हिटर बाल्ने, कफी खाने, न्यानो लुगा लगाउने त हो नि, धेरै नै गाह्रो हुँदा
ब्लांकेटले मुख छोप्ने अनि गीत सुन्दै सुत्ने ।
- वर्षासिंह ठकुरी, नायिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिमाग तताउने नीति
अख्तियार गर्छु, अख्तियारको दिमागै तातेपछि त मेरो शरीरको के कुरा
गर्नु र खै ?
- सत्यराज आचार्य, गायक
जाडोमा शरीर तताउने आइडिया तपाईंलाई थाहा छैन ? बुढापाकाहरूको
भनाइ नै छ नि— रुई, फुई र दुईको नीति अख्तियार गर्नुपर्छ । त्यसपछि शरीर
त थामिनसक्नु तातो हुन्छ, म त त्यही फर्मुला अपनाउँछु ।
- देविका केसी, लोकदोहोरी गायिका
बिहान झिसमिसेदेखि नै ग्रेन्डफादरको म्यारिज देखिने गरी धर्नासो
लुगलुग हुने हुँदासक्नेले मदिसे (मदिरा दिउँसै सेवन) अझ कमजोरले मझिसे
(मदिरा झिसमिसमै सेवन) गर्ने नीति पो सान्दर्भिक हो कि ?
- नारद खतिवडा, हास्यकलाकार
जाडोमा शरीर तताउन जिमखाना गएर अलि बढी एक्सरसाइज गर्नुपर्छ ।
जाडो मौसम त मेरो फेभरेट हो, त्यसैले चिसोको वास्तै हुँदैन ।
- वर्षा राउत, मोडल
जाडोमा शरीर तताउन झ्याइँखुट्टे बजाउने हो । जाडो हटाउने योभन्दा
राम्रो अर्को काइदा छैन ।
- योगेन्द्र श्रेष्ठ, द्वन्द्वनिर्देशक
बिहान उठ्नेबित्तिकै चिसो पानीले नुहाउने अनि एक्सरसाइज गर्ने,
त्यसपछि न्यानो कपडा लगाउने र तातो तरल पदार्थ पिउने, यति गर्दा
पनि जाडो भागेन भने पिरो बढी खाने ।
- वर्षा शिवाकोटी, नायिका
जाडोमा त शरीर तताउन रनिङ र जगिङ उपयुक्त हुन्छ । त्यसले स्वास्थ्य
पनि राम्रो हुन्छ । आफू जाँडरक्सी नखाने भएकाले यही नै सही होला
जस्तो पो लाग्यो हजुर ।
- फुर्वा शेर्पा, निर्देशक
म त मस्तसँग नाचेर ज्यान तताउँछु, अनि मेरो फेभरेट ब्लांकेटमा छिर्छु,
त्यसपछि जाडो गायब । दिउँसो जाडो भयो भने १० पटकभन्दा बढी कफी
पिउँछु ।
- मञ्जु पौडेल, गायिका
तातो खाने, टन्न लगाउने त्यतिले पनि पुगेन भने बाहिर नगई घरमै बसेर मापसे
गर्ने, अझ त्यतिले पनि पुगेन भने........ अनि त आफैं जाडो गायब ।
- सीताराम पोख्रेल, गायक
केटाहरूलाई त खासै समस्या हुँदैन, जाडोमा झ्याप्प ज्याकेट लगाएर
हिँडिरहेका हुन्छन् तर केटीहरू जाडोमा पनि अर्धनग्न हुन्छन्, उनीहरूलाई
कति जाडो हुन्छ होला जस्तो लाग्छ देख्दा पनि, केटीहरूको शरीरमा
चाहिँ हिटर नै जोडिदिनुपर्ला कि ?
- सुनिल रावल, निर्माता
जाडो मलाई मनपर्ने मौसम हो, जाडोमा फरको कोट र बुट लगाउनुको
मज्जा छुट्टै हुन्छ । त्यतिले पनि जाडो भागेन भने मज्जाले नाच्छु ।
- रिमा विश्वकर्मा, नायिका
झोल नीति आफूलाई हाल नचल्ने ! हिटर नीतिका लागि बत्ती नै नहुने,
ग्यासको पनि अभाव सुरु भैसक्यो रे, अब ग्यास नीति पनि काम नलाग्ने
भो, काठमाडौंमा दाउराको आगोको नीति सोच्नु नै मुर्खता हुन्छ ।
साह्रै गाह्रो पो पर्यो शरीर तताउन, अब अन्तिम विकल्प नीति पुर्खाले
भने जस्तै रुई, फुई र दुईकै नितितिर मन घुमाउनुपर्ला !



0 comments:
Post a Comment