सिएमा सम्भावना


भाद्र १, २०७२-
बसुन्धराकी संगीता श्रेष्ठलाई चार्टर्ड एकान्उटेन्सी -सिए) पढ्ने ठूलो धोको छ, तर भर्खरै
नेसनल कलेज अफ कम्प्युटर साइन्सबाट प्लस टु सकेकी श्रेष्ठको मनमा डर र जिज्ञासा दुवै छ ।
बेलाबेला उनी घोत्लिरहन्छिन्- सिएको पढाइ निकै गार्हो छ रे, जागिर पाउन त्यत्तिकै
समस्या हुन्छ होला, फेरि ठूला मानिससँग चिनजान नभै जागिर पाउन सकिँदैन । यस्तै
जिज्ञासा बोकेर संगीता र उनका साथीहरू नितिशा पौडेल, प्रकृति अधिकारी, सुजना
डंगोल चार्ट्र्ड एकाउन्टेन्ट्स करियर एक्स्पो-२०१५ मा पुगेका थिए ।
संगीताको जस्तै सिए पढ्ने रहर पालेका तर मनमा दुविधा भएका उनका सहपाठीहरूलाई
परामर्श दिँदै थिए- हरिकुमार सिलवाल । 'आत्तिनुपर्दैन, मेहनत गर्ने हो भने सिएको पढाइ
त्यति गार्हो छैन ।' सिलवाल भन्दै गए, 'जागिर प्राप्त गर्न चिनजानको कोही हुनैपर्छ
भन्ने छैन । आफ्नै प्रयासले पनि राम्रो तहमा पुग्न सकिन्छ ।' यी तन्नेरीहरूले मनमा लागेका
प्रश्न राखे, दुविधा र सबै जिज्ञासाहरू मेटाए । 'अब भने डर अलि कम भयो ।' परामर्शपछि
संगीता भन्दै थिइन् । 'नेपालमै पढौं । राम्रो गरौं भन्ने लागिरहेको छ ।' नेपालमै सिए पढेर
बैंकिङ क्षेत्रमा काम गर्ने मन छ, सुजना डंगोलको पनि । 'सिए पढ्ने निकै रहर छ ।' उनले
भनिन्, 'तर धेरैले यो पढ्, त्यो पढ् भनेपछि मन चञ्चल भैरहन्छ ।' यद्यपि एक्स्पोमा परामर्श
लिने मौका पाएपछि उनी जस्तै दुविधा भएका नितिशा र प्रकृति पनि आश्वस्त भैसकेका
छन् र सिए पढ्ने तरखरमा जुटिसकेका छन् ।
सिए पढ्नुको मजा के भने अन्य विषयको पढाइजस्तो कलेज धाइरहनु पर्दैन । अनलाइनबाटै
कक्षा लिन, गृहकार्य गर्न, अभ्यास गर्न पाइने व्यवस्था हुन्छ । यत्ति नै समय पढ्नुपर्छ भन्ने
मापदण्ड पनि हँुदैन । आफुूलाई अनुकूल हुने कुनै पनि समयमा पढ्न सकिन्छ । त्यही सुविधाको
फाइदा उठाउँदै छिन्, जोरपाटीकी श्रेया दाहाल । समाज डेन्टल हस्पिटलबाट
सर्टिफिकेट इन डेन्टल साइन्स गरेकी श्रेया बिहान ७ देखि १२ बजेसम्म घरमै ल्यापटप अन
गर्छिन् । इन्टरनेट जोडेपछि त्यहाँ रेकर्ड गरेर राखिएका क्लास उनी हेडफोनमार्फत सुन्छिन्
। 'आफैं अभ्यास गर्नुपर्छ ।' श्रेया आफ्नो अनुभव सुनाउँछिन्, 'तर रमाइलै छ ।'
हेराल्ड इन्टरनेसनल कलेज, महाराजगन्जबाट प्लस टु पूरा गरेपछि सिएको पढाइ सुरु गरेका
किरन थापा क्षेत्रीको भने फरक उद्देश्य छ । उनी सिएको अध्ययन पूरा गरेपछि सरकारी
जागिरमा छिरेर अनियमितता रोक्न चाहन्छन् । 'मलाई स्कुलदेखि नै देशको प्रशासनिक
क्षेत्रमा गएर काम गर्न मन लाग्थ्यो,' उनले भने, 'अनियमितता कहिल्यै नरोकिँदा आफै गएर
सुधार गर्न मन लाग्यो ।' खासगरी सडक, खानेपानी, बिजुली आदिजस्ता क्षेत्रमा
सरकारी लगानी धेरै हुन्छ, तर त्यसअनुरूप परिणाम भने देखिँदैन । उनलाई यस विषयमा
जिज्ञासा भैरहन्थ्यो । उनले कसरी भ्रष्टाचार हुन्छ, पैसा कहाँ जान्छ, किन काम हुँदैन भन्ने
धेरथोर ज्ञान बटुले । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका एसोसिएट प्रोफेसर
मामा अनन्तराज मैनालीले उनको ज्ञानको दायरा फराकिलो बनाइदिए । कर,
राजस्वलगायतका क्षेत्रमा सिए पढेका व्यक्तिहरू भैदिए केही सुधार हुन्थ्यो भन्ने उनको
अनुमान छ ।
नेपालमा सिएको अध्यापन प्रारम्भ भएको धेरै भएको छैन । वि.सं. २०५३ मा नेपाल चार्टर्ड
एकाउन्टेन्ट्स संस्था -आइक्यान) गठन भएपछि औपचारिक रूपमा यसको पढाइ सुरु भएको हो
। बर्सेनि सिएमा ८ सय जना विद्यार्थी भर्ना हुन्छन् । विदेश जानेहरूको संख्या पनि त्यति
नै छ । चार्टर्ड एकान्उटेन्सी -सिए) पेसागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि
मुख्यतया विद्यार्थीहरूले लेखापरीक्षणको काम गर्न पाउँछन् । यसबाहेक सिए
अध्ययनपश्चात् विद्यार्थीहरू लेखा, वित्तिय व्यवस्थापन, कर, कानुनलगायत बिभिन्न
विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाता अथवा दक्ष जनशक्तिका
रूपमा पनि काम गर्न सक्छन् । खासगरी एनजिओ, आइएनजिओ, बैंक, अस्पताल, सरकारी
कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँग सम्बन्धित कार्यालयमा सिएले काम गर्न
सक्छन् ।
कहाँ पढ्ने ?
नेपालमा सिएको कोर्स गराउन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल -आइक्यान) तथा
चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया -आइसिएआई) गरी दुईवटा बोर्ड सञ्चालित छन् ।
तिनको मातहतका इन्स्टीच्युटहरूमा भर्ना भएर अध्ययन गर्न सकिन्छ । यो डिस्ट्यान्स
लर्निङमा आधारित पाठ्यक्रम हो । सिए पढ्ने विद्यार्थीहरूले दिईएको पाठ्यक्रमअनुसार
स्वअध्ययन गर्नुपर्छ । यसमा परम्परागत शिक्षा प्रणालिमा जस्तो शिक्षकले पढाउने भन्ने
हुँदैन ।
यद्यपि विद्यार्थीहरूको चाहना र मागलाई ध्यानमा राखेर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स
अफ नेपाल -आइक्यान) ले CAP- II र CAP-III तहका विद्यार्थीहरूलाई छोटो समयको
कक्षा (क्र्यास कोर्स) भने सञ्चालन गरिरहेको छ । यसबाहेक विद्यार्थीहरूको अध्ययनमा
सहजता ल्याउन आईक्यानले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूमा
पुस्तकालयको समेत व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा आइक्यानअन्तर्गत सिए
अध्यापन हुने १५ वटा इन्स्िटच्युट छन् । तीमध्ये १२ वटा क्रियाशील छन् ।
कति खर्च लाग्छ ?
घरमै बसेर अध्ययन गर्ने हो भने डेढदेखि २ लाख रुपैयाँमा अध्ययन पूरा गर्न सकिन्छ ।
इन्स्िटच्युटमा गएर पढ्ने हो भने ३ लाख रुपैयाँमै कोर्स पूरा गर्न सकिन्छ । यदि विदेश गएर
अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ । CAP-I तहका लागि ३५ हजार ४ सय ५०
रुपैयाँ CAP-II तहका लागि ३५ हजार ४ सय ५० रुपैयाँ र CAP-III तहका लागि ३३ हजार ८ सय
रुपैयाँ दर्ता शुल्क तिरे पुग्छ । उपरोक्त शुल्कबाहेक न्यूनतम परीक्षा शुल्क तिर्नुपर्छ भने अन्य
कुनै शुल्क तिर्नु पर्दैन । पुस्तकालयका लागि भने १ सय ५० रुपैयाँ थप शुल्क लाग्छ ।
एकमुस्ट बुझाउने कि किस्ताबन्दीमा ?
विद्यार्थीले लाग्ने शुल्कको ५० प्रतिशत भर्ना हुने बेलामा पहिलो किस्ताका रूपमा
बुझाउनुपर्छ । CAP-I मा दोस्रो किस्ता भर्ना भएको मितिले ३ महिनाभित्र बुझाउनुपर्छ
। त्यस्तै CAP-I र CAP-II को दोस्रो किस्ता भर्ना भएको मितिले ६ महिना र १
वर्षभित्रमा बुझाइसक्नुपर्ने हुन्छ ।
छात्रवृत्तिको व्यवस्था
सिए पढ्न आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार तथा मेहनती विद्यार्थीहरूलाई
छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । आवश्यकता हेरी हरेक तहमा ५० देखि
शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ ।
कोर्स पूरा गर्न कति समय लाग्छ ?
नेपाल चार्टर्ड एकाउन्टेन्स अफ नेपाल -आइक्यान) ले सञ्चालन गर्ने कोर्सअन्तर्गत (CAP-I)
तह ६ महिना, (CAP-II) तह ९ महिना र (CAP-III) ३ वर्ष गरी लगभग ४ वर्ष ३ महिनाको
समयावधिमा सिएको अध्ययन पूरा गर्न सकिन्छ । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया
(आइसिएआई) को कोर्स पहिलो तह (CPT) ६ महिना, दोस्रो तह IPCC ९ महिना र अन्तिम
तह ३ वर्षमा पूरा गर्न सकिन्छ ।
परीक्षा र नतिजा
सिएको हरेक तहको अन्तिम परीक्षा वर्षको दुई पटक ६ महिनाको फरकमा अंग्रेजी
महिनाको जुन तथा डिसेम्बरमा सञ्चालन हुन्छ । यस्तो अन्तिम परीक्षामा सामेल हुन
विद्यार्थीले पहिले योग्यता परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । परीक्षा सम्पन्न भएको दुई
महिनापछि नतिजा प्रकाशन हुन्छ ।
सिए पढ्दा तालिम लिनुपर्ने व्यवस्था छ ?
सिए पढ्दा विद्यार्थीले ऋब्ए-क्ष्क्ष्क्ष् तहमा तालिम लिनुपर्ने व्यवस्था छ । यसलाई
आर्टिकलसिप ट्रेनिङ पनि भनिन्छ । विद्यार्थीहरूलाई यस प्रकारको तालिम पेसागत
व्यवसायमा रहेका चार्टर्ड एकान्टेन्टहरूले दिन्छन् । तालिम अवधिमा चार्टर्ड एकान्टेन्टले
कम्तीमा पहिलो वर्ष मासिक रूपमा कम्तिमा ३ हजार, दोस्रो वर्ष ४ हजार तथा तेस्रो
वर्ष ५ हजार रुपैयाँका दरले प्रशिक्षण भत्ता अनिवार्य प्रदान गर्ने व्यवस्था छ ।
कत्तिको गार्हो छ पढाइ ?
आमरूपले धेरैले सिए गार्हो विषयका रूपमा बुझे पनि वास्तवमा यो गार्हो विषय भने होइन ।
नेपालमा आईक्यान स्थापना हुनुपूर्व विदेश गएर पढ्नुपर्ने हुनाले अलि खर्चिलो थियो र
सबैको पहँुचमा पनि थिएन । नेपालमै यसको पठनपाठन सुरु भएपछि भने सजिलो भएको छ ।
पूरा समय दिएर सबै पाठ्यक्रम समेट्ने गरी अध्ययन गर्नुपर्ने हुनाले केही बढी समय भने लाग्छ ।
नेपालको सिए र अरू देशको सिएबीच भिन्नता
हरेक देशमा सिएको शिक्षा प्रदान गर्ने अधिकार प्राप्त संस्था हुन्छ । नियमबमोजिम
उक्त संस्थाले सो देशमा लेखापरीक्षण गराउनका लागि सिए तयार गरेको हुन्छ । त्यसैले
हरेक देशको सिएको आफ्नै मान्यता हुन्छ । कुनै पनि देशको सिए अन्य कुनैपनि देशको सिए
भन्दा कम अथवा बढि मान्यताको छ भन्न मिल्दैन । नेपालको सिएले पनि नेपालभित्रै
लेखा व्यवसाय गर्न सक्नुका साथै अन्य पेसागत कार्यहरू नेपालभित्र र बाहिर गएर
दक्षताका साथ गर्न सक्छ । नेपालको पढाइ, तालिम, परीक्षा आदि सबै विषय
अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संस्था क्ष्ब्ऋ ले निर्धारण गरेको आधारमा
सञ्चालन गरिने हुनाले नेपालको पढाई समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ ।
सिएमा भविष्य
अहिले विश्व बजारमा सिएको माग बढ्दै गएको छ । नेपालको अर्थ व्यवस्था कमजोर भए
पनि यहाँ सिएका लागि अवसरको कमी भने छैन । भविष्यमा अर्थ व्यवस्था सुदृढ हँुदै जाँदा
सिएको माग अझ बढ्दै जानेछ । अर्कातिर सिएले नेपालमा मात्र सीमित नभै विदेशका
कतिपय देशमा गएर काम गर्न सक्छन् ।
हालको अवस्था
नेपालमा हाल करिब ८ सय ७४ जना सिए छन् । यसमध्ये कतिपय विदेशका ठूलठूला
प्रभावशाली संघसंस्थाहरू वल्र्ड बैंक, युएनडिपीजस्ता संस्थाहरूमा कार्यरत छन् । कतिपय
नेपालभित्रै लेखा व्यवसायमा संलग्न छन् भने कतिपय सिए अन्य संस्थागत क्षेत्र बैंक,
वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, सरकारी वा प्राइभेट संस्थामा कार्यरत छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects