भाद्र १५, २०७२-
अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’
ट्राभलिङ किम्फका रूपमा सम्पन्न भएको छ । अगस्ट २९ मा न्युयोर्कस्थित शेर्पा
किदुंगको हलमा पहिलो पटक सम्पन्न महोत्सवमा देशी–विदेशी दर्शकहरूको सहभागिता
थियो ।
हिमाल एसोसिएसनले हरेक वर्ष सञ्चालन गर्दै आएको किम्फलाई न्युयोर्कमा एभरेस्ट
टाइम्सले सहआयोजना गरेको हो । नेपाली जनजीवनलाई दुरुस्त उतारिएका डकुमेन्ट्री
किम्फमार्फत न्युयोर्कमा देखाउन पाएकोमा आयोजक एभरेस्ट टाइम्सका प्रधानसम्पादक
आङछिरिड शेर्पाले खुसी व्यक्त गरे । पहिलो पटक नै दर्शकको उत्साहजनक सहभागिताले
किम्फलाई निरन्तरता दिन आफू उत्साहित भएको शेर्पाले बताए । यसपालि न्युयोर्क
प्रदर्शनमा संकलित रकम भूकम्पले भत्किएको सोलुखुम्बु केरुङस्थित चागेस्थान माध्यमिक
विद्यालय निर्माणमा खर्च गरिने भएको छ ।
अन्तर्राष्ट्रिय ट्राभलिङ किम्फको जानकारी दिँदै संयोजक डम्बरकृष्ण श्रेष्ठले हरेक वर्ष
५५ देखि ६० वटा मुलुकबाट ३ सयभन्दा बढी चलचित्र सहभागी हुने किम्फ हङकङ र मकाउमा
हरेक वर्ष फेब्रुअरी महिनामा सञ्चालन हुने तथा अबदेखि अमेरिकाको न्युयोर्कमा हरेक
वर्षको अगस्ट महिनाको अन्तिममा यो महोत्सव सञ्चालन गरिने बताए ।
नेपालका ४७ जिल्लामा प्रदर्शन भैसकेको किम्फ गएको फेब्रुअरीदेखि हङकङ र मकाउमा
समेत प्रदर्शन गर्न थालिएको हो । किम्फको मुख्य कार्यक्रम हरेक वर्ष डिसेम्बरमा
काठमाडौंमा हुँदै आएको छ । न्युयोर्क प्रदर्शनीमा यसपटक नेपाली पानोरमाअन्तर्गत
उत्कृष्ट घोषित भोजराज भाटद्वारा निर्देशित ‘सुनाकली’, लक्छा बान्तवाको ‘पवनु’,
सचिन घिमिरेको ‘पुन्टेको पाङ्ग्रो’ र दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ प्रदर्शन
गरिएको थियो ।
Second Menu
▼
No comments:
Post a Comment