तीज फाप्यो रमिलालाई


भाद्र १६, २०७२-
‘मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने’ रमिला न्यौपानेले खुमन
अधिकारीसँगको सहकार्यमा गाएको यो तीज गीतलाई दर्शकस्रोताले मनपराएका छन् ।
शिव विकको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नायिका रेजिना उप्रेती र
बाबुराम बोहोराले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
युट्युबमा यो म्युजिक भिडियोलाई ३ लाख भन्दा बढिले हेरिसकेका छन् । ट्याक्सी
चालककी श्रीमतीले तीजको सपिङका लागि १० हजार मागेको यो गीत क्याचि
भएकाले लोकप्रिय भएको रमिलाले बताइन् । ‘तीज गीत मलाई सधैं फाप्छन्’ रमिलाले
भनिन्–‘मलाई पहिचान दिलाएकै तीज गीतले हो ।’
एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रमिलाले २०६५ सालमा खुमनसँगकै सहकार्यमा
तीज गीत ‘आज त भेट्न आउँदिन है कालु’ गाएकी थिइन् । त्यो गीत अत्यन्तै लोकप्रिय
भएको उनले सुनाइन् । रमिलाका अनुसार सिआरबिटीमा सबैभन्दा धेरै डाउनलोड भएको
तीज गीत हो त्यो । त्यसपछि निरन्तर हरेक तीजमा उनले खुमनसँगको सहकार्यमा तीज
गीतिसंग्रह सार्वजनिक गरिन् । शिवजीसँग शरणमा पर्दछु, ओम शिव शंकर भोला,
आशिर्वाद माग्छु उनका चलेका तीज गीतसंग्रह हुन् ।
तीज कार्यक्रमकै सिलसिलामा हाल दुबइमा रहेकी रमिलाका अनुसार अहिले
दर्शकस्रोताले रमिला र खुमनको सहकार्यमा कस्तो तीज गीत आउला भनेर अपेक्षा गर्न
थालेका छन् । १८ वटा गीतिसंग्रह सार्वजनिक गरेकी रमिलाले आफुलाई सांगीतिक
फाँटमा स्थापित गराउन तीज गीतकै भुमिका भएको बताइन् । ‘खुमनले हरेक वर्ष तीजका
लागि एकदर्जन गीत तयार पारेका हुन्छन्’ रमिलाले भनिन्–‘त्यसमध्ये सबैभन्दा पहिलो
प्राथमिकतामा म पर्छु, त्यसैले राम्रो गीत पाउँछु, तीज फापे जस्तै मलाई खुमन पनि
फापेका छन् ।’ दुबई, कतार, जापान, बहराइन, थाइल्यान्ड, रुस, इन्डिया र मुलुकका
अधिकाशं जिल्लामा आफ्नो सांगीतिक प्रस्तुती दिएकी रमिलाका अनुसार यो वर्षको
तीजमा पनि उनी धेरै कार्यक्रममा सहभागि हुदैछिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects