तपाईंंको फेसबुकमा विभिन्न गेम खेल्न अनुरोध आउने गरेको होला । कतिपयले त
यस्ता गेम खेल्न अनुरोध नपठाउन फेसबुक वालमै चेतावनी दिएको पनि पाइन्छ ।
क्यान्डी क्रस, फार्म हिरो आदि विभिन्न गेम अनलाइन रूपमा लोकप्रिय छन् ।
फेसबुकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार फेसबुकका १ अर्ब ३० करोड
प्रयोगकर्तामध्ये मासिक रूपमा ३१ करोड ५० लाख प्रयोगकर्ताले कमसेकम एउटा गेम
खेल्छन् । त्यस्तै गेम खेल्न अनुरोध गर्दै पठाइने नोटिफिकेसनको संख्या पनि बढेको छ ।
प्रयोगकर्ताले हरेक दिन ७३ करोड ५० लाख नोटिफिकेसन पठाउने गरेको फेसबुकले
जनाएको छ । खासगरी स्मार्टफोन, एन्ड्रोइड र डेस्कटप तीनवटै स्थानमा खेल्न
मिल्ने गेमबाट धेरैले पैसा कमाउने गरेको तथ्यांक पनि फेसबुकले सार्वजनिक गरेको छ ।
एकभन्दा धेरै प्लेटफर्ममा गेम खेल्ने प्रयोगकर्ताले एउटै प्लेटफर्ममा मात्र खेल्नेभन्दा
साढे तीन घण्टा बढी समय बिताउँछन् । उनीहरूले गेम किन्न पनि त्यति नै पैसा खर्च
गर्छन् । उनीहरूले विज्ञापनमा पनि त्यति नै धेरै क्लिक गर्छन् । फेसबुकले गत
नोभेम्बरमा गरेको सर्वेक्षणका आधारमा उक्त तथ्य सार्वजनिक गरेको हो ।
यसरी सर्वाधिक खेलिने गेममा क्यान्डी क्रस सागाले सबैलाई उछिनेको छ । सन्
२०१२ को अप्रिलमा सोसल नेटवर्कमा लन्च भएको र नोभेम्बरदेखि मोबाइलमा
प्रयोग गर्न मिल्ने बनाइएको यो गेम एप्पलको एप स्टोर र गुगल प्ले मार्फत डाउनलोड
गर्न सकिन्छ । यसलाई किङ कम्पनीले निर्माण गरेको हो । गत सन् २०१३ का अन्तिम
तीन महिनामा मात्र प्रयोगकर्ताले यसका लागि लगभग ५ करोड डलर खर्च गरे । यो
खेल निश्चित लेभलसम्म खेलेपछि अर्को लेभल पार गर्न साथीबाट अनुमति अर्थात
टिकट लिनुपर्ने हुन्छ । ३ जना साथीले टिकट पठाइदिएपछि वल्ल अर्को लेभलमा
पुगिन्छ र त्योभन्दा माथिको लेभल खेल्न मिल्छ । यदि साथीहरूले टिकट
पठाइदिएनन् भने त्यही अडकिएर बसिरहनुपर्छ । यसले गर्दा पनि क्यान्डी क्रस खेल्न
विभिन्न नोटिफिकेसन आउने गरेको पाइन्छ ।
कुनै समय फेसबुकमा बढी खेलिने गेममा फार्म हिरो सागा दोस्रो र पेट रेस्क्यु
सागाले तेस्रो स्थान हासिल गरेका थिए । यसभन्दा पहिले फेसबुकमा फार्मभिल्ल
टु शीर्षकको गेम लोकप्रिय थियो । गत वर्षको मार्च महिनामा क्यान्डी क्रसले
फार्मभिल्ललाई पछि पार्यो । यसले संसारमै सर्वाधिक बढी खेलिने खेलका रूपमा
कीर्तिमान बनायो । यी तीनवटै गेम किङ कम्पनीका उत्पादन हुन् । किङ भन्दा
पहिले जिंगा कम्पनीका उत्पादन फेसबुकमा लोकप्रिय थिए । जिंगाले सन् २०१२
को मध्यदेखि सन् २०१३ को अन्त्यसम्ममा ६३ प्रतिशत प्रयोगकर्ता गुमायो ।
स्ट्याटिस्टा डटकमका अनुसार यही अगस्ट महिनामा क्यान्डी क्रस सागाका
प्रयोगकर्ता लगभग १५ करोड पुगेका छन् भने दोस्रा नम्बरमा रहेको क्यान्डी क्रस
सोडा सागाका प्रयोगकर्ता ३ करोड ६० लाख छन् । त्यसपछि क्रमश: अन्य गेम छन् ।
यद्यपि क्यान्डी क्रसको तुलनामा तिनका प्रयोगकर्ताको संख्या निकै कम छ ।
पछिल्लो समयमा विभिन्न प्रकारका गेम बजारमा प्रचलित छन् । यस्ता गेम
मोबाइलदेखि लिएर कम्प्युटर र ठूला गेम जोनसम्ममा खेल्न सकिन्छ, तर पनि
फेसबुकमार्फत आएका गेम खेल्नेहरू धेरै छन् । यद्यपि पैसा हुनेहरू भिडियो गेमका लागि
आवश्यक सामग्री किनेर घरमै पनि गेम खेल्छन् । नहुनेहरू गेम जोनमा गएर खेल्छन् । यस्ता
गेममा विशेष गरी एक्सन, एड्भेन्चर वा स्पोर्ट्स गेम नै प्रचलित भएको पाइन्छ । यी गेम
अफलाइन गेमका रूपमा प्रचलित छन् । अनलाइन रूपमा पनि इन्टरनेटमै विभिन्न गेम
खेल्न सकिन्छ । कतिपय खेलाडी व्यवसायिक रूपमै पनि यस्ता गेम खेल्छन् ।



0 comments:
Post a Comment