हिमाल फेसबुकमा हराउछन्


राजेश हमाल अभिनेता बाट हिमाल सागर गायक

अभिनेता राजेश हमाल तथा गायक हिमाल सागर पछिल्ला केही वर्षयता अत्यन्त घनिष्ठ छन् । सांस्कृतिक कार्यक्रमका सिलसिलामा हमाल र सागरले युरोपका विभिन्न देशको भ्रमण गरिसकेका छन् । स्वदेशमा समेत उनीहरूले थुप्रै सांस्कृतिक कार्यक्रममा सहकार्य गरिसकेका छन् । हमालकी श्रीमती मधुले बनाएको परिकारको स्वाद चाख्ने निकै कम कलाकारमा गायक सागरको नाम अग्रपंक्तिमा आउँछ । फुर्सद भएका बेला दुवै जना लाजिम्पाटको एउटा क्याफेमा बसेर घन्टौं बिताउँछन् । गायक सागरले त अभिनेता हमाललाई आफ्नो अभिभावककै रूपमा ग्रहण गरेका छन् । साप्ताहिकका लागि अभिनेता हमालले गायक सागरको कुरा यसरी काटे ।

असल बाइट्स
एकनासको स्वभाव : गायक हिमाल सागरमा हरेक परिस्थितमा समेत विचलित नहुने एकनासको स्वभाव छ । यस्तो स्वभाव निकै कम व्यक्तिमा मात्र फेला पार्न सकिन्छ ।

अप्टयारो बुझ्ने : समय र परिस्थिति सधैं उस्तै हुँदैन । हिमाल आफूलाई परेको अप्ठ्यारो लुकाउँदै अरूको अप्ठ्यारोसमेत सजिलै बुझ्न सक्छन् ।

डेडिकेट : हृदयदेखि गीत गाउने बानी मन पर्छ । गायन नै करियर भएकाले उनले आफ्नो पेसालाई राम्रोसँग बुझेका छन् ।

अपडेटेड : हरेक कुरामा अपडेट हुने राम्रो बानी छ । कहाँ–कहाँ के–के भैरहेको छ भन्ने कुराको राम्रो ज्ञान छ ।

व्यक्तित्व : आकर्षक व्यक्तित्वका कारण हिमाल सागरले प्रशस्त प्रशंसक कमाएका छन् । गला त राम्रो छँदैछ, आकर्षक व्यक्तित्वले सुनमा सुगन्ध थपेको छ ।

खराब बाइट्स
खाना छाड्ने : खाना खाँदा अन्त्यमा थाल अथवा प्लेटमा खाना छाड्ने बानी छ । आफूलाई जति आवश्यक छ, त्यति नै खाना लिँदा राम्रो हुन्छ, खाना लिएर त्यसै फाल्ने बानी सुधार्नु पर्ने देखिन्छ ।

ढिला उठ्ने : गायकहरू प्राय: बिहान ढिलै उड्छन् क्यार । राजेशपायल राई ११ बजेसम्म उठ्दैनन्, हिमाल सागरको पनि बिहान ९ बजेसम्म सुत्ने बानी छ । पर्फमर भए पछि बिहान सबेरै उठेर रियाज गर्नु उपयुत्त हुन्छ ।

व्यायामको अभाव : बिहान ढिला उठेपछि शारीरिक व्यायाम गर्ने समय हुँदैन । स्टेजमा कार्यक्रम प्रस्तुत गर्ने कलाकारले आफूलाई फिट राख्नुपर्छ, त्यसका लागि पनि बिहान सबेरै उठेर व्यायाम गर्नु आवश्यक देख्छु, जुन हिमाल सागरले गरिरहेका छैनन् ।

अधिक व्यस्तता : सांगीतिक कार्यक्रममा यति व्यस्त हुन्छन् कि परिवारलाई समेत समय दिन सकिरहेका छैनन् जस्तो लाग्छ । समयको व्यवस्थापन गर्न सकियो भने परिवारले पनि समय पाउँछ ।

कम अध्ययनशील : फुर्सदमा विभिन्न पुस्तक अध्ययन गर्दा आफैंलाई राम्रो हुन्छ । हिमाल सागरलाई फुर्सद भए पनि नभए पनि गसिप र फेसबुकमा बढी व्यस्त देख्छु । जतिबेला पनि फेसबुक तथा गसिपमा हराउनुभन्दा ज्ञानगुण बढाउने पुस्तक अध्ययन गर्न सुझाव दिन्छु ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects