नर्वेमा रमाएका छन् नेपाली
उच्च शिक्षा अध्ययनका लागि नर्वे उपयुक्त गन्तव्य मानिन्छ । नि:शुल्क अध्ययन गर्न पाइने हुनाले नर्वे धेरैका लागि आकर्षक गन्तव्य बनेको छ । नर्वेमै लामो समयदेखि प्राध्यापन पेसामा संलग्न डा. विशाल सिटौलाका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व तथा शान्ति, हाइड्रोपावर डेभलपमेन्ट, पेट्रोलियम एक्सप्लोरेसन, फिसेरी, डेभलपमेन्ट इकोनोमिक्स, डेभलपमेन्ट स्टडिजजस्ता विषय अध्ययनका लागि नर्वे राम्रो गन्तव्य हो । नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सका प्रोफेसर सिटौलाका अनुसार नर्वेमा अन्य देशका विद्यार्थीहरूको तुलनामा नेपाली विद्यार्थीहरूले राम्रो गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागका संयोजक डा. हेमराज सुवेदी आफ्ना धेरै विद्यार्थीले नर्वेमा राम्रो गरिरहेको सुनेर गर्व गर्छन् । सुवेदी भन्छन्, ‘उनीहरू ज्ञान सिकेर स्वदेश फर्किऊन्, नेपालकै लागि योगदान गरून् ।’ तिनैमध्येका एक हुन्, शान्ति तथा द्वन्द्व रूपान्तरण विषयमा एमफिल अध्ययनरत इटहरी, सुनसरीका केशव दाहाल । ओस्लो विश्वविद्यालयमा रिसर्च असिस्टेन्टका रूपमा कार्यरत दाहाल नर्वेको पढाइप्रति सन्तुष्ट छन् । वर्षमा आधा समय हिउँ पर्ने नर्वेमा उनले पृथक अनुभव बटुलेका छन् । दाहाल भन्छन्, ‘अनुशासित मानिसहरू, सुरक्षा एवं सफा वातावरणले लोभ्याउँछ ।’
वाणगंगा, कपिलवस्तुका सूर्य काफ्ले पिस स्टडिज विषय अध्ययनका लागि नर्वेको ट्रोम्सो सहर पुगेको २ वर्ष भयो । सुरक्षा, सहयोगीपन तथा एक–अर्कालाई गरिने विश्वास काफ्लेलाई त्यहाँका मन पर्ने पक्ष हुन् । मानव विकास सूचकांकमा एक नम्बरमा पर्ने नर्वे मानव अधिकारको अक्षरश: पालना गर्ने देश हो ।
No comments:
Post a Comment