– वर्षा राउत (मोडल)
नेपाली मोडलिङ क्षेत्रकी आशालाग्दी र पेशेवर मोडल हुन बर्षा राउत ।
काठमाडौैँमा जन्मिएकी वर्षा राउतले ३ बर्षभित्र ६० वटा म्युजिक
भिडियोमा अभिनय गरिसकेकी छिन । छिट्टै नै नेपाली चलचित्र क्षेत्रमा डेब्यु
गर्न लागेकी अहिलेकी चर्चित मोडल वर्षा राउतसँग काभे्र टाइम्स
साप्ताहिकका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० आजभोलि के गदै हुनुहुन्छ ?
म्युजिक भिडियो तथा विज्ञापनहरुमा ब्यस्त छु ।
० तपाईले हालसालै अभिनय गर्नुभएको म्युजिक भिडियो कुन हो ?
नकुल कार्कीको गीत संगीत तथा गायन रहेको ‘आखिर किन’ बोलको गीतको
म्युजिक भिडियोमा गत हप्ता मात्र अभिनय गरेको छु । कृष्ण पौड्यालको
निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायाङ्कन काभे्र जिल्लाको
पनौती, खोपासी तथा धुलिखेलमा गरिएको थियो ।
० म्युजिक भिडियोमा अभिनय गर्नु तपाईको शौख हो या पेशा हो ?
सुरुमा रमाइलो लागेर म्युजिक भिडियोमा अभिनय गर्न थालेको हुँ । तर अहिले
यो नै मेरो पेशा भएको छ । हालसम्म ६० वटा भन्दा बढि म्युजिक भिडियोमा
अभिनय गरिसकेको छु ।
० म्युजिक भिडियोमा अवसर कसरी पाउनुभयो ?
चिनेको दाईको सम्पर्कले म्युजिक भिडियोमा चान्स पाएकी हुँ । पहिलो
म्युजिक भिडियोमा म सह—नायिका थिएँ । त्यसको २ महिनापछि म सोलो
मोडल भएकी हुँ ।
० तपाईलाई लाखौैँ दर्शकमाझ चिनाउने म्युुजिक भिडियो कुन हो ?
गायक कमल खत्रीको तस्वीर गीतको म्युजिक भिडियो अत्याधिक दर्शकहरुले
मन पराउनुभयो । यो गीतको म्युजिक भिडियोले नै मलाई मिडियामा
स्थापित गरायो ।
० हाम्रो समाजमा आफै पनि केटी मान्छे मोडलिङ क्षेत्रमा लाग्नुलाई
नराम्रो सोच्छन, किन होला ?
कुनै पनि पेशा तथा काम आफैमा खराब हुँदैन । खराव हुन्छ त त्यो पेशामा लाग्ने
ब्यक्तिहरुको आचरण । हरेक कुरामा राम्रो तथा नराम्रो दुबै पक्ष हुन्छन् । राम्रो
पक्ष छोडेर नराम्रो पक्षको मात्र कुरा गर्नु राम्रो हुदैन । मोडलिङ ब्यवसायले
हजारौैँ युवतीहरुलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएको छ । समाजको
अगाडि प्रष्ट बोल्न सक्ने चेतनशील बनाएको छ ।
० मोडलिङ क्षेत्रलाई खराव बनाउने तत्व के हुन जस्तो लाग्छ ?
आफूमा कुनै पनि प्रतिभा नभइकन मोडलिङ क्षेत्रमा लाग्ने मोडलहरुले यो
पेशालाई बदनाम गराएका छन । नपढिकन जाँचमा पास हुन खोज्ने विद्यार्थी र
रुपको भरमा एकैपटक मोडलिङ क्षेत्रमा चर्चित हुन खोज्ने मोडल उस्तै हुन् ।
उनीहरुले रोज्जे भनेकै चोरीको बाटो हो । जसले उनीहरुलाई मात्र होइन
समाजलाई पनि दुषित बनाउँछ ।
० आजकालका केटीहरु आफुलाई राम्री देख्ने बित्तिक्कै नायिका बन्ने सपना
देख्छन् । के नायिका तथा मोडल बन्न त्यति सजिलो छ ?
राम्री देख्दैमा नायिका बन्छु भनेर सपना देख्नु आजकालका केटीहरुको गलत
प्रवृत्ति हो । प्रतिभा र योग्यता नभइकन मिडियामा प्रवेश गर्न त सकिएला
तर दर्शकहरुको मन जित्न र टिक्न गाह्रो छ । नायिका र मोडल बन्न शारीरिक
तथा मानसिक दुवै रुपले स्वस्थ, असल खराव छुट्याउन सक्ने क्षमता प्रष्ट बोली,
सबैसंग समान ब्यवहार… इत्यादी गुणहरु हुनुपर्छ ।
० के एउटा मोडलमा हुनुपर्ने गुणहरु तपाईमा छ त ?
सबै गुणहरु त छैन होला तर एउटा मोडलमा नभइनहुने केहि गुणहरु भने अवश्य छन ।
नृत्य तथा अभिनयको प्रशिक्षण लिएकी छु । धेरै निर्माता तथा निर्देशकहरुसँग
काम गरेको अनुभव छ । अनुभवले पनि धेरै कुरा सिकाउँछ ।
० म्युजिक भिडियोमा अभिनय गर्नु अगाडि पारिश्रमिकमा कतिको
बार्गेनिङ हुन्छ ?
बार्गेनिङ हुन्छ । कुनै–कुनै निर्माता तथा निर्देशकसँग त रत्नपार्कमा बेच्न
राखेको लुगाको जस्तै बार्गेनिङ हुन्छ ।
० किन तपाईहरुको पारिश्रमिक नतोकिएको ?
प्रत्येक मोडलहरुको आफ्नो छुट्टै पारिश्रमिक छ । तर कुनै कुनै नयाँ आउने
मोडलहरुले सित्तै खेलिदिने भएपछि हामीले पनि बाध्य भएर रेट घटाउनुपर्ने हुन्छ ।
० म्युजिक भिडियोमा अभिनय गर्नको लागि परिवारको कतिको साथ
पाउनुभएको छ ?
मलाई परिवारका पूर्ण समर्थन छ । परिवारको साथ बिना कुनै पनि केटी मान्छे
मोडलिङ क्षेत्रमा लाग्नु हुँदैन ।
० आफ्नो पहिलो म्युजिक भिडियो टेलिभिजनमा प्रशारण हुँदा कस्तो अनुभव
गर्नु भयो ?
मनमा एक प्रकारको डर लागिरहेको थियो । तर मेरो ममि धेरै खुसी हुनुभयो ।
उहाँले सबै साथीभाईहरुलाई छोरीको म्युजिक भिडियो टेलिभिजनमा
आइरहेको छ हेर्नु है भनेर फोन गर्दा म पनि धेरै खुसी भएको थिएँ ।
० म्युजिक भिडियोमा अभिनय गर्दा लगाउने ड्रेसहरु निर्माताले उपलब्ध गराउनु
हुन्छ कि त्यसको ब्यवस्था तपाई आफै गर्नुहुन्छ ?
कुनै कुनै निर्माताले उपलब्ध गराउनुहुन्छ भने कहिलेकाहीँ आफुले लगाउने डे«सका
व्यवस्था आफैले गर्नुपर्छ ।
० म्युजिक भिडियोमा अभिनय गर्नु र चलचित्रमा अभिनय गर्नुमा त धेरै अन्तर छ
नि होइन र ?
हो । म्युजिक भिडियोमा कुनै डाइलग बोल्नु पर्दैन । सुटिङ अवधि एक या दुई
दिनको हुन्छ । सुटिङ यनिट पनि सानो हुन्छ । तर चलचित्रमा अभिनय गर्नु ठिक
यस्को उल्टो हुन्छ । मैले एउटा चलचित्रमा अभिनय गर्नको लागि साइन गरी
सकेको छु र म धैरै उत्साहित पनि भएको छु ।
० मोडलिङ क्षेत्रमा लाग्ने केटीहरुलाई निर्माता तथा निर्देशकहरुले शोषण
गर्छन् भन्छन् । तपाईलाई अहिलेसम्म त्यस्तो कुनै समस्या परेको छ कि ?
हल्ला त चल्छ शोषण गर्छन भनेर । त्यो त आफूमा भर पर्ने कुरा हो । केटी मान्छेले
मन नदिकन कुनै पनि केटा मान्छेले शोषण गर्न सक्दैन । म्युजिक भिडियोमा
अभिनय गर्दा म सानै थिएँ । त्यहि भएर मलाई त्यस्तो कुनै समस्या परेन ।
० अहिले बलात्कारका घटनाहरु बढ्नुको कारण के हो ?
मोवाइल, फेसबुक र अश्लील भिडियोहरुले बलात्कारका घटनाहरु बढिरहको छ ।
महिलाहरु बलात्कृत भएका घटनाहरु मिडियामा धैरे आउने गर्छ तर यहाँ पुरुषहरु
पनि महिलाहरुद्वारा बलात्कृत भएका छन् । तर किन यो कुरा मिडियामा
आउँदैन ? पुरुष होस् या महिला बलात्कारको घटना जघन्य अपराध हो ।
० फुर्सदको क्षणमा के गर्नु हुन्छ ्?
टेलिभिजन हेर्छु । हिजोआज म पुस्तक पढ्न थालेकी छु ।
० गीत संगीतप्रति कतिको रुची छ ?
मलाई नारायण गोपालको गीत मन पर्छ ।
० तपाईको कमजोरी के हो ?
सर्प देख्ने बितिक्कै मेरो सातो जान्छ । टेलिभिजनमा सर्प देख्दा पनि मन
ढुकढुक गर्छ ।
० खानाको कतिको शौखिन हुनुहुन्छ ?
मलाई खसीको मासु अत्याधिक मन पर्छ ।
० आजसम्म कसैसँग प्रेम गर्नुभएको छ ?
प्रेम गरेको छु । ३ बर्ष भयो ।
० प्रेम के हो ?
एउटा बाँच्ने आधार हो ।
० सेक्स के हो ?
प्राकृतिक बरदान हो ।
० के प्रेममा सेक्स आवश्यक छ ?
त्यो आफुमा भरपर्ने कुरा हो । आवश्यक छ पनि र छैन पनि । यदि जीवन नै त्यहि
प्रेमीसंग बिताउने हो भने सेक्स गर्नु नराम्रो होइन ।
० अन्त्यमा मोडलिङ क्षेत्रमा लाग्न चाहने केटीहरुलाई के सुझाब दिन
चाहानुहुन्छ ?
राम्रोसँग कुरा नबुझी यो क्षेत्रमा नलाग्नु होला । अरुको देखेर हुँदैन । आफुमा
प्रतिभा र क्षमता हुनुपर्छ । परिवारको सहयोग र समर्थन नभइ यो क्षेत्रमा
लाग्नु हुँदैन । मान्छे नचिनी कसैलाई पनि विश्वास गर्नु हुँदैन । अरुले कुरा काट्ने
ब्यवहार आफुले गर्नु हुँदैन ।



0 comments:
Post a Comment