कलाकारको गाईजात्रामा एकताको सन्देश
नेमिष गौतम, काठमाडौं । वर्षमा एकपटक आउने गाईजात्रा कमेडियनको
लागि दशैं सरह नै हुन्छ । महिना दिन भरी आफ्ना प्रहसनमार्फत दर्शकलाई
हँसाउने उनीहरु एक महिना निकै व्यस्त बन्छन् । सार्वजनिक विदाको दिन दुई
शो र अन्य दिनमा एक शो गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिन्छन् ।
विशेषत गाईजात्रामा कलाकारले राजनीतिक विषयलाई बढी जोड दिन्छन् ।
राजनीतिक व्यंग्यसँगै सामाजिक विकृतिका कुरालाई श्लील र अश्लिल
शैलीका संवाद प्रयोग गरेर दर्शकलाई मनोरञ्जन दिन्छन् । विगतका वर्ष झैं यो
वर्ष पनि राजधानीको कमलादाीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको
सभाहलमा ‘तिते जिरे मेरीबास्सै’ गाईजात्रा चलिरहेको छ । विगतका
गाईजात्रा भन्दा यसपटकको गाईजात्रा सभ्य र गैर राजनीतिक शैलीको छ ।
राजनीति यस अर्थमा कि विगतका गाईजात्रामा उनीहरुको अधिकांश
प्रहसनको व्यंग्य नेता तथा सभासदलाई हुन्थ्यो । तर यसपटक उनीहरुले बढी भूकम्प
र राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर प्रहसन गरेका छन् ।
राजा राजेन्द्रको कार्यक्रम सञ्चालनबाट शुरु हुने गाईजात्रामा प्रहसनतर्फ
पहिलो प्रहसन ‘जिरे खुर्सानी’ टिमको छ । हिन्दु र मुस्लिम समुदायका नेपाली
बीच फाटो बढाएर विदेशीहरुले नेपाली भूमिमा कसरी चलखेल गर्छन् भन्ने कुरा यो
समूहले प्रस्तुत गरेको छ । राजाराम पौडेल, शिवहरि बैरागी, देवीराम पराजुली,
निरज नेपाल, रमेश अधिकारीलगायतले अभिनय गरेको प्रहसनमा देशमा भूमि बेच्न
नेपाली आफै दलाल बनेको उदाहरण पनि दिएका छन् ।
जिरे खुर्सानीकै शिवहरि पौड्याल, मनोज आचार्य, सीता गुरुङ, निरज
नेपाललगायतले अभिनय गरेको अर्को प्रहसनले भूकम्प पछि नेपालीको
अवस्थालाई बुझाएको छ । भूकम्प पछि भिन्न समुदायका नेपालीहरु कसरी
झगडा गरेर त्रिपाल मुनि बस्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ । विशेषत त्रिपाल
भित्र बस्दा भिन्न जातका मानिसहरुले आफ्नो सुत्ने क्षेत्र माग गर्दै गरेको
झगडाले नेपालमा जातीय राज्यको फैलिएको त्रासलाई प्रस्तुत गरेको छ ।
मेरी बास्सै टिमबाट केदार घिमिरे, सुनिता गौतम, विल्सन विक्रम राईलगायतले
गरेको अचम्मको दुलो नामको प्रहसनले मानिसले अर्को रुप पाएपछि कस्तो
व्यवहार गर्छ भन्ने कुरालाई प्रस्तुत गरेको छ । त्यस्तै तितो सत्य युनिटले धरहराको
विषयलाई लिएर बनाएको प्रहसनले दर्शकलाई हसाउनुका साथै देशको अवस्था
सम्झाएर गम्भीर बनाईदिन्छ । धरहरा ढलेको थाहा पाएपछि पृथ्वीमा आएका
भीमसेन थापाले आफुले बनाएको स्तम्भलाई पहिलेकै अवस्थामा ल्याउन गर्नुपरेको
संघर्षलाई प्रहसनले प्रस्तुत गरेको छ । एउटा धरहरा ठडाउनका लागि यहाँ रहेका
नेवार, मधेशी, तामाङलगायतका समुदायले प्रदेशको नाम दिएर धरहरा उठाउन
गरेको असहयोगलाई प्रहसनमा प्रस्तुत गरिएको छ । असहयोग रहँदा रहँदै पनि
विभिन्न जातजातिका मानिसहरु एकीकृत भएर त्यही धरहरा ठडाएको प्रसंगले
राष्ट्रियताको भावलाई झल्काएको छ । यो प्रहसनमा दीपकराज गिरी,
दीपाश्री निरौला, रवि डंगोल, पुर्ण थापा, आरपी भट्टराई र सुरवीर
पण्डितलगायतको अभिनय छ । कमेडियनका सबै प्रहसनको सन्देश चाहिँ राष्ट्रिय
एकता नै रहेको छ । यसपटक उनीहरुले विगतका भन्दा कम मात्र दुई अर्थी लाग्ने
संवादको प्रयोग गरेका छन् ।
गाईजात्रामा स्टेण्डअप कमेडीयनका रुपमा परिचित मनोज गजुरेलको दुई प्रस्तुति
तारिफ योग्य छ । नेपालमा वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भौतिक
संरचना ध्वस्त बनाएपछि त्यसको पुननिर्माणका लागि राजधानीमा केही समय
अघि गरिएको दाता सम्मेलनलाई उनले व्यंग्य गरेका छन् । दाताहरुले जति धेरै सहयोग
गरे पनि त्यसको कार्यान्वयन पक्षलाई उनले व्यंग्यवाण हानेका छन् । अर्को
प्रहसनमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बनेका मनोजले
कर्मचारीतन्त्रमा देखिएको डीभी र पीआर प्रवृत्तिलाई व्यंग्य गरेका छन् । हाँस्य
कवि शैलेन्द्र सिंखडाको हाँस्य कविताले दर्शकलाई मज्जाले नै हँसाउँछ ।
सबै कलाकारले आफ्नो प्रस्तुति राम्रोसँग दिए पनि प्यारोडी गायकका रुपमा
स्टेजमा आएका टीका भण्डारीको प्रस्तुति भने फितलो छ । झण्डै १०÷१५ मिनेट
एक्लै स्टेजमा प्यारोडी गीत गाए पनि गीतमा हँसाउने कुरा भने खासै छैन ।



0 comments:
Post a Comment