नेसनल जोग्राफी च्यानलको ‘एड्भेन्चर अफ दि माउन्टिनियर’ मा छनौट हुन सफल पासाङ ल्हामु शेर्पा अकिताको आधा समय नेपाल र आधा समय देश बाहिर बित्छ । पुसको दोस्रो साता भेटिँदा उनी एक महिनाका लागि अर्जेन्टिनातिर उड्ने तरखरमा थिइन् । अर्जेन्टिनाको सबैभन्दा अग्लो हिमाल अकोन्वागुवामा पर्वतारोही पथप्रदर्शक (माउन्टेन गाइड) का रूपमा उनी त्यता जाँदै थिइन् ।
इमेल, फेसबुक, साथी, व्यक्तिगत तवर र विभिन्न ट्राभल कम्पनीहरूले पासाङ ल्हामुलाई माउन्टेन गाइडको कामका लागि सम्पर्क गर्छन् । त्यही आधारमा उनका पाइलाहरू हिमालतर्फ सोझिन्छन् । पासाङ घुम्न खुब रुचाउँछिन् । शेर्पा गाउँमा छँदा विदेशी पर्यटकहरूको लस्कर देख्थिन् । त्यसैगरी आफू पनि घुम्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । उनले पढेको सर एडमन्ड हिलारी स्कुलको बाटो हुँदै सगरमाथा आरोहण गर्न हिंडेका पर्यटकहरू नाम्चेतर्फ सोझिन्थे । बाल्यकालको त्यही रहर उनले पछिसम्म मनमा साँचिरहिन् । सोलखुम्बुको खुम्जुङ गाउँमा जन्मिएकी पासाङ ल्हामु दुखले बनेकी एक सफल पर्वतारोही पथ–प्रदर्शक हुन् । सानैमा बुबा गुमाएकी पासाङले १० कक्षा पढ्दा आमा पनि गुमाइन् । दु:खमाथि दु:ख थपियो ।
०५९ सालमा काठमाडौं प्रवेश गर्दा पासाङ ल्हामुलाई धेरै कुराको ज्ञान थिएन । चाबहिलस्थित पशुपति क्याम्पसमा आईए अध्ययनरत छँदा उनले रक क्लाइम्बिङ सिकिन् । नेपाल माउन्टिनियरिङ एसोसिएसनबाट पर्वतारोहणसम्बन्धी तालिम पनि लिइन् । नेपालमा पर्वतारोहणसम्बन्धी तालिम सकेर टेस्ट उत्तीर्ण गरेपछि फ्रान्स जाने अवसर मिल्यो । सन् २००६ मा फ्रान्स जाने त्यो अवसर पाउने पासाङ पहिलो नेपाली महिला थिइन् । त्यतिबेला ४५ दिन फ्रान्स बसेकी पासाङले डिप्लोमा इन माउन्टिनियरिङ सर्टिफिकेट पनि हात पारिन् । सुरुमा ट्रेकिङ गाइडका रूपमा सक्रिय पासाङ पछि माउन्टेन गाइडकै रूपमा जम्न थालिन् । सन् २००७ देखि शेर्पा एड्भेन्चर गियरको ब्रान्ड एम्बेसडर रहेकी पासाङले ‘साँगा’ नामक स्पेनिस कम्पनीमा चार वर्ष काम गरेपछि स्वतन्त्र रूपमा काम गर्न थालिन् ।
फ्रान्समा पासाङ ल्हामुले पर्वतारोहणसम्बन्धी अझ धेरै कुरा सिक्न पाइन् । उनको ज्ञानको दायरा फराकिलो बन्दै गयो । युरोपेली संस्कृतिमा हुर्किएका महिलाहरूको जनजीवनलाई उनले नजिकबाट नियालिन् । त्यहाँका महिलाहरू नेपालभन्दा स्वतन्त्र र उन्मुक्त थिए । आर्थिक रूपले सक्षम र आत्मनिर्भर थिए । त्यो युरोप बसाइले उनलाई ऊर्जा, उत्साह र आत्मविश्वास दियो । जीवनमा केही गर्ने बाटो खोलिदियो । ‘फ्रान्सबाट फर्किएपछि यसैलाई पेसा बनाउँछु लाग्यो । संसारका हरेक कुनामा पुगेर गाइड गर्न सक्छु जस्तो लाग्यो,’ पासाङले भनिन् । काठमाडौ छिरेर संघर्ष गर्दै यो ठाउँसम्म आइपुग्दा उनलाई गर्व लाग्छ ।
पासाङ ल्हामुलाई ममका साथै दाल, भात, तरकारी एकदमै मन पर्छ । ‘नेपाली परिकारजस्तो मीठो स्वाद अरू कुनै परिकारमा भेट्टाउन सकिनँ,’ उनले मुस्कुराउँदै भनिन् । खुम्बुको आलुको रोटी उनलाई सबैभन्दा बढी मन पर्छ । पासाङ बर्सेनि एकपटक आफू जन्मिएको खुम्जुङ गाउँ पुग्छिन् । फुर्सदमा उनी घुमघाम गर्छिन् । पत्रपत्रिका पढ्छिन् । एक्लो हुँदा फोनमा डाउनलोड गरिएका गीतहरू सुन्छिन् ।
उनको सोख चलचित्र हेर्नमा पनि छ । पासाङ अनलाइन समाचारहरू पढेर समयको सदुपयोग गर्छिन् । घरमा भएको आइप्याड र म्याकबुक कमै चलाउने पासाङ सामसुङ र आइफोन मोबाइलबाटै फेसबुक अपडेट गर्ने, इमेल हेर्ने, तस्बिर खिच्ने काम गर्छिन् । हरेक दिन कम्तीमा एक घण्टा फेसबुकमा बिताउने पासाङ आफ्ना पुराना साथीहरू फेसबुकमा फेला पार्दा खुसी हुन्छिन् ।
पासाङले पाकिस्तानको केटुको सफल आरोहण गरेकी छिन् । उनको काम भने सजिलो छैन । आफ्नो मात्र होइन, अरूको पनि ज्यान बचाउनुपर्छ । कसरी पर्वतारोहीलाई सुरक्षित बनाउने भन्ने जोखिम सदैव कायम रहन्छ । सुरक्षित रूपमा पर्वतारोहीलाई फर्काउँदा आनन्द लाग्छ । विदेशमा रहँदा चाडपर्व, परिवार तथा साथीभाइसँग रमाइलो गर्न नपाउँदा खल्लो लाग्छ । यद्यपि काम गर्न भने नेपालमा भन्दा विदेशमै सजिलो हुने उनको अनुभव छ । खान, बस्न, हिंड्न पनि उतै सजिलो हुने पासाङले बताइन् ।
खानामा उनको सबैभन्दा बढी खर्च हुँदो रहेछ । जुन कुरा हिमाल चढ्दा खान पाइँदैन, त्यही कुरा काठमाडौंमा खोजीखोजी खाने उनको बानी छ । पिज्जा खान फायर एन्ड आइस, नेपाली खानाको स्वाद चाख्न टुकुचे तथा कफी पिउन जाभा पुग्छिन् उनी । विदेश पुग्दा लुगाकपडा, फोन, हिमाल र पर्वतारोहणसँग सम्बन्धित उपयोगी उत्पादनहरू किन्छिन् । बिदा हुने बेला पासाङले भनिन्– ‘पिछडिएको क्षेत्रका बालिकाहरूको पढाइमा उत्प्रेरणा जगाउने खालका कार्यक्रममा भाग लिन्छु ।’



0 comments:
Post a Comment