन्ने लाग्छ ।
अहिले प्रतियोगिता जितेका खेलाडीहरूमध्ये तपाईं कसबाट बढी
प्रभावित हुनुहुन्छ ?
सबै आफ्नो ठाउँमा अब्बल छन् । अनन्त तामाङ र हेमन्त थापामगरको पढाइ
पनि राम्रो छ । यसपटक विश्वास श्रेष्ठले निकै राम्रो खेले । बिमल
घर्तीमगरको स्पिड देख्दा मलाई मेसीको सम्झना आउँछ । उनी बल लिएर
दौडिएको दौडियै गोलपोस्टसम्म पुग्न सक्छन् । यता गोलकिपर सोजित
गुरुङ जम्मा १६ वर्षका भए । यसपटक भारतसँगको खेलमा उनले जसरी
पेनाल्टी गोल बचाए, त्यसबाट पनि उनको ठूलो सम्भावना देखिन्छ ।
अन्जन विष्ट तथा अनन्त तामाङको खेल पनि लोभलाग्दो छ । यसरी
विश्लेषण गर्दै जाँदा सबै खेलाडीले आफ्नो ठाउँबाट राम्रो गरिरहेका छन्
। सबैको खेल विश्लेषण गर्दै जाने हो भने त तपाईंको पत्रिकाको पूरै पेज
भरिन्छ ।
तपाईंले नाम लिएका खेलाडीहरूका कमजोरी पनि होलान्, उनीहरूले के–के
सुधार गर्नुपर्छ ?
सुरुमा गोलकिपर सोजितकै कुरा गरौं । उमेर कम भएका कारण हुनसक्छ,
कतिपय खेलमा उनमा कमजोरी देखियो । भुटानसँगको खेलमा छातीले बल
रोक्न खोज्दा हामीले गोल खानुपर्यो । यो गर्नै नहुने काम थियो ।
विश्वास श्रेष्ठको खेल साह्रै राम्रो छ तर उनी चारैतिर घेरिएको र प्रेसर
भएको अवस्थामा पनि आफ्नै खुट्टामा बलमा राख्नुपर्छ भन्ने सोचले ग्रस्त
छन् । यसलाई सुधार गर्नुपर्छ । विमलको स्पिड राम्रो छ तर मिडफिल्डबाटै
बल लिएर दगुर्नु राम्रो होइन । त्यतिबेला विपक्षीले उनको बल खोस्दा
आफ्नो टिमलाई हानी गर्छ भन्ने कुरा उनले बिर्सनु हुँदैन ।
यी खेलाडीहरूको भविष्यले नेपालको फुटबल माथि जान्छ कि उनीहरू
सामान्य अवस्थामा रहन्छन् ?
म उनीहरूको भविष्य सुरक्षित देखिरहेको छु । यसको अर्थ नेपालको फुटबल
खेल माथि नै जान्छ भन्ने लागिरहेको छ । केही समयअघि नेपालको
राष्ट्रिय टिमसँग यो टिमको प्रतिस्पर्धा गराएको थिएँ । दुवै टिमले
बराबर खेले तर कतिपय अवस्थामा मेरो फुच्चे टिमले राष्ट्रिय
खेलाडीहरूलाई नै आच्छु–आच्छु पारेको देखियो । तैपनि दक्षिण
एसियाली देशका खेलाडीहरूको तुलनामा हामी धेरै माथि छैनांै । हाम्रा
आफ्ना व्यवस्थापकीय कमजोरीहरू पनि छन् ।
नेपालका लोभलाग्दा खेलाडीको नाम लिनुपर्दा क–कसको नाम
लिनुहुन्छ ?
अध्ययनशील खेलाडीको नाम लिनुपर्दा म उमेश प्रधानको नाम लिन्छु ।
रूपकराज शर्मा अर्का राम्रा खेलाडी हुन् । मणि शाह, गणेश थापा, हरि
खड्का, उपेन्द्रमान सिंहले नेपालको नाम चम्काएका हुन् । यसरी हेर्दा
हाम्रो इतिहास गौरवपूर्ण छ ।
तपाईंले प्रशिक्षण दिइरहेका युवा खेलाडी यी माथिका नामसँग जोडिन
सक्लान् ? यी खेलाडीले पनि त्यस्तै इतिहास रच्लान् ?
उनीहरूमा त्यो क्षमता छ । अब हामीले उनीहरूलाई कस्तो वातावरण
दिन्छौं, उनीहरूलाई कति माझ्छौं, त्यसमा उनीहरूको भविष्य निर्धारण
हुन्छ । हो, हिजो हामीले डाइट खाँदा पैसाको सिलिङ तोकिएको
हुन्थ्यो, आज त्यो छैन । हिजोको तुलनामा आजको अवस्था सहज छ ।
तैपनि विश्व परिवेश हाम्रो तुलनामा बढी टेक्निकल हुँदै तीव्र प्रगतिमा छ
। त्यो हामीले पनि दिन सक्नुपर्छ ।
सरकार वा जनताबाट केही आशा राख्नुभएको छ ?
मैले कहिल्यै कुनै दलको झन्डा बोकिनँ । झन्डा बोक्ने साथीहरू अहिले
राष्ट्रिय खेलकुद परिषद्देखि कता–कता जागिरे छन् । दल निकट नभएकै
कारण मैले आजसम्म केही पाइनँ, किनभने म खोज्दै गइन् । खोज्नेले मात्र
पाउने संस्कार बसाएका कारण यस्तो भएको हुनसक्छ । अब यस्तो प्रवृत्ति
अन्त्य हुनुपर्छ । अहिले शुद्ध काम गरेर खेल जिताएपछि मेरो मूल्यांकन
होला भन्ने आशा राखेको छु । त्यसो भयो भने देशको सेवा गर्न कसैको
नजिक हुनुपर्दैन भन्ने सन्देश जान्छ ।
यो खेल जितेपछि तपाईंले महसुस गर्नुभएको सबैभन्दा रमाइलो कुरा के हो ?
देशको राजनीतिक अवस्था बिग्रिरहेको बेला फुटबल टिमले राष्ट्रिय
एकताको सन्देश दिएको छ । क्षेत्रीले पास दियो, तामाङले गोल हान्यो,
श्रेष्ठले सिकायो, नेपाललाई जितायो भन्ने खालको सन्देश सामाजिक
सञ्जालदेखि चोक–चोकमा चलेको चर्चा देख्दा गौरव लागिरहेको छ । म
राजनीति त्यति जान्दिनँ, तैपनि हामी सबै मिले मात्र देश बन्छ ।

No comments:

Post a Comment