Second Menu

हँसिला मित्र र रुवाउने समाचार


भाद्र १८, २०७२-
मलाई पुग्नु थियो कोपेनहेगन, डेनमार्कको राजधानी । इस्तानबुलको
एयरपोर्टमा प्लेन ढिलो हुँदा दिक्क लागिसकेको थियो । म एयरपोर्टमा
थाकुन्जेल बसिसकेको थिएँ । कोपेनहेगन एयरपोर्टमा लिन आउँछु भन्ने
साथी पनि फर्केर जाला भन्ने डर भयो । नयाँ ठाउँ, नयाँ परिवेश, आफूसँग
मोबाइल हुने कुरा पनि भएन । ओर्लने बेलामा इमिग्रेसनमा दु:ख दिन सक्छन्
भन्ने सुनेको थिएँ । यसै दिक्क लागेर आएको थियो ।
बल्लतल्ल प्लेनभित्र गइयो । फेरि मानिसहरूको सिट मिलाउन आधा–पौने
घण्टा खर्चियो । अनि बल्ल उड्यो । प्लेनभित्र तीन जनाको सिटमा
हामी दुई जना मात्र थियौँ । नजिकैको एउटा सिट खाली नै थियो ।
आधा बाटो नपुग्दै एक जना बूढा ‘खाली हो ?’ भन्दै आइपुगे । मैले ‘हो’
भनेपछि बूढा मुसुक्क हाँस्दै बसे । खैरो केश, मोटो ज्यान । डेनिस नै हुन् कि
होइनन्, कहाँ छुट्याउन सक्नु ?
जोसुकै होस् बोल्न मन भने पटक्कै लागेन । म फ्लाइट ढिला भएकोमा आफ्नै
तनावमा थिएँ ।
केही बेरमा खानेकुराको अर्डर लिन एयर होस्टेज आइपुगिन् । मन्द मुस्कान
दिँदै सोधिन्, ‘के खाने ?’
बूढा छेउमा भएकाले मेनु देखाउँदै भनेँ, ‘सालमोन’
मैले पनि त्यही देखाएँ ।
फेरि मन्द मुस्कान फ्याँक्दै सोधिन्, ‘के पिउने ?’
बूढाले जवाफ दिए, ‘रेड वाइन ।’
मैले पनि त्यही देखाइदिएँ । बूढाले पुलुक्क मतिर हेरे । म मुस्कुराइदिएँ ।
तीन–चार घुट्का रेड वाइन कस्सिएर निलिसकेपछि दिमाग अलिक खुकुलो
भयो । तनाव अलिक कम भयो । बूढा पनि एक्लै एक्लै मुस्कुराइरहेका थिए ।
हँसिलो अनुहार थियो । तिनलाई पनि अपरिचितसँग बोलिहाल्न मन
लागेको थिएन, तर खानेकुराको प्याकेट र वाइनका ग्लासहरू भने मुस्कुराउँदै
मतिर सारिरहेका थिए । जवाफमा मपनि मुस्कुराइरहेको थिएँ ।
बूढाले दाहिने हातमा घडी लगाएका रहेछन् । एक राउन्ड सोधेँ, ‘कति
बज्यो ?’
समय हेरेर भन्दिए ।
बोलेको यत्ति हो । अब बूढाले नै संवाद अघि बढाए । सोधे,
‘पाकिस्तानबाट हो ?’
मैले भनेँ, ‘होइन नेपालबाट । तपाईं ?’
‘म डेनिस नागरिक हुँ । ओले मेरो नाम । सिभिल इन्जिनियर । इजिप्टमा
काम गर्छु र अहिले घर फर्कन लागिरहेछु ।’
मैले पनि आफ्नो पेसा आदिका बारेमा भनेँ । बूढाले नेपालमा गएको
भूकम्पका बारेमा खुब चासो लिए । मैले आफूले जानेजति सप्पै भनिदिएँ ।
नेपाली साह्रै सह्दयी हुन्छन्, सहयोगी हुन्छन्– बूढाले थपे । मेरो छाती
चौडा भयो ।
‘कहाँ बस्ने कोपेनहेगनमा ?’ बूढाको प्रश्न ।
मैले आईप्याड खोलेर साथीले दिएको ठेगाना पूरै देखाइदिएँ ।
‘यो त मेरो छोरी बस्ने ठेगाना । यही बिल्डिङमा बस्छिन् छोरी ।’
‘वाउ !’ मैले भनेँ, ‘म भेटौँला र मेरो साथीसँग पनि परिचय गराउँला ।’
मैलेपनि डेनमार्कका बारेमा केही जानकारी लिएँ । प्लेन निकै तल
झरिसकेको थियो तर रोकिन अझै दस–पन्ध्र मिनेट नै बाँकी थियो ।
समुन्द्र र त्यसको किनारा एवं पानीमाथि नै विण्ड मिलहरू देखिन लागे ।
डेनमार्कमा खुब हावा चल्छ । पहिल्यै सुनेको । त्यसैलाई ऊर्जामा
रूपान्तरण गरेको छ डेनिस सरकारले । आँखैले देखेँ । मैले तारिफ गरेँ । को मुर्ख
होला जो आफ्नो देशको प्रशंसामा नरमाउला । म पनि मुर्ख साबित हुन्थें
होला, यदि बूढाले हिमाल र सगरमाथाको नाम लिएर मेरो देशको चर्चा
गर्दा मख्ख नपरेको भए ।
प्लेन रोकिने बेलामा बूढालाई भनेँ, ‘के म आफ्नो साथीलाई फोन गर्न
तपाईंको सेल युज गर्न सक्छु ?’
‘किन हुँदैन ? पक्कै पनि ।’ बूढाले खुसी हुँदै जवाफ दिए ।
एयरपोर्टमा झर्नासाथ बूढाले मेरा मित्रको फोन डायल गरिदिए । मित्र
एयरपोर्ट बाहिरै रै’छिन् । भनिन्, ‘मैले फ्लाइट ढिलो हुन्छ भन्ने जानकारी
नेटबाटै पाइसकेकी थिएँ । भर्खरै आएँ यहाँ । लगेज लिएर निस्क ।’
बूढासँग लगेज थिएन । तैपनि हाम्रो लगेज लिइदिन परसम्म गए । हाम्रो
बडेमानका सुटकेसहरू बोकिदिए र बाहिरसम्म पुर्याए । कोपेनहेगनमा केही
समस्या परे फोन गर्नू भनेर मोबाइल नम्बर पनि दिए । समग्रमा यसो भनौँ,
बूढालाई हाम्रा लागि अझै धेरै गर्न मन थियो ।
एयरपोर्ट बाहिर मेट्रोसम्म सँगै आए बूढा र त्यहाँबाट अलग्गिए । मेट्रोको
सिसाबाट परसम्म हात हल्लाइरहे ।
यति टाढा आएर पनि भाषा नमिल्ने मान्छेलाई सहयोग गरिदिए । खुब
आदर गरेर बोले । मेरो देशको प्रशंसा गरिदिए । यी सब गर्न पाउँदा आफू
धन्य भएको अभिव्यक्ति पनि दिए ।
साथीको अपार्टमेन्टमा आइपुग्नेबित्तिकै नेट चलाउने मन लाग्यो ।
ल्यापटप खुलेको मात्र थियो, समाचार छ्याप्छ्याप्ती छ । मारकाट
चलिरहेको छ । मान्छेले मान्छेलाई ज्यूँदै जलाएछन् ।
मलाई खालि एउटै कुरा दिमागमा आइरह्यो– भर्खरै परिचित ती डेनिस
बूढाले नेपालको यो समाचार कसै गरे पनि थाहा नपाऊन् !

No comments:

Post a Comment