Second Menu

सीतारामको नखुलेको पाटो

नजिकै घर छ तर डेरामा बस्छन् । दराजभरि लुगा छ तर हरबखत युनिफर्ममै हुन्छन् । आसपासमा थुप्रै रेस्टुराँ छन् तर प्रहरी मेसकै खाना खान्छन् । ती को होलान् ?

यो गाउँखाने कथा होइन । यो ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेंथुको निजी पाटो हो । उनको जीवनशैली अनौठो त छ नै, घतलाग्दो पनि छ । एककोठे डेरामा बस्नु, बिहान उठेदेखि बेलुकीसम्म युनिफर्ममै हुनु, खाना थपेर नखानु उनका विशेषता हुन् । सहकर्मीलाई ‘यौन परामर्श’ दिनु हाछेंथुको नखुलेको पाटो हो ।

सातदोबाटोस्थित उनको कार्यकक्षमा प्रवेश गर्नासाथ चकित तुल्याउने केही दृश्य देखा पर्छन् । जस्तो– भित्ताभरि टाँगिएको सम्मानपत्र, आफ्ना सम्बन्धमा प्रकाशित पत्रपत्रिकाका कटिङहरू । साउन्ड प्रुफ भित्ता, ३२ इन्चको एलइडी टेलिभिजन, उच्च गुणस्तरको साउन्ड सिस्टम तथा त्यहाँ सजाइएका एवार्डहरू हेर्दा लाग्छ, उनी लोकप्रिय सेलिब्रेटी हुन् ।

एक छेउमा फ्रिज र चिया/कफी बनाउने व्यवस्था छ । आगन्तुकको रोजाइअनुसार तातो चिया वा चिसो कोक/फ्यान्टा टक्य्राउँछन् । आगन्तुकहरूसँग यौनका सम्बन्धमा खुला चर्चा एवं बहस गर्ने हाछेंथु आफ्ना अन्तरंग रहस्य पनि लुकाउँदैनन् ।

अक्सर सडकमै देखिन्छन्, सीताराम । जहाँ सवारी आवगमनमा समस्या हुन्छ, त्यहाँ सीतारामको खाँचो हुन्छ । उनी आफ्नो पेसामा जति खटिन्छन्, उत्तिकै ‘इन्जोय’ पनि गर्छन् । घर नगएर एककोठे डेरामा खुम्चनुको पछाडि पनि उनको यही मनोविज्ञानले काम गरेको छ । ‘घर त मेरो माइतीजस्तै हो’ हाछेंथु भन्छन्– ‘हप्तामा एकपटक पुग्छु ।’

यौनका विषयमा उनीसाथीभाइलाई ‘आवश्यक परामर्श’ दिन समेत भ्याइरहेका हुन्छन् । ‘यसमा आ–आफ्नै खालको समस्या हुन्छ,’ हाछेंथु भन्छन्– ‘त्यस्ता समस्या कसरी समाधान गर्ने भनेर सोध्छन् ।’ साथीभाइका यस्ता जिज्ञासा मेट्न उनी हरदम तयार हुन्छन् । यद्यपि परस्त्रीप्रति उनको कुनै मोह छैन ।

किशोरवयमा एक दिनमै दुई/तीन जोर लुगा फेर्ने हाछेंथु अहिले ट्राफिक प्रहरीकै पोसाकमा हुन्छन् । ‘दसैंमा टीका थाप्न घर जादाँ पनि युनिफर्ममै जान्छु,’ हाछेथु भन्छन्– ‘राति सुत्ने समयबाहेक प्राय: अन्य लुगा लगाउँदिन ।’ रोचक त के छ भने उनीसँग ४२ वटा युनिफर्म छन् । पाइन्ट २१ वटा र जुत्ता ९ जोर । सीतारम दिनहुँ युनिफर्म फेर्छन् । कोठामै लुगा धुने सहयोगी राखेका छन् । कपडामा आइरन गर्ने तथा जुत्तामा पोलिस गर्ने काम भने आफैं गर्छन् ।

प्रहरी युनिफर्ममा सजिएका हाछेथुका साथमा दुईवटा क्यामेरा हुन्छन् । उनी सडक दुर्घटना, सडक अनुशासनसँग सम्बन्धित दृश्य कैद गर्न क्यामेरा बोक्छन् । त्यस्तै, उनको खल्तीमा मोबाइल पनि दुईवटै हुन्छ । नाडीमा स्मार्ट घडी बाँधेका छन् ।

बफ म:म र लोकल रक्सीमा उनको स्वाद भिजेको छ । रक्सी भने यदाकदा मात्र पिउँछन्, त्यो पनि एक/दुई प्याग मात्र । उनलाई खानामा त्यस्तो आशक्ति छैन । जस्तो पाक्यो, त्यस्तै खान्छन् । अनौठो बानीचाहिँ के छ भने उनी खाना थप्दैनन् । ‘जतिसुकै भोक लागे पनि एकचोटि पस्किएको खाना मै चित्त बुझाउँछु’ हाछेंथु भन्छन् ।

उठ्ने, सुत्ने तथा खाने तालिका नियमित छ । राति अलार्म लगाएर सुत्छन् । बिहान साढे चार बजे अलार्म बजेसँगै ओछ्यान छाड्छन् । सामान्य योग गर्छन् । सामसुङको ग्यालेक्सी एस–७ मा म्युजिक लगाएर जुम्बा डान्स गर्छन् । दूधमा दुई चम्चा हर्लिक्स घोलेर पिउँछन् । ६ बजेको हाराहारीमा युनिफर्म लगाएर काममा निस्कन्छन् । अहिले उनको रुटिन सानेपा, पुल्चोक, भैंसेपाटी र चापागाउँलाई एक फन्को लगाउने छ । कार्यकक्षमा पुग्दा बिहानको ७ बजिसकेको हुन्छ ।

सीताराम ८ बजे सडकमा पुगिसकेका हुन्छन् । ९ देखि ११ बजेसम्मको ‘पिकआवर’मा उनी सडक व्यवस्थापनमा खटिन्छन् । त्यसपछि जावलाखेलस्थित ट्राफिक प्रहरीको मेसमा पुगेर खाना खान्छन् । मध्याह्नको समय ट्राफिक कक्षा सञ्चालनजस्ता काममा खर्चन्छन् । ३ बजेपछि विद्यालयका गाडीहरू छुट्ने भएकाले त्यसको व्यवस्थापनका लागि सडकमा पुग्छन् । त्यसपछि रात्रीकालीन बसहरू छुट्ने भएकाले सडकमा खटिनुपर्ने हुन्छ । सबै काम सकेर डेरा पुग्दा बेलुकी सात बजेको हुन्छ । डेरामा पाकेको खाना खाएपछि उनी ओछ्यानमा पल्टन्छन् ।

No comments:

Post a Comment